रगतका लागि सेना प्रहरीकै भर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रगतका लागि सेना प्रहरीकै भर


२३ माघ २०७५, बुधबार


दुल्लु । दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ ।

सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल पुगेकी कार्कीलाई ‘ए’ नेगेटिभ रगत आवश्यक पर्‍यो । उक्त रगत जिल्लामा उपलब्ध नभएपछि उनलाई सुर्खेत सिफारिश गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले बताए ।

कार्की मात्र होइन, अस्पतालमा प्रसूति हुन पुगेकी नारायण नगरपालिका–१ की २१ वर्षीया नबीना केसीले अस्पतालले दिएको मितिअनुसार व्यथा लागेपनि बच्चा जन्माउन सकिनन् । दैलेख अस्पतालले शल्यक्रिया गर्ने सबै तयारी पूरा गर्‍यो तर उनलाई आवश्यक ‘बी’ नेगेटिभ रगत उपलब्ध भएन । रगत अभावपछि अस्पतालले उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत सिफारिश गर्‍यो ।

यस्तै नौमुले गाउँपालिका–४ की २५ वर्षीया मनकला रामजाली प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइपुगिन् । त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेले दैलेख अस्पताल सिफारिश गर्‍यो । उनको सामान्य रुपमा बच्चा जन्मिन नसकेपछि शल्यक्रिया गर्नुपर्ने भयो । रगतका लागि नेपाली सेनाको इन्द्रदल गुल्मलाई खबर गरियो । त्यहाँ पनि रगत उपलब्ध नभएपछि अस्पतालमा कार्यरत डा अनिल खरेलले आफैँले रगत दिएर उनको ज्यान बचाए ।

जिल्लामा ब्लडबैंक नहुँदा अस्पतालमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन् । चिकित्सक भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ रगतका लागि धाउने गर्छन् । ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । “स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रगत जुटाउन घण्टौँ लाग्छ,” डा खरेलले भने । अस्पतालको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रुपमा रक्तदान गर्दै आएको वषौृं वितिसक्यो । “बिरामीलाई रगत चाहिएमा सेना र प्रहरीलाई गुहाछौँ,” उनले भने। वर्षौंदेखि सेना र प्रहरीले नै ब्लडबैंकको रुपमा काम गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्री अस्पतालको मागअनुसार प्रहरी जवानले रक्तदान गर्दै आएको बताउँछन्। अस्पतालमा कार्यरत स्वास्थ्कर्मी, सेना र प्रहरीबाहेक अन्य पेशा÷व्यवसायीले प्रायःजसो रक्तदान गरेको पाइँदैन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत आवश्यक पर्छ । “बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्छ,” जिल्ला अस्पतालका डा पन्तले भने।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अस्पतालमा रगतको समस्या समाधान गर्नुका साथै अस्पताललाई सुविधासम्पन्न ५० श्ययामा विकास गर्न नगरसभाबाट पारित गरेर कर्णाली प्रदेश सरकारलाई पठाएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा सुविधा थप गर्नका लागि नारायण नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको बताए ।

सङ्कलित रगत पनि सुर्खेतमै

जिल्लामा बेलाबेला रक्तदान कार्यक्रम आयोजना गरिन्छ । यहाँका सामाजिक सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखलगायत युवाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । वि.सं. २०७२ जेठमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र दैलेखी युथले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए । रगत सुरक्षितसाथ राख्न नसक्दा सङ्कलित रगत सुर्खेत पठाउनुपरेको हो । समयसमयमा गरिने रक्तदान कार्यक्रममा सङ्कलित रगत पनि सुरक्षित राख्न नसकिँदा सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको डा पन्त बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस