दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने


२७ चैत्र २०७५, बुधबार


काठमाडौं । दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने भएको छ । नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योग महासंघको आयोजना तथा मेसे इण्डिया तथा इआरएम भारतको सहआयोजनामा यही चैत २८ देखि ३० गतेसम्म उक्त एक्स्पो हुनलागेको हो ।

आयोजक समूहले आज पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक अत्याधुनिक नयाँ प्रविधियुक्त सञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखानासम्बन्धी नयाँ प्रविधिबारे जानकारी गराउन उक्त सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

एक्स्पो संयोजक एवं नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले एक्स्पोमा जापान, भारत, चीन, सिङ्गापुर, अमेरिका, जर्मनी, कोरियालगायत १० मुलुकका प्रविधि उत्पादक कम्पनीको सहभागिता रहने जानकारी दिए।’सुन्दर नेपाल’ र ‘नेपालको लोकतान्त्रिक आन्दोलनका झलक’ गरी दुई शीर्षकमा फोटो प्रदर्शनी गर्न लागेका छौँ’, उनले भने ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कर गौतमले फोटो र प्रिन्टबीच सम्बन्ध स्थापना गर्न एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘प्रदर्शनीमा औद्यौगिक प्रिन्टर, कमर्सियल प्रिन्टर, प्रिन्टर प्रेस, अफसेट प्रेस, फ्लेक्स प्रिन्टलगायत प्रदर्शनीमा राख्नेछौँ’, उनले भने ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धुव्र आलेले नेपालको प्रिन्टिङ, फोटोग्राफी र मिडिया टेक्नोलोजीको विकासका लागि एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मेसे इण्डियाका निर्देशक जितु शर्माले नयाँ प्रविधिलाई नेपालमा चिनाउनका लागि एक्स्पोले सहयोग पुग्ने बताए । मेलामा प्रदर्शनीका साथै वर्कसप, फोटोसेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

तीन दिनसम्म चल्ने एक्स्पोको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । टुँडिखेलमा आयोजना हुने मेला बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस