चित्रमा ‘मिथिला कला’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चित्रमा ‘मिथिला कला’


प्रशासन संवाददाता

२२ माघ २०७५, मंगलबार


काठमाडौं । कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ ।

मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला संस्कृति र परम्परा विस्तारै अन्य समाजमा पनि फैलँदै छ । मिथिला क्षेत्रमा दैनिक जीवनमा नभई नहुने उक्त कलाको लोकप्रियता अहिले विश्वभरि नै फैलिएर प्राय महत्वपूर्ण क्षेत्रमा सङ्ग्रहित छ ।

तीन देशकदेखि यही कला क्षेत्रमा लागेका चित्रकार एससी सुमनले त्यही मिथिला क्षेत्रलाई समेटेर काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा १६ औँ चित्रकला प्रदर्शनी गरेका छन् । आर्ट पेपर र लोक्ता (नेपाली कागज) मा एक्रेलिक र मिक्स रङ घोलेर उनले तयार पारेका चित्रमा साँच्चिकै मिथिला झल्किन्छ ।

ती चित्रले मौलिक जीवनका कथा र संस्कृति बोलेको पाइन्छ । हालै मात्र एक लाख १० हजारमा बिक्री भएको एउटा चित्रमा उनले काठमाडौँ स्वयम्भूलाई विम्ब बनाएर यस्तै मौलिक संस्कृति पशुपति, जनकपुर क्षेत्रको संरक्षणमा ध्यानाकर्षण गराएका छन् । यहाँ उनका सात चित्र बिक्री भइसकेका छन् । प्रदर्शनी अझै १५ दिन सम्म चल्छ ।

सांस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मिथिलाको कला आफैँमा मौलिक हो । हिन्दू पौराणिक कथामा समावेश मिथिलाञ्चलको संस्कृति जोगाउन चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ । नेपालको लोक कलाको रुपमा चिनिने मिथिला कलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक छन् ।

त्यसैले लाखौँ खर्चिएर भए पनि मिथिला चित्रकला पारखीले खरीद गरेर लैजान्छन् । वर्तमान समयमा भने यसको मौलिकतासँगै आधुनिकतासमेत मिसिन थालेको चित्रकार एससी सुमन बताउछन् । उनका अनुसार चित्रकला कै कारण जनकपुरलगायत आसपासको मौसिकता संरक्षण हुँदै आएको पाइन्छ ।

पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै छन् । जनकपुरमा महिला चित्रकार धेरै छन् । जितकुमार शाह, पुनमकुमारी दास, सुनैना ठाकुर, श्यामसुन्दर यादव, मिथिलादेवी यादव र समसामयिकतर्फ हरिओम मेहतालगायतले कलामार्फत मिथिला क्षेत्रको मौलिक संस्कृति र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्दै आएका छन् ।

लोक्ता (नेपाली कागज) मा मसिनो ढङ्गले रङ भरेर सुन्दर आकृति बनाउनु कम्ता चुनौती छैन । सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सुमनका यस्ता मनमोहक दृष्यले दर्शकलाई लोभ्याएको छ । मिथिला क्षेत्रका मानिसले चाडपर्व, विवाहलगायत कुनै पुण्य कार्यमा यस्ता कला घर, आँगन भित्तामा कोर्ने मौलिक चलन हो । त्यसैलाई उतारेर चित्रकारले व्यावसायिकतामा ढालेका छन् ।

लोक्ता या क्यान्भास जुनसुकै माध्याममा भए पनि जीवन्त चित्रले दर्शकलाई तानेको हुन्छ । मिथिलाञ्चलबाट राजधानी छिरेका चित्रकार अहिले मिथिला कलालाई व्यावसायिक बनाउने प्रयासमा छन् । प्रचारप्रसारमा अझै कमी रहेको चित्रकार बताउँछन् ।

सिर्जनात्मक कला देखाउन सक्ने हो भने मिथिलाकलाबाट पनि आम्दानी गर्न सक्ने दाबी चित्रकारको छ । आधुनिकता दिने नाममा मौलिकता हराउन नहुनेमा चित्रकार एक मत छन् । मिथिलाको मौलिक कलामा पनि समय सान्दर्भिक परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस