प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत


८ फाल्गुन २०७५, बुधबार


विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए ।

उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून बनेमा सबै क्षेत्रलाई काम गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । उनले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिलेसम्मकै सबैभन्दा ठूलो र १३७ दफामा रहेको जानकारी दिए ।

बैठकमा शून्य समयमा सदस्य खिनु लाम्बा लिम्बूले पूर्वी नेपालको इलामका लागि सुहाउँदो हावापानी र माटो अनुकूल चियाको बिरुवा उत्पादन गर्न माग गरे ।

उनले चियालाई आवश्यक पर्ने जनशक्ति र अनुसन्धान केन्द्र पनि स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए। सदस्य नारायणबहादुर मगरले उदयपुरका केही स्थानमा सुख्खा अनुभूति भएकाले बाँच्नका लागि पनि प्रदेश सरकारले राहत बाँड्नु पर्ने बताए ।

सदस्य पूर्णप्रसाद राईले सङ्खुवासभाको बरुण नदी धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस नदीमा जलविद्युत्का लागि सञ्चालन हुने परियोजना रोक्नुपर्नेमा जोड दिए । सदस्य लीला सुब्बाले प्रदेशको राजधानी सबै कुराले परिपूर्ण धनकुटा बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य सञ्जाकुमारी दनुवारले उदयपुरको त्रियुगा हवाई मैदान बन्नाउन माग गरे। प्रदेशसभाको अर्को बैठक यही फागुन ९ गते बिहान ११ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस