‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो।’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो। तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई/तीनजनाले ज्यान गुमाउछन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यसवर्षमात्रै चार जनाले ज्यान गुमाइसकेका छन्। नदी वारपार गर्ने क्रममा गत वैशाख २४ गते व्यास–२ का ३५ वर्षीया शकुन्तला भण्डारी, असार १ गते दुहुँ–३ का १६ वर्षीय कञ्चन लोथ्याल, साउन १७ गते व्यास–५ का १८ वर्षीय रवि धामी र भदौ ११ गते महाकाली नगरपालिका–१ का ४५ वर्षीय जीतबहादुर बमको महाकाली नदी वारपार गर्दा ज्यान गएको हो।
विगतमा तुइनका कारण मृत्यु भएकाको तथ्याङ्क भने प्रहरीसँग छैन। तर, स्थानीय बासिन्दाका अनुसार हरेक वर्ष दुई तीनजना तुइनबाट महाकालीमा खस्छन् र ज्यान जान्छ। सरकारले २०७२ सालदेखि नै देशभरका तुइन विस्थापन गर्ने नीति लिएको छ। विसं २०७२ असोज २५ गते पहिलो पटक केपी शर्मा ओलीले देशको प्रधानमन्त्री हुँदा देशभरका तुइन दुई वर्षभित्र विस्थापन गर्ने घोषणा गरेका थिए। अहिले उनकै नेतृत्वको दुई तिहाइ जनमतसहितको शक्तिशाली सरकार छ। तर, यो अभियानले अपेक्षाअनुसार गति लिएको छैन। देशभर १८७ वटा तुइन रहेकामा अहिलेसम्म ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुल निर्माण भएका छन्।
तुइन विस्थापनको घोषणा गरिएको आव २०७२र७३ मा देशभरबाट कुल ५७ तुइन विस्थापित भए। दार्चुलामा महाकाली नदीमा एक र सहायक नदीहरुमा तीन ठाउँमा तुइन विस्थापन भए। यस्तै, २०७३र७४ मा देशभरबाट २५ ठाउँका तुइन विस्थापन भएको सरकारी तथ्याङ्क छ। दार्चुलाको महाकाली नदीमा भने यो वर्ष तुइन विस्थापन हुन सकेन। आव २०७५/७६ मा भने महाकाली नदीमा पर्ने लेकम गाउँपालिका–३ लालीमा झोलुङ्गे पुल निर्माण गरिएको छ। यो क्षेत्रको ट्युब विस्थापन हुँदैछ।
तुइन विस्थापनअन्तर्गत सर्भे तथा टेण्डर भएका महाकाली नदीका ५ ठाउँमा भारतीय सरकारले पुल निर्माणका लागि सहमति नदिँदा पुल निर्माण कार्य रोकिएको हो।
भौगोलिक रूपमा विकट व्यास गाउँपालिकाका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत गर्न बाध्य छन्। यहाँका करीब ५ हजार ३०० जनसङ्ख्याले महाकालीको तुइन प्रयोग गर्दैआएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० अन्तर्गत झोलुङ्गे पुल योजनाको तथ्याङ्कले देखाउँछ।
व्यास गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ का नागरिक अहिले पनि त्यही ज्यानमारा तुइनको सहारामा महाकाली वारपार गर्छन्। नेपालतिर सडकको कामले गति नलिँदा यस क्षेत्रका नागरिक दिनहुँ त्यही तुइन भएर आवतजावत गर्नुपरेको धामी बताउछन्।







