ओझेलमा परेको पुरुष हिंसा - प्रशासन प्रशासन

ओझेलमा परेको पुरुष हिंसा


प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ०७:५९

पुरुष हिंसा

नेपालजस्तो पुरुष प्रधान देशमा पुरुष हिंसाको कुरा गर्दा अचम्म लाग्न सक्छ । एउटा पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुनसक्छ भनेर कसैले कल्पनासमेत गर्न सक्दैन तर यो मनगढन्ते कपोकल्पित नभई नेपाली समाजमै लुकेर रहेको एउटा तितो यथार्थ हो। यो वास्तविकतालाई कसैले नकार्न सक्दैन आजको समयमा।

हो, महिला हिंसा सँगसँगै पुरुष हिँसा पनि बढिरहेको छ अहिले तर प्रकाशमा आएको छैन वा ल्याउन चाहेका छैनन् । पीडित स्वयंले आफू पुरुष भएर पनि एउटी नारीबाट अन्याय अत्याचार सहेर बस्नु परेकोमा आफैलाई खेद हुने तथा परिवार, समाज र साथीभाइले के भन्लान् भन्ने संकोच र डरले गर्दा चुपचाप बस्ने गरेको छन् । पुरुष हिंसालाई बढवा दिनमा पुरुषमा रहेको पुरुषवादी सोचले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ।

आफ्नो पुरुषार्थ मै समाजले ठुलो प्रश्न चिन्ह लगाइदेला कि वा नामर्दको उपमा पो दिने हो कि भन्ने डरले गर्दा एउटा पुरुष हिंसाबाट ग्रसित भएर बस्नु परेको अवस्था छ। संविधान तथा कानुनले पनि महिला हिंसालाई मात्रै बढी महत्त्व दिएको पाइन्छ।

हालै फेरिएको मुलुकी ऐनले महिलालाई मात्र नभएर पुरुषलाई पनि सम्बन्ध विच्छेदको हक प्रदान गरेको छ। हक प्रदान गरेको केही महिना नबित्दै पत्नी पीडित पुरुषहरू सम्बन्ध बिछेदको लागि आउने गरेको समाचारहरू सुन्नमा आएका छन् । यसबाट प्रस्ट हुन्छ कि यहाँ पुरुषबाट मात्रै महिलाहरू अन्याय र अत्याचारको चपेटामा परेका हुँदैनन्, पुरुषहरूपनि महिलाबाट प्रताडित भएका हुन्छन् भन्ने कुरा।

शारीरिक, मानसिक, घरेलु होस् वा सामाजिक, हिंसा त हिंसा नै हो । चाहे त्यो पुरुषद्वारा भएको होस्, चाहे महिलाद्वारा । हो, पुरुषहरू पनि घरेलु हिंसाको सिकार हुन सक्छन्।

शारीरिक हिंसामा महिला बढी परेको छन् भने मानसिक हिंसाको मारमा पुरुष बढी परेक छन्। यो समाजमा एउटा नारी त खुलेर रुन कराउन सक्छन् तर एउटा पुरुष आफू माथि भएको हिंसा खुलेर व्यक्त गरी रुन कराउन सक्दैन किनकि हामीलाई सानैदेखि रुन त छोरीलाई सुहाउँछ, छोराको आँखामा आँसु पटकै सुहाउँदैन भनी जो धारणा बसायका छौँ ।

कस्तो विडम्बना यो, एउटी महिला आफू बलात्कृत भएको उजुरी दिन सजिलै चौकी जान सक्छिन् तर एउटा पुरुष आफू कुनै नारीद्वारा बलात्कारको सिकार भएको उजुरी दिन सजिलै जान सक्दैन।

ठुलो आँट गरेर गई हाले पनि उसलाई त्यहाँ एक पटक हाँसोको पात्र त पक्कै बनाइन्छ होला। जसोतसो उजुरी दर्ता भइहाले पनि त्यसलाई हल्का रूपमा लिएर बेवास्ता गरिन्छ । हाम्रो सोचाइ नै गलत छ महिला र पुरुषको समस्यालाई हेर्ने । यो सोचाइलाई परिवर्तन गर्न जरुरी छ। महिला भन्ने बित्तिकै सबै असल नै हुँदैनन् र सबै पुरुष खराब पनि हुँदैनन्।

संविधानले दिएको महिलाको हकको दुरुपयोग गर्दै विवाहजस्तो पवित्र सामाजिक बन्धनलाई कमाई खाने भाँडोको रूपमा प्रयोग गर्दै हिँडेका पनि छन् कतिपय महिलाहरूले । मलाई सकेर गई, सर्वस्व लुटेर गई भन्दै रुँदै बिलौना गरेका पुरुष आवाजहरू पनि सुनिरहेका छौ हामीले।

घरभित्र श्रीमानलाई  तथानाम गाली गर्दै झाडु हान्ने महिला बाहिर निस्केर अरूलाई आइस्योस-गइस्योसको चिल्लो धसेको पनि यही समाजमा देखिन्छ। नारी पुरुष बराबरी भने झैँ साँच्चै बराबर भएका छन् हिंसाको मामिलामा आजकल नारी पुरुष । महिला हिंसाको मारमा त विशेष गरी चेतनास्तर कम भएका ग्रामीण विकट भेगका गरिब निरक्षर, आफ्नो हक अधिकारको बारेमा समेत जानकार नभएका, श्रीमानको  कमाईकन भरमा बाच्नुपर्ने महिलाहरू परेको हुन्छन् भने पुरुष हिंसाको मारमा त चेतनशील, धनाढ्य, साक्षर र सक्षम व्यक्तिहरू नै बढी परेका हुन्छन् ।

बाध्य भएर सहेर बस्ने गरेकाले समाजमा पुरुष हिंसाले प्रश्रय पाइरहेको अवस्था छ । पुरुषत्व भङ्ग हुने डरले महिला हिंसा सहेर आफैँमा हीनताबोध गर्दै बस्न हुँदैन । पुरुष हिंसाबारे आवाज त्यसै गरी उठ्नुपर्छ जसरी महिला हिंसाका आवाजहरू उठ्ने गर्छन् । यसरी नै दिन दुइगुणा रात चौगुना हिंसा बढीरहेमा भोलि यो समाजले कस्तो रूप धारण गर्ला ? समाजरुपी रथ हाँक्ने दुई पाङ्ग्राको प्रतिनिधि कर्ता हुन् नारी पुरुष तर एकले अर्कोमाथि हिंसा अन्याय अत्याचार गर्दै गयो भने कहाँ रहन्छ सामाजिक सद्भाव, सम्मान र एकता । जून समाज सञ्चालनको बलियो आधार स्तम्भ हुन्।

आज सामान्य जस्तो लाग्ने कुराले नै पछि गएर विकराल रूप धारण गर्दछ। हामीले हिंसाजस्तो जघन्य अपराधलाई नजरअन्दाज गर्ने भुल गर्न हुँदैन। महिला पुरुषप्रतिको हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्नुपर्छ। श्रीमानको लात खाएर रुँदै हिँड्ने श्रीमती देख्ने समाजले श्रीमतीको बात खाएर कुना पसेको श्रीमान् पनि देख्न सक्नुपर्छ। कुरा नमिलेपछि आफ्नो कपडा आफैँ च्यात्दै कराउने केटीको चिच्याहट सुन्ने समाजले केटालाई पनि उ निर्दोष भएको प्रमाण पेस गर्ने मौका दिनुपर्छ।

महिला र पुरुष दुवै मिलेर नै एउटा सभ्य, शिक्षित र सक्षम समाजको निर्माण गर्न सकिन्छ। अन्याय गर्नेभन्दा अन्याय सहने बढी दोषी हुन्छ। पुरुष हुनुको अस्तित्व नै समाप्त हुन्छ भनेर अन्याय सहेर मर्द भएको नाटक गर्ने पुरुष वास्तवमा नामर्द हो भने आफूमाथि भएको हिंसा विरुद्ध निर्धक्क साथ लड् नसक्ने पुरुष वास्तविक मर्द हो भन्ने सोचाइ हरेक पुरुषमा हुन जरुरी छ। पर्दामा जे देखिन्छ त्यही मात्र नहेरेर पर्दा पछाडिको वास्तविकतालाई सबैले नियाल्न सके समयमै पुरुष हिंसाको अन्त्य गर्न सकिन्थ्यो कि ?

Tags: ,

प्रतिक्रिया दिनुहोस