जाजरकोट जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जाजरकोट जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु


९ फाल्गुन २०७५, बिहिबार


जाजरकोट । एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेको छ । अहिले अस्पतालले शल्यक्रिया सेवादेखि बिरामीलाई उचित सल्लाह, सुझाव र परामर्श दिएर राम्रो विश्वास आर्जन गरेको छ ।

हप्ता दिनदेखि शल्यक्रिया सेवा शुरु गरेर अस्पतालमा आधा दर्जन जिल्लावासीको शल्यक्रियासमेत गरिसकेको अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए । चौबीसै घण्टा सेवा विस्तार गरी अस्पतालले स्थानीयवासीको समस्या जतिसक्दो चाँडो हल गर्ने प्रयास गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पताल पर्याप्त भौतिक संरचनाको अभावमा अझै भनेको जति सेवाप्रवाह गर्न मुस्किल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । पचास श्ययाको जिल्ला अस्पतालले एक महीना अगाडि सुत्केरी सेवासमेत राम्रोसँग दिन नसक्दा आलोचनाको भारी मात्र बोकेको थियो ।

सामान्य उपचारका लागि नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊसम्म जाजरकोटका स्थानीयवासी जाने गर्दथे । अहिले नयाँ व्यवस्थापनसँगै शल्यक्रिया सेवा, आकस्मिक सेवा, विशेषज्ञ सेवासमेत उपलब्ध भएको छ । स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थाले सिफारिस गरेका बिरामीको उपचारदेखि दैनिक आउने बिरामीको निगरानी, सल्लाह दिने कार्य बढेको डा भुपेन्द्रप्रकाश मल्लले जानकारी दिए ।

अर्थाभावका कारण अस्पतालको व्यवस्थापनमा समस्या परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले भने, “यो जिल्लाको सम्पत्ति हो, यहाँ राज्यले लगानी गरेको छ, त्यसैले यहाँबाट पाइने सेवासुविधाका विषयमा जनताले गुनासो गरेको म सुन्न सक्दिनँ, निर्वाधरूपमा सबैले मेरो भन्ने भावनाले काम गरी सेवामुखी व्यवहार गर्न म आग्रह गर्दछु ।” अस्पताल व्यवस्थापन समितिको कुर्सी मात्र ओगट्न यहाँ आएको नभई केही नतिजा निकाल्न आएको भन्दै बस्नेतले भने, “अस्पतालमा हुने विभिन्न खालका समस्या र नागरिकले पाउनुपर्ने सुविधाका विषयमा केही समस्या भएमा मलाई तुरुन्त खबर गर्नुहोस्, म उचित पहल लिन्छु ।”

वर्षेनी औषधि अभावदेखि चिकित्सक अभावको सिकार बन्दै आएको अस्पतालले नयाँ विशेषज्ञ चिकित्सक पाउनुका साथै सेवासमेत विस्तारले जिल्लावासीलाई खुशी बनाएको छ । लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख लामाले जानकारी दिए । उनले भने, “म यहाँ जागिर खान मात्र आएको होइन, जाजरकोटको परिचय बदल्ने मेरो अर्को योजना छ, मलाई साथ सहयोग चाहिएको छ ।” भाँच्चिएको खाटमा सुतेर सेवा दिएको बताउँदै चिकित्सकले दुर्गममा सेवा गर्न पाउनु भाग्य भएको बताएका छन् ।

सुत्केरी गराउन पर्याप्त ठाउँको व्यवस्था र ब्लड बैंक स्थापना भए थप उपचारमा सहज हुने चिकित्सकको भनाइ छ । बिरामीलाई उपचार गर्दागर्दै रगत अभाव भएमा आफैँ रगत दिएर बचाउने कामसमेत भएको डा मल्लले बताए। सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीले समेत रगत दिएर बिरामी बचाउने गरेको उनको भनाइ छ ।

जाजरकोटको परिचय सधैँ दुर्गममा मात्र होइन, सुन्दर र भरपर्दो जिल्लाका रूपमा स्थापित गर्न खोजेको उनको भनाइ छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बस्नेत दैनिक अस्पतालमा गएर सबैका कुरा सुन्नेदेखि परेका समस्याका विषयमा समाधान अनि बिरामीसँग भेटघाट, सल्लाह दिएको देख्दा जिल्ला अस्पताल सुधार भएको महसुस गरेको स्थानीयवासी वीरबहादुर बस्नेतले बताए ।

भेरी नगरपालिकाले समेत अस्पतालको सुधारका लागि कुनै कुराको कमी हुन नदिने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस