जनप्रतिनिधिको पारिश्रमिक शिक्षा क्षेत्रमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनप्रतिनिधिको पारिश्रमिक शिक्षा क्षेत्रमा


१ फाल्गुन २०७५, बुधबार


गलकोट । जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्च गर्न लागेका छन् ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गरेको बताए । उनले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि दुई लाख ५१ हजार ५५५ को अक्षयकोष स्थापना गरेका हुन् ।

“सामाजिक क्षेत्रमा काम गर्ने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ”, खरेलले आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चने बताए । उनी उक्त विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षकसमेत हुन् ।

पन्ध्र वर्ष अनुदान शिक्षकका रूपमा अध्यापन गराएको विद्यालयलाई जनप्रतिनिधिवापतकोे पारिश्रमिक खर्चन थालेको उनले बताए । समाज सेवा गर्नेलाई पैसाभन्दा ठूलो मन चहिने भन्दै खरेलले आगामी दिनमा प्राप्त पारिश्रमिकले वडाकै अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने तथा विपन्न परिवारको खरको छाना विस्थापित गर्ने लक्ष्य राखेका छन् ।

वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताएका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस