विचारमा मात्र देशको विकास « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विचारमा मात्र देशको विकास


शान्ति बस्नेत

९ फाल्गुन २०७५, बिहिबार


विकास

देशको विकास गर्न एउटा परिपक्व सोच हुनु पर्छ । जसको लागि जीवन्त जीवन परिकल्पना गर्न सक्ने एउटा उत्साह चाहिन्छ । विकास भन्ने कुरा नियमित प्रक्रिया हो । विकासको तत्काल आमूल परिवर्तन नभए पनि जनताले विकासको अनुभूति गरेको हुनुपर्छ । नेपालको विकासको लागि नेतृत्वपंक्तिले धेरै सपना देखाएको आवाज सुनिरहेका छौँ । ती आवाज जनताका लागि हितकारी वचन हुन सकेका छैनन् ।

जनहितका लागि काम गर्ने वाचा र बन्धनलाई सिंहदरवारको मुलढोकाबाट प्रवेश गरेसँगै विलीन हुने गरेको तितो सत्य हाम्रो सामु जग जाहेर छ । नेपाल र नेपालीका लागि मात्र काम गर्ने नेता भइदिएको भए आजसम्म हाम्रो देशको हालत पहिलाकै अवस्थामा रहने थिएन । सधैँ देशको चिन्ता भनेको सोझा र सिधा जनतालाई मात्र भयो । नेतृत्वपंक्तिलाई देश विकासको भन्दा पनि पदको चिन्ताले सताइरहने बानीको विकास भयो ।

निर्वाचनको समयमा नेताहरूले ठूल-ठुला सपना आफूले नदेखेका र जनतालाई नदेखाएका होइनन् । तर विडम्बना निर्वाचनको समयमा बोलेका कुराहरूलाई कार्यान्वयन गर्ने आँट कहीँ कतैबाट देखाएनन् । निर्वाचनको समयमा गरिएको पार्टीका घोषणापत्र कागजी खोस्टा हुन पुगे । पार्टीका चुनावी घोषणा मतदाताले एउटा दर्शकको रूपमा साक्षी बसेर टुलु-टुलु हेरी मनलाई शान्तना बनाउने काम गरिरहेका छन् । विचारको भरमा नेताहरूले जनताको भावनासँग खेलबाड गरिरहेका छन् । देशको नेतृत्वकर्तालाई सत्ता र शक्तिको आडम्बर अहमताले छोपि नै रहेको छ । जनता सोध्न चाहन्छन्, विकास गर्ने कुरा जहिले पनि भाषणमा सीमित बनाउने हो ? अब यस्ता फुस्रा भाषण हैन, देश विकास भएको देखाउनु पर्ने छ ।

नेतृत्व वर्गको दीर्घकालीन सोच नभएका कारण देशको विकासमा हामी पछि परेका छौँ । सत्ता र शक्तिलाई मूल आधार मानेर जनताको हितकारी काम गर्ने गरियो भने, देशमा कसले कहिल्यै सडकमा सरकार विरुद्ध नारा जुलुस गर्नु पर्ने समय आउँदैन । आन्दोलन गरी देशको सम्पत्ति माथि क्षति पु¥याउने मन कसैको हुँदैन । सरकारले जनतालाई सडकमा बाध्यकारी आन्दोलन गर्ने वातावरण सिर्जना गरिदिएको छ । कुनै पनि देशमा कानुन सबैभन्दा माथि हुन्छ, कानुन भन्दा माथि कोही हुन सक्दैन र जसलाई कुनै पनि देशका नागरिकहरूले सर्व स्वीकार्य गरेका हुन्छन् ।

नागरिकले आवश्यक ठानेका कुराहरूको पहिचान गरी कानुनलाई शतप्रतिशत कार्यान्वयन गर्दै गएमा देशमा दिगो शान्ति, समृद्धि र विकासको गति अघि बढ्ने सम्भावना हुन्छ । देशमा बढ्दै गएको अस्थिरताका कारण ‘बाँच्दाको जन्ती, मर्दाको मलामी’ हुने मानिस गाँउघदेखि सहरसम्म पाउन मुस्किल हुने गरेको छ । देश किन यो हालतमा ? भन्ने कुराको खोजी गरिएन । एक छाक हातमुख जोड्न र एक सरो कपडा लगाउन नसकिएको अवस्था, दक्षता र क्षमता अनुसारको रोजगारीको अवसर नहुँदा दिनमा दुई गुणा, रातमा चौगुना नेपाली विदेशीन बाध्य छन् । आफ्नो जन्मभूमि आत्म गौरवलाई चटक्क छोडेर अरूको देशमा गुलामी भएर काम गर्न बाध्य छन् । स्वदेशमै केही काम गरेर जीवन निर्वाह गर्ने सोच भएका दक्ष जनशक्तिलाई देशका काम गर्नेको लागि सहज वातावरण नै छैन । आफ्नै देशमा पसिना बगाऊन मन भएका नेपालीलाई सरकार र सम्बन्धित सरोकारवालाले काम गर्नको लागि सहज वातावरण बनाइदिनु पर्छ ।

यदि यस्तो गरिएन भने नेपाली अरूको देशमा कति वर्षसम्म आफ्नो पसिना बगाउने ? राजनीति नै मूल परिवर्तनको संवाहक हो । तर यसलाई कसले बुझिदिने ? नागरिकहरू देशको अस्थिर राजनीति गुज्री रहेको धेरै वर्ष भइसकेको छ । आज जुन राजनीतिले जनहितका निम्ति काम गरे पनि बिच-बिचमा सरकार परिवर्तन भई रहने भएकोले विकासको गतिमा ढिला सुस्ती हुने गरेको छ । नागरिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देशको विकासको अपेक्षा गरेर विश्वासले बहुमत दिएर सरकारमा पठाएका छन् । त्यसमा पनि नेपालको इतिहासमै पहिलो पट दुई तिहाइ बहुमत प्राप्त सरकार छ ।

यो पार्टीको लागि र नेपाली जनताको लागि सुनौलो अवसर हो । जुन निर्वाचन क्षेत्रबाट जुन पार्टीका उम्मेदवारले विजयी भए पनि नागरिकले विश्वास गरेर मतदान गरी विजयी गराएका हुन । उनीहरूले जननिर्वाचित पद प्राप्त गरेका छन्, जुन रूपमा देशको विकासको लागि काम गर्नु पर्ने हो त्यसमा दिनप्रतिदिन खडेरी लाग्दै गएको छ । सबै नागरिकले विश्वास गरेर पठाएका व्यक्तिले जुन पद ग्रहण गरेका छन् उनीहरूको ‘ताज’ शिरमा लगाएको धेरै हुन लागिसकेको छ । मतदातासँग भोट माग्दा गरिएका बाछा ओईलिदैं गएका छन् । मत माग्दा नेताका अनुहारहरू काला, नीला, खस्रा रूपमा देखिएका थिए भने, आज ती विजयी नेताको अनुहारहरू चिल्ला, राता, हिष्ट-पुष्ट देखिएका छन् । विकासको नाममा विवादै विवाद गर्ने गरेका छन् । विकासको विवाद भएको भए देश समृद्ध हुन्थ्यो तर विकासको नाममा आफ्नो घरपरिवारदेखि आफ्ना कार्यकर्तालाई पाल्नको लागि विकासको नाममा विचारको राजनीति मात्र हुने गरेको छ । नेताले जनहितका लागि काम गर्न सकेको छैनन् । गरिब निमुखा जनताहरू एक छाक खाना नपाएर छटपटाइ रहेका छन् ।

उनीहरूले सामान्य रोग लाग्दा पनि औषधि उपचार भएका छैनन् । त्यस तर्फ उनीहरूको ध्यान जान सकेको छैन । जनताले देशमा परिवर्तन चाहे थिए, त्यही भएर दुई तिहाइकाको मत दिएका हुन । अहिले सरकार यस्तो अवस्थामा मौन बस्न मिल्दैन । जहिले पनि नेता मात्रै परिवर्तन हुने ? देश परिवर्तन कहिले हुने ? नागरिकलाई जस्ताको तस्तै राख्न मिल्छ ? नेताहरूको विचार त ठूल-ठुला र सकारात्मक नै हुन् तर किन त्यसलाई कार्यान्वयन गर्न सकेनन् ? यस्तै हो भने प्रत्येक वर्ष नेपाल झन् गरिब हुँदै जाने र भ्रष्टाचारको खाल्डलमा फस्दै जाने छ ।

देशका नागरिकले देशमा काम नपाएर बिजोकमा छन् । ‘सबै नेपालीको घर-घरमा रोजगारी’ भन्ने विकासको नारा विचमा मात्रै सीमित छ । नेपाल प्रकृतिको सुन्दर देश भनेर संसारभरि चिनिन्छ । नेपाली नागरिकहरूलाई सधैँ बत्ती मुनिको अँध्यारोमा राख्न मिल्छ ? यसको उत्तर दिन तयार हुनु देशको नेतृत्वपंक्तिले ? हाम्रो देशमा सम्भावना नै सम्भावना भएको देश हो । ती सम्भावनालाई जुन नेता नेतृत्व तहमा पु¥याए पनि देश र नागरिकको हालत जस्ताको तस्तै छ । नागरिकहरूले धेरै विकासको प्रतीक्षामा रहेका छन् । देशमा विकासको काम होला । आफ्नो नै देशमा रोजगारी पाइएला । सुन्दर शान्त बुद्धको देश भन्ने शास गरेका छन् । यस्तो देशमा नागरिकहरूले सुख्खा, शान्तिमा बाँच्न पाईओस भन्ने सोच बनाएका हुन्छन् । तर ‘बाँदरको हातमा नरिवल’ भने जस्तै बाँदर नेताका हातमा देश परेको छ । ‘जुन जोगी आए नी, कानै चिरेको’ भने झै काम गर्ने गरेका छन् । राजनीति भनेको के हो ? भन्ने नबुझेका कारण नेताहरूले यस्तो चरित्रहीन क्रियाकलाप गदैंं आएका त होइनन् ? भन्ने सोचियो भने त्यो गलत हुने छ । नेतृत्व तहले नेपालको विकास गर्न नचाहेर हो । देशको विकास गर्न चाहाना भए मात्र जनताले हातमा हात काँधमा काँध मिलाउन तयार छन् । नेताको वा नेतृत्वको नियत राम्रो भयो भने, जनताहरूले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्दछन् । उदाहरणका लागि नै धुर्मुस सुन्तली फाउन्डेसन कुरा गर्दा कामलाई प्राथमिकताका साथ गरिएपछि असम्भव भन्ने कुरा केही नहुँदो रहेछ भन्ने सबै माझ देखाइदिएका छन् ।

त्यसैले देशको विकासको लागि सबै भन्दा पहिला लोभ र भ्रष्टाचार रहित काम गरेपछि प्रत्येक नागरिकको साथ मिल्छ । आज धुर्मुस सुन्तली जस्तै ईमान्दार भएर काम गर्ने देशको नेतृत्व कर्ता जन्मिएको भए नेपाल विकासको उच्च विन्दुमा पुगी सकेको हुन्थ्यो । जुन धुर्मुस र सुन्तलीलाई विश्वासिलो पात्र मानेकै कारण जनताहरूको साथ र सहयोगले गर्दा नै मुसहर बस्तीमा ५३ घर निर्माणको सम्भव भएको हो । नेताको जस्तो बहाना गरी ढिला सुस्ती काम गरेको भए नागरिकको साथ सहयोग हुने थिएन । राम्रो काम ग¥यो भने जुनसुकै कर्म पनि सम्भव छ भन्ने कुरा धुर्मुस र सुन्तलीबाट सिक्नु पर्छ । विश्वासले नै आज अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीमा जुटेका छन् । देशमा विकास देख्न नेपाली नागरिक आतुर छन् । अव देशलाई टेवा पुग्ने खालका काम जनताहरूबाट नै हुन जरुरी छ ।

नेताहरू सबै सधैँ एकै नाशका हुँदैनथ्यो, भनेर कसरी नै भन्न सक्नु ? त्यही मेलम्ची खानेपानीको कुरा गरौँ भने सबै पार्टीका नेताहरूको पालो पुग्ने गरी नेतृत्त्व लिएका छन् । कहिले के निहुँ, कहिले के निहुँ बनायो, त्यतिकै यो राज्यको ढुकुटी भनौ अर्थात् नेपाली नागरिकहरूले स्वदेशमा र परदेशमा बगाएको पसिनाको मोल आज त्यही सत्यानाश बनाइरहेका छन् । सत्तामा हुँदा जुनसुकै विकासका कामहरूलाई विचाराधीन गरेर राख्ने चलन र त्यही कामलाई प्रतिपक्षमा रहँदा ढिला सुस्ती भयो भनेर, सडकमा उत्रने प्रवृत्ति छ । यही कारणले देशको विकासमा बाधा परेको छ ।

यहाँ सत्तामा बसेर जनतालाई झुटो आश्वासन दिने चलनले नागरिक माझ नेतृत्व तहमा पुगेका सँगको विश्वास कम हुँदै गएको छ । सत्तामा हुँदा बोलिया ध्यान पु¥याएन र नबोल्ने प्रवृत्तिको पनि समस्या उब्जाएको छ । जनताको आधारभूत आवश्यक पूरा गर्न सकेका छैनन् । सधैँ खाली कुरा ठुल-ठुला कुरा गरेर सत्ता बलियो हुन्छ भन्ने नसोचे हुन्छ । जो सुकै नागरिकले सबैको रसको स्वाद थाहा पाई सकेका छन् । कुन रस कतिको निर्मल छ ? भनेर नेताले ‘छेपाराको जस्तो रङ्ग फेर्न मिल्दैन ।’ अल्लि होसियार अपनाऊ ! राजनीतिलाई दीर्घकालीन बनाउने र नागरिकका निम्ति सोच्ने बानी बसाल्नु पर्छ । खै कहाँ पुग्यो धरहराको काम ? उस्तै छ, रानी पोखरी र मोनोरेल, पानी जहाज ? यस्तै भ्रामक कुराले नागरिकको मतको अपमान हुदै गएको छ । यी सबै अहिले हाम्रा लागि आधारभूत आवश्यकताका वस्तुहरू होइनन् ।

हामी नेपालीको अहिलेसम्म पनि गाँस, वास, कपासको नै उचित व्यवस्था भएको छैन । पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल हैन, साधारण नुन बोकेर जाने फस्ट ट्रयाक चाहिएको छ । टाउको दुख्दा सिटामोल खान पाउने ठाउँ चाहिएको छ । यस्तै आदि इत्यादि । अनेकौँ कसिमका समस्याहरूबाट गुज्री रहेका छन् । हाम्रो समाज त्यसैले महलका भन्दा पनि झुपडीका सपनाहरू साकार बनाउन्न एकजुट हुन आवश्यक छ । विकासका सपना मात्र देखाउने होइन विश्वासिलो काम गरेर नागरिकको मनोकाँक्षा अनुरूप काम गरी नेतृत्वपंक्तिले देशको इज्जत जोगाउन लाग्नु पर्छ । नेताको विचारमा मात्रै विकासले समृद्ध नेपालको परिकल्पना नगरौं । देशमा सुशासन कायम गर्न कर्मचारीको एकदमै भूमिका हुन्छ । कर्मचारीहरूको मनोभाव अनुरूप काम गर्ने गरौँ । विकासको काम गर्नलाई तेरो पार्टी मेरो पार्टी नभनौं । अहिले हाम्रो देशलाई सुशासन सहितको विकास चाहिएको छ । विकासलाई विश्वासिलो बनाउन सबै एकजुट हुन पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस