हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने


२७ चैत्र २०७५, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा.विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘

संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचौ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा.देवकोटाले संघीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको बताए ।

उनका अनुसार ‘स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक’ बनाउने मूल ध्येयका साथमा मन्त्रालयले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । विगत २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवा रोग नियन्त्रण, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

सम्मेलन आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले पछिल्लो समय नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट बढी मृत्यु भइरहेको बताए ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी कम हुँदा यसको भार गरीब विपन्न जनतामा बढी परेको बताए । तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता छ ।

परिषद्का अध्यक्ष प्रा डा.अञ्जनीकुमार झाले स्वास्थ्यका नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्षले सहयोग पुग्ग्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवर्द्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले वहिरङ्ग सेवा (ओपिडी) सेवा सञ्चालनका लागि टिकट काउन्टर आज बिहान खुला गरेको थियो ।

तर सरकारी चिकित्सक संघ(गोदान)का आन्दोलनका कारण आज पनि वीर अस्पतालमा स्वास्थ्य सेवा लिन आएका बिरामीले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाएनन् ।

चिकित्सकको समायोजनमा असहमति राख्दै गोदानमा आबद्ध चिकित्सकले चार दिनदेखि सरकारी अस्पतालका आकस्मिक सेवाबाहेक ओपिडी सेवा ठप्प पारेका छन् । यसबाट हजारौँ बिरामी मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस