कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क


२६ चैत्र २०७५, मंगलबार


सियोल । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी)बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो ।

यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक सत्रदेखि आवश्यक प्रक्रिया शुरु गर्ने जनाएका छन् ।

हाल दक्षिण कोरियाले प्राथमिक र निम्न माध्यमिक तहका विद्यार्थीका लागि निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

वर्तमान राष्ट्रपति मून जाए–इनको एउटा प्रमुख प्राथमिकताको कार्यक्रममा माध्यमिक शिक्षासम्म निःशुल्क गर्ने रहेको छ । उनले समावेशी मुलुक बनाउने उद्देश्यका साथ माध्यमिक शिक्षालाई निःशुल्क बनाएका हुन् ।

‘शिक्षा प्राप्त गर्ने अधिकार आधारभूत हक हो र यसलाई कोरियाली संविधानमै उल्लेख गरिएको छ । प्राथमिक र निम्नमाध्यमिक तहसँगै माध्यमिक तहलाई पनि निःशुल्क गर्नु आधारभूत अधिकार नै हो भन्ने सरकारको ठम्याई छ,’डिपीका प्रभावशाली सांसद होङ योङ–प्योले बताए ।

सत्तारुढ दल डिपीले माध्यमिक तहको शिक्षा निःशुल्क गर्दा वार्षिक करिब एक अर्ब ७५ करोड डलर अतिरिक्त व्ययभार पर्ने जनाएको छ । निःशुल्क शिक्षाका लागि हुने खर्च केन्द्र सरकार र क्षेत्रीय शिक्षा कार्यालयहरुले व्यहोर्नेछन् ।

संसदमा यसबारेमा भएको छलफलमा सांसद होङले निःशुल्क शिक्षासँगै न्यून आय भएका परिवारको आयलाई पनि १ लाख ३० हजार वोन (कोरियाली मुद्रा) ले वृद्धि गरिएको जानकारी दिए ।

एकजना उप अर्थमन्त्री कू यून–चिओलले निःशुल्क शिक्षाको प्रबन्धबाट एक जना विद्यार्थीका लागि कुनै घरपरिवारको वार्षिक करिब १५ लाख ८० हजार वोन बचत हुने जानकारी दिए ।

सत्तारुढ दल डिपीले शिक्षासम्बन्धी सरकारी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न नेसनल एसेम्ब्ली समक्ष आग्रह पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस