कसीमा ट्रेड युनियको प्रभावकारिता - प्रशासन प्रशासन
prasaLogo
९ फाल्गुन २०७५, बिहीबार

कसीमा ट्रेड युनियको प्रभावकारिता


प्रकाशित मिति : 21 February, 2019 9:00 am

ट्रेड युनियनले कामदारको हितलाई सुनिश्चित गर्दै रोजगारदाता वा सरकारसँग आपसी सुमधुर सम्बन्ध बनाइ राख्ने उद्देश्यबाट स्थापित गरिएको हुन्छ । सामान्यतया ट्रेड युनियन कामदारहरूको आधिकारिक प्रतिनिधित्व गर्ने स्थायी प्रकृतिको संस्था हो । यसले आफ्ना सदस्यको रोजगारी तथा आर्थिक सुरक्षा र फाइदाको लागि काम गर्दछ । ट्रेड युनियनको काम, कर्तव्य र अधिकार अहिलेको विकसित विश्वमा झन् जटिल र परिवर्तनशील हुँदै आएको छ । यसको मुख्य ध्येय भनेको कामको अवस्थालाई सहज, सुविधायुक्त र आकर्षक ज्यालाका लागि पहल गर्नु हो । मजदुरले न्यायोचित ज्याला पाउन, काम गर्ने समय सीमित गर्न काम गर्ने स्थल सामाजिक तथा मनोबैज्ञानिक रूपले स्वच्छ, स्वस्थ र सुरक्षित बनाउने चाहना गरेका हुन्छन् । यी सबै अवस्थालाई व्यवस्थित र व्यवहारिक बनाउनु ट्रेड युनियनको मुख्य उद्देश्य हो । ट्रेड युनियनको लक्ष्य, आचरण र चरित्र समयको माग तथा विश्व परिवेश अनुसार परिमार्जन र परिष्कृत भई रहन्छ । ट्रेड युनियनको स्थापना तथा विकास र विस्तार विभिन्न राजनीतिक आस्था र विचारले असर पारिराखेको हुन्छ ।

विश्वमा अद्यौगिकीकरणको सुरुवातसँगै रोजगारी र ज्याला लगायतका विषय मजदुर र रोजगारदाता बिचमा समन्वय गर्न युनियनको भूमिका प्रभावकारी हँंदै गयो । विश्वमा औपचारिक ट्रेड युनियनको प्रारम्भ बेलायतको कम्बिनेशन एक्ट, सन् १८२४ मा लागू भएपछि सुरुवात भएको हो । त्यस्तै अमेरिकामा सन १८६९ मा नाइटस अफ लेबर गठन भएपछि ट्रेड युनियन बन्ने र मान्यता प्राप्त गर्ने क्रमले तीव्रता पायो ।

नेपालमा ट्रेड युनियनको संस्थागत प्रारम्भ वि.सं १९९३ मा विराटनगरमा जुटमिलको स्थापना भए पश्चात् वि.सं २००३ चैत्र २० गते अखिल नेपाल ट्रेड युनियन काँग्रेसको गठन गरी निरंकुश जहानिया शासनको अन्त्यका लागि नेतृत्वदायी भूमिका खेलेको थियो । त्यसपछि वि.सं २००७ साल माघ ४ गते महेश्वरमान छोचु तथा भक्तलाल श्रेष्ठको नेतृत्वमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी सङ्घको स्थापना भयो । यस सङ्घले मुलुकको प्रशासन शासकमुखी नभै जनमुखी हुनुपर्छ भन्ने मूल उदघोषका साथ वि.सं २००८ साल जेठ ११ गते तलब सुविधा, नोकरीको सुरक्षा, तथा निबृतभरणको व्यवस्था, घर बिदा, बिरामी बिदा, कर्मचारीको मृत्यु पश्चात् विभिन्न परिवारको लागि भत्ता तथा छोराछोरीको लागि निःशुल्क पठन पाठनको व्यवस्था लगायतका मागहरूको प्रस्तुत गरेको थियो ।

सरकारले मागहरूप्रति बेवास्ता गरेकोले वि.सं २००९ ज्येष्ठ १९ देखि काठमाडौँ उपत्यका तथा तराई तथा पहाडमा पहिलो पटक कर्मचारीले आम हडताल गरेका थिए । परिणामस्वरूप ३३० प्रतिशत सम्म तलब वृद्धि भएको थियो । तर पछि सरकारले कर्मचारी संघलाई प्रतिबन्ध लगाइयो । तथापि प्रजातन्त्रको अभ्युदय पश्चात् विभिन्न पेसागत सङ्घ संस्थाहरू धमाधम खुल्न थाले । पञ्चायती व्यवस्थाको स्थापना पश्चात् कतिपय पेशागत संघसंगठन प्रतिबन्धको सामना गर्नु प¥यो । तर वि.सं २०४६।४७ को जन आन्दोलनको सफलता पछि पेशागत संघसंस्थाहरु सहज रूपमा खुल्न र विकसित हुन पाए । विभिन्न आन्दोलन र वार्ताको माध्यमबाट पेशागत सेवा तथा सुविधाहरूको सुनिश्चित गर्दै युनियनहरू पनि कानुनी रुपमानै सबल र सक्षम हुने अवसर पाए ।

निजामती सेवा ऐन, २०४९ दोस्रो संशोधन २०६४ तथा निजामती सेवा नियमावली, २०५० आठौँ संशोधन २०६७ ले निजामती कर्मचारीहरूको सेवा सुविधा तथा वृत्ति विकासको न्यायोचित सुनिश्चित गर्न ट्रेड युनियनको व्यवस्था गरेको छ । मौजुदा निजामती ऐनको दफा ५३ मा कर्मचारीहरूको ट्रेड युनियन सम्बन्धी गठनको व्यवस्था गरेको छ । टे«ड युनियन गठन गर्दा सदस्यताको हुनका लागि आवश्यक दायरा पनि तोकेको छ । जस अनुसार कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्राङ्कित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हकहितका लागि कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्ने व्यवस्था गरेको छ । कर्मचारीको ट्रेड युनियनहरूको दर्ता श्रम तथा रोजगार प्रवर्द्धन विभागमा गर्नुपर्ने हुन्छ । उल्लिखित अनुसारका ट्रेड युनियनका सदस्यहरूले छनौट गरेका पदाधिकारी रहने गरी सरकारले निजामती कर्मचारीहरूको एक आधिकारिक ट्रेड युनियन गठन गर्नुपर्ने छ । यसरी गठित ट्रेड युनियनले जिल्ला स्तर, विभागीय स्तर र राष्ट्रियस्तरमा आफ्नो पेसागत मागहरू सम्बन्धित निकाय र पदाधिकारी समक्ष प्रस्तुत गरी सामाजिक संवाद र सौदावाजी गर्न पाउने छ । तर नेपालमा हालसम्म त्यस्तो खालको आधिकारिक युनियन गठन भई सकेको छैन । यस्तो अवस्थामा सबै श्रम विभागमा विधिवत दर्ता भएका ट्रेड युनियनहरू आपसमा सहकार्य र सहमतिमा सौदा बाजी गर्न पाउने कानुनी व्यवस्था रहेको छ । कुनै पनि संस्थालाई गतिशील बनाएर प्रभावकारी रूपमा सञ्चालन गर्न नेतृत्वको अहम भूमिका हुन्छ ।

युनियनलाई सशक्त र निरन्तर क्रियाशील बनाई राख्न नेतृत्व सिद्धान्त र व्यवहारिकताको कसीमा निष्पक्ष, निस्कलंक र निस्स्वार्थ छविको लागि खरो उत्रिनु आजको माग हो । दूरदर्शी सोच र चिन्तन भएको बहु आयामिक व्यक्तित्वबाट मात्र सङ्गठनको विकास र विस्तार आशातीत रूपमा हुने यथार्थता हो । सदस्यहरूको हकहितका लागि संस्थाले तोकेको लक्ष्य हासिलका लागि सदस्य एवं सरोकार पक्षलाई स्वेच्छाले सद्भाव, सहयोग र सहकार्य गर्न प्रेरित गर्नु नेताको मुख्य काम हो । अतः विशेष परिस्थितिमा लक्ष्य प्राप्तिका लागि व्यक्ति वा समूहका क्रियाकलापहरूलाई प्रभावित पार्ने प्रक्रिया नै नेतृत्व हो ।

ट्रेड युनियनको सफलता र सशक्तीकरणको लागि नेतृत्वले आफ्नो जिम्मेवारीलाई जबाफदेहीपूर्वक सम्पन्न गर्न योजनाबद्धरुपमा सञ्चालन गर्नुपर्दछ । ट्रेड युनियनको काम, कर्तव्य र अधिकार बारेमा स्पष्ट र गहन अध्ययन तथा जानकारी बारेमा आफ्ना सदस्यहरूलाई प्रशिक्षित गर्नु÷गराउनु पर्दछ । नेतृत्व वर्गले युनियन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीपमा पोख्त हुनुपर्दछ । युनियनको मानवीय तथा भौतिक संरचना पर्याप्त र साधानस्रोतको सम्पन्न हुनुपर्दछ । युनियनको लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम स्पष्ट एवं व्यावहारिक हुनुपर्दछ । युनियन सञ्चालन साधारण सदस्यहरूबाट छानिएका सक्षम पदाधिकारीबाट सञ्चालन गरिनुपर्दा छ । एकता र इमान्दारिताबाट नेतृत्व मात्र नभएर साधारण सदस्य समेत प्रतिबद्ध हुनुपर्दछ । सुशासनका आधारभूत तत्त्वहरू, पारदर्शिता, विकेन्द्रिता, सहभागितामूलक निर्णय प्रक्रिया, समावेशिता आदिलाई अंगिकार गरेको हुनुपर्दछ । आफ्नो समुदायको हितको साथै समाज, समुदाय, धर्म संस्कार र संस्कृतिको संवर्धन समरक्षण गर्ने गतिविधि सञ्चालनबाट सभ्य समाजको प्रवर्धन गर्न टेवा पुग्न जान्छ ।

युनियनप्रति सदस्यको अपनत्वको भावना जगाउन प्रत्येक सदस्यको दुःख सुखमा साथ दिन चुक्नु हुँदैन । उनीहरूको जीवनस्तर उठाउने खालका नीति, रणनीति तथा कार्यक्रम ल्याउने उपायहरू अवलम्बन गरिनुपर्दछ । सदस्यहरूको पारिवारिक संरक्षण, छोराछोरीको पठनपाठन तथा नोकरीको व्यवस्था जस्ता कार्यक्रमले सदस्य एवं सरोकारहरूको आस्था र विश्वास युनियनले जित्न सक्छ । सामाजिक गतिविधि आफैले सञ्चालन गर्ने वा सहभागिता जनाउनु ट्रेड युनियनको प्राथमिकतामा पर्नुपर्दछ । रक्तदान, परिवार नियोजन, सरसफाइ जस्ता स्वास्थ्य शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूको तर्जुमा र कार्यन्वयनबाट सदस्य र समुदायबिच सद्भाव सहयोग तथा सहकार्य गर्ने संस्कारको विकास हुन्छ । यसप्रकारका सकारात्मक सोच र व्यवहारबाट ट्रेड युनियन प्रति जनसमुदायको आस्था र विश्वास जित्न सफलता मिल्छ साथै सदस्यहरूलाई समाजमा सहजरुपमा घुलमिल हुन टेवा पुग्दछ ।

आफ्ना सदस्य तथा जनसमुदायको चाहना र आवश्यकतालाई बुझेर उनीहरूको भावना अनुसार नीति रणनीति बनाएर कार्य गर्नु नेतृत्वको लागि गम्भीर चुनौती हो । कतिपय अवस्थामा आप्mनो पदीय हैसियत कायम राख्न नसकेर विचलित भएका उदाहरण पाउन सकिन्छ । नेतृत्वको पदीय हैसियतमा आएका कतिपय विचलनका कारण सङ्घसंस्था भित्र विकृति र विसङ्गति मौलाएका उदाहरण बग्रेल्ती पाउन थालिएको छ । विधि भन्दा व्यक्ति, नीति भन्दा नेता, राम्रो भन्दा हाम्रो लाई प्रधानता दिएको कारणबाट नेतृत्व विवादमा आउने गरेको पाइन्छ । तसर्थ लोकप्रिय नेताको हैसियतमा नेतृत्व बन्न सदैव सकारात्मक सोच र लोकतान्त्रिक शैली निष्कलङ्क छविका लागि अपरिहार्य हुन्छ ।

नेतृत्व योजनाकार, नीति निर्माता र मध्यस्थकर्ता तथा सहाशिक र उत्साही हुनुपर्दछ । लक्ष्य हासिल गर्न सदा तत्पर रहने दृढ इच्छा शक्ति भएको उत्साही एवं कञ्चन चरित्र तथा सामाजिक मूल्यमान्यता धर्म संस्कृति, संस्कारलाई सम्मान गर्ने इमानदार आदर्श व्यक्तित्व सफल नेताका लागि आधारभूत सर्तहरू हुन । क्युरियो सिद्धान्त र कस्मेटिक कुरालाई त्यागी, कामकार्वाहीमा निष्पक्षता, पारदर्शिता तथा विषयवस्तुमा विज्ञताले नेतृत्वलाई बहुआयामिक र लोकप्रिय बनाउन छ । संवेगात्मक आवेगलाई सन्तुलन तथा धैर्य धारण गर्ने सकारात्मक सोच र शक्ति भएको व्यक्तिले मात्र सफल, सबल र सशक्त नेतृत्वको पहिचान दिन सक्छ । यसप्रकारका चरित्र भएको नेतृत्वबाट मात्र वास्तवमा निजामती सेवा र ट्रेडयुनियनको सार्थकता र गरिमा बढ्छ ।

प्रतिक्रिया दिनुहोस