सही सूचना सम्प्रेषणबापत कसैलाई अङ्कुश लगाएका छैनौँ : सञ्चारमन्त्री बाँस्कोटा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सही सूचना सम्प्रेषणबापत कसैलाई अङ्कुश लगाएका छैनौँ : सञ्चारमन्त्री बाँस्कोटा


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


मन्त्रिपरिषद् बैठक

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सही सूचना सम्प्रेषणबापत कसैलाई पनि अङ्कुश नलगाइएको बताएका छन् ।  प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आज जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानद्वारा प्रदत्त पूर्ण पे्रस स्वतन्त्रतालाई खण्डित गर्ने सामथ्र्य सरकारसँग नरहेको बताए ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारलाई सञ्चारगृहले दिएको कागजातअनुसार तलब दिए नदिएको विषयलाई लिएर पे्रस स्वतन्त्रता हनन भयो भनी भ्रम सिर्जना गर्नु न्यायोचित होइन भने । पेरोलको विषयप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो । उनले एउटै व्यक्तिले पाँच सञ्चारगृह चलाउन सक्ने तर त्यहीँ काम गर्ने पत्रकारका लागि न्यूनतम पारिश्रमिक नदिनु श्रम शोषण भएको बताए ।

सरकार समानुपातिक विज्ञापन प्रणाली र लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित गर्न प्रयासरत रहेको मन्त्री बाँस्कोटाले बताए। सरकार पत्रकारको पेशागत सुरक्षाको पक्षमा रहेको उनको धारणा थियो ।

सिके राउतलाई सरकारले वार्ताका माध्यमले मुलुकको संविधानअनुसार राजनीतिक हिसाबले मूलधारमा ल्याउनु सरकारको महत्वपूर्ण सफलता भए पनि केही समूह हिंसा भड्काउन उद्यत छन् जसलाई नेपालले सहन सक्दैन भने ।

नेपालको विकासका सन्दर्भमा अब एक दशकलाई निर्माण र पुनःनिर्माणको अभियानका रूपमा लिनु जरूरी भएको मन्त्री बाँस्कोटाले बताए । उनले सबै क्षेत्रमा सुधार गरी अङ्क अङ्कमा प्रगतिप्रति सङ्कल्पको खाँचो रहेको धारणा राखे ।

लगानी सम्मेलनले उत्साहित तुल्याएकाले सम्भावनाको खोजी गरी सार्थक बनाउनु आवश्यक रहेको मन्त्री बाँस्कोटाले बताए । सम्मेलनले कमला कोशी डाइभर्सन परियोजना कार्यान्वयनतर्फ ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

नयाँ जोश, उमङ्गका साथ अविचलित भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा सबैलाई अग्रसर हुन उनले आग्रह गरे । प्रदेश नं २ मा डिजिटल विद्यालय स्थापना र हावाहुरी प्रभावित क्षेत्रमा बासको व्यस्थापनका लागि सरकार गम्भीर रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । हावाहुरी प्रभावित क्षेत्रमा सेनामार्फत वर्षायाम अगावै आवास व्यवस्थापन सम्पन्न गरिने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस