आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र


प्रशासन संवाददाता

२६ माघ २०७५, शनिबार


पर्वत । बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ ।

फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरु भएको दुई कोठे सो पक्की भवन अलपत्र रहँदा विद्यालयमा कक्षाको समस्या छ । आर्थिक वर्ष ०७१/७२ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले एक वर्षभित्रै सक्नेगरी विद्यालयको पक्की भवन निर्माण गर्ने सम्झौता गरेको थियो ।

सम्झौताअनुरूप पहिलो किस्ता रकम पठाएर बाँकी भुक्तानी नदिएपछि निर्माण कार्य रोकिएको सरोकारवालाको भनाइ छ ।

‘हामीले धेरैपटक सम्बन्धित निकायमा हारगुहार गर्‍यौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले भने, ‘शुरुमा रु ६ लाख ल्याउन सकियो, त्यसपछि मन्त्रालय नै विघटनभयो, पैसा आउने कुरै भएन ।’

विद्यालयको अरू स्रोत नभएकाले प्राप्त बजेटबाट हुने कामबाहेक अरू अगाडि बढाउन नसकेको उनले बताए । भवनको जग, झ्याल–ढोका र गारो लगाएपछि बाँकी काम रोकिएको हो । निर्माणाधीन भवन अलपत्र परेपछि विद्यार्थीलाई चौर, नजिकैका चौतारा र बरण्डामा राखेर पढाउनु परिरहेको प्रधानाध्यापक रामप्रसाद रिजालले बताए ।

विद्यालयले विगत ६ वर्षदेखि कक्षा ९ र १० तथा तीन वर्षदेखि कक्षा ११ र १२ मा समेत नियमितका अलावा प्राविधिक कृषि विज्ञानका कक्षा सञ्चालन गरेको छ । अतिरिक्त पढाइका लागि मात्रै विद्यालयलाई थप चार कोठा आवश्यक छ । /प्राविधिक विषयको पढाइले कोठा पुगेकै छैन’, प्रधानाध्यापक रामप्रसाद रिजालले भने, ‘विज्ञान प्रयोगशाला र अतिरिक्त कक्षा चलाउन बढी समस्या छ ।’

कृषि विज्ञानतर्फ मात्रै हाल करीब एक सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । सामान्य र प्राविधिक्तर्फका सबै विद्यार्थीका लागि ४२ कक्षाकोठा आवश्यक छ । तर, विद्यालयसँग अहिले ३५ कोठा मात्रै छन । ‘हुरीबतास र वर्षाका बेला बाहिर बसेर पढ्दा समस्या हुन्छ,’ कक्षा ९ मा अध्ययनरत सविता शर्माले भने, ‘कक्षाकोठा र फर्निचर नभएपछि पढाइमै समस्या छ ।’ विद्यालय प्रशासन र व्यवस्थापन समितिले सम्बन्धित निकायमा धेरै आग्रह गर्दा पनि निर्माणाधीन भवनको काम सूचारु गर्न नसकिएको अभिभावकले बताएका छन् ।

‘हामीले धेरैपटक सम्बन्धित निकायमा आग्रह गर्‍यौं,’ व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले भने, ‘शान्ति मन्त्रालयले शुरु गरेको हुनाले अब शिक्षाले हेर्न नमिल्ने रहेछ । अरु स्रोत जुटाउन समस्या छ ।’ यो दुई कोठे भवन निर्माणमा हालसम्म करीब रु १२ लाख खर्च भइसकेको उनले जानकारी दिए ।

कृषितर्फको ‘बाली विज्ञान’ विषय माध्यमिक (कक्षा १२) सम्म अध्यापन हुने जिल्लाको एक मात्र यो विद्यालय हो । बाली विज्ञान अध्ययनका लागि निकै टाढा–टाढाबाट विद्यार्थी आउने भएकाले विद्यालयले नै छात्रावासको व्यवस्था गर्नुपर्छ । विद्यार्थीका अनुसार कोठा अभावमा क्षमताभन्दा धेरै विद्यार्थी एउटै कोठामा कोचिएर बस्नुपरेको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस