चार हजार दुई सय मिटर उचाइमा म्याराथन दौड « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

चार हजार दुई सय मिटर उचाइमा म्याराथन दौड


२६ चैत्र २०७५, मंगलबार


ओखलढुङ्गा । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जितेका छन् ।

करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम भएका हुन्। एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गरेका थिए । दुवै जनाले नगद ५०–५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भएका छन् । निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा पूरा गरेका थिए ।

यसैबीच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कृष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो भएका छन् । भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गरेका थिए । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ४० हजार र ३० हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन् ।

म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताए । चार हजार २०० मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उनको भनाइ छ । उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस