अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा अझै निर्णय नभएको भन्दै आपत्ति जनाए ।

उपनेता गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल संघीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएको भनी गुनासो गरे ।

देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उनले सोबारेमा जानकारी दिन आग्रह गरे ।

आफ्नो पार्टीका नेताका नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको आरोप लगाउँदै उपनेता गच्छदारले भने, ‘दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।’

सरकारले भने लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा योगदान गर्ने व्यक्तिका नाममा स्थापित संस्थालाई तलमाथि गर्ने कुनै निर्णय नभएको भनी यसअघि नै स्पष्ट पारिसकेको छ । उनको वक्तव्यलगत्तै प्रमुख प्रतिपक्षी काङ्ग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षीको अवरोधपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए । बैठक समाचार तयार गरुञ्जेल शुरु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस