नेपाली सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयवासी दंग (फोटो फिचरसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयवासी दंग (फोटो फिचरसहित)


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


नेपाली सेना

डोटी । नेपाली सेनाले डोटीको पुर्बिचौकी गाउँपालिका ४ सानाँगाउमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

पुर्विचौकी गाउँपालिकाको समन्वयमा जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

सरस्वती आधारभूत विद्यालयको प्राङगणमा सञ्चालन गरेको उक्त शिविर जनतालाई रोग पिडा नहोस् र बिरामी परेर गाउँघरका थला परेका बृद्धबृद्धा तथा अशक्त केटाकेटीहरूलाई घर दैलोमै निःशुल्क रूपमा उपचार होस, स्थानीयवासी र नेपाली सेना बिचको सम्बन्ध थप प्रगाढ बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको रुद्र ध्वज गणका प्रमुख सेनानी गणपति रत्नर केशर खड्काले बताए । उनले भने ‘सेना र जनताको बिचको सम्बन्ध माछा र पानीको जस्तो होस् र हाम्रो सानो सहयोगले जनतामा खुसीयाली छाउनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस् भन्ने हो ।’

‘अर्को कुरा नेपाली भाषा, लोक संस्कृति, कला कौशलको पनि संरक्षण विकास र प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने हो,’ खड्काले भने ।

शारीरिक रूपमा अशक्त, आर्थिक अभावमा रहेका जनतालाई सेवा पुगोस् भन्ने हेतुले नेपाली सेनाले आयोजना गरेको शिविरले सयौँ नागरिकलाई सहयोग पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

‘जुन उद्देश्यका साथ शिविरको आयोजना गरेको थियो सोचे भन्दा बढी उपलब्धि हासिल भएको छ उनले भने, ‘आगामी दिनमा ग्रामीण भेगमा विभिन्न स्थानीय तहहरू सँगको समन्वय, सहकार्यमा यस्ता कार्यहरूलाई निरन्तरता दिन सके लाखौँ नागरिकहरूले निःशुल्क रूपमा स्वास्थ्य सेवा लिन सक्नेछन् ।’

जनता र नेपाली सेना बिचको सम्बन्ध लाई नजिक जोड्न सहयोग पुग्नुका साथै सयौँ गाउँपालिका बासीलाई स्वास्थ्य उपचारमा सहयोग पुगेको पुर्विचौकी गाउँपालिका अध्यक्ष दिर्धराज बोगटीले बताए । उनले भने, ‘नेपाली सेनाले गर्ने मानवीय सहयोग र सामाजिक कार्यको वर्णन गरी नसक्नु छ,’

‘सुनेको थिए पूर्वमा बाढी जाँदा, डुबान हुँदा सेनाले उदार गर्‍यो तर साँच्चै जनताका सेवक भनेका नै नेपाली सेना रहेछ आज प्रस्ट भो’ उनले भने, ‘आगामी दिनमा सामाजिक सेवामूलक कार्यमा हामी जति वेला पनि सहकार्य र सहयोग गर्न तयार छौँ ।

सेनाले आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि आफुलायत अन्य स्थानीयहरू सेना प्रति निकै खुसी भएको सो शिविरमा उपचारका लागि आएका पुर्विचौकी गाउँपालिका वडा नम्बर ४ सानागाँउका ७४ बर्सिया नरुली खड्काले बताए । उनले भने ‘म वृद्ध भएको मान्छे उपचार गराउन अस्पतालसम्म जान सक्ने अवस्थाको थिएन, बिरामी परेर घरैमा बस्न बाध्य थिए, सेनाले मेरै घर आँगनमा आएर निःशुल्क शिविर चलायो म लगायत धेरै बिरामी गाँउलेहरुले निःशुल्क उपचार गर्न पाए,हामी यसैमा खुसी छौ,सेनाले गरेको यो कामको हामी सधैँ ऋणी हुने छौ ।’

नेपाली सेनाले सञ्चालन गरेको उक्त शिविरबाट ४ सय ५९ जनाले उपचार सेवा लिएका छन् । जसमा ३ सय ३३ जना महिला, १ सय २५ जना पुरुष रहेका रुद्धध्वज गणका प्रमुख सेनानी गणपति रत्न केशर खड्काले प्रशासनलाई जानकारी दिएका छन् ।

शिविरमा डाक्टर सह सेनानी सुमन थापा र डाक्टर सह सेनानी ज्योति खड्काको टोली रहेको थियो । उक्त शिविरकै अवसरमा सद्भाव कार्यक्रम अनुरूप नेपाली सेनाका कलाकार र सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूले राष्ट्र भक्तिप्रति ओतप्रोत, सुदूरपश्चिमको कला संस्कृति झल्किने खालका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरेको थियो ।

शिविरमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, सर्वेश्वर गणका प्रमुख सेनानी गणपति उज्जल बानियाँ, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी बलका एसपी प्रदिब पाल, सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस