सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता


२ बैशाख २०७६, सोमबार


काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो ।

बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका अनुसार नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिए ।

यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो ।

खनालका अनुसार यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस