नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकता « प्रशासन
prasaLogo
७ माघ २०७५, सोमबार

नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकता


प्रकाशित मिति : 21 January, 2019 7:00 am

सदाचार र नैतिकता

परिचय

सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार(इथिक्स) भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ ।
नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो ।

यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।

प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।

प्रशासकीय आचरण निम्न अनुसार ३ स्रोतबाट प्रवाह हुन्छ: 

१) व्यवसाय आफै
२) नियम, कानुन
३) व्यक्तिका विश्वास, मूल्य

सदाचार र नैतिकताको महत्त्व :

  • कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ ।
  • सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाउँछ ।
  • सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।
  • सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्दछ ।
  • सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।
  • महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँछ ।
  • सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ ।
  • सुशासन कायम गर्न सघाउँछ ।

नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको सम्बन्धमा भएको व्यवस्था :
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।

चालु चौधौँ योजनाले शासकीय सुधार अन्तर्गत प्रशासकीय सुशासन, वित्तीय सुशासन, भ्रष्ट्राचार नियन्त्रण आदि विभिन्न शीर्षकमा कर्मचारीलाई स्वच्छ, जनमुखी, उत्तरदायी, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त बनाउनको लागि लिइने विभिन्न रणनीति, कार्यनीतिहरू उल्लेख गरिएको छ ।

नेपालमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको स्थापना र अभ्यास गर्न सुशासन ऐन, २०६४, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, निजामती कर्मचारीको आचार सम्बन्धी नियमावली, २०६५ , राष्ट्र सेवकहरूको आचार संहिता, २०६८ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यी सबैमा भएको व्यवस्थाको अध्ययन गर्दा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

व्यक्तिगत व्यवहार तथा पदीय आचरण: 

  • तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने ।
  • सकेसम्म बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित नहुने ।
    अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारितासाथ पालना गर्नुपर्ने ।
  • सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएका आज्ञालाई शीघ्रता साथ पुरा गर्नुपर्ने ।
  • सबैप्रति शिष्ट व्यवहार देखाउनुपर्ने ।
  • सेवाग्राहीप्रति मर्यादित व्यवहार देखाउनुपर्ने ।
  • आफूमाथिका कर्मचारीप्रति आदर र आफू मूनिका कर्मचारी प्रति उचित व्यवहार देखाउनुपर्ने ।
  • जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रूपमा जाँडरक्सी सेवन गर्ने वा अन्य निन्दनीय काम नगर्ने ।

पेशागत आचरण: 

  • आफ्नो कामसँग सम्बन्धित सबै कानुनको जानकारी राख्नुपर्ने ।
  • पेसाको सम्मान गर्ने तथा आफ्नो क्षमता विकास गर्न प्रयत्नशील रहने ।
  • सरकारको आलोचना नगर्ने ।
  • सरकारी कामकाज सम्बन्धी समाचार अनधिकृत रूपमा प्रकाशन नगर्ने ।
  • खटाइएको कार्यालय वा स्थानमा गई काम गर्ने ।
  • सरुवा वा अवकाश हुँदा कानुन बमोजिम बरबुझारथ गर्ने ।
  • कानुन बमोजिम ट्रेड युनियन गठन गर्ने तथा त्यसमा सङ्गठित हुने तर दलीय राजनीतिमा संलग्न नहुने ।
  • कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्ने ।
  • कार्यालयका सामान तथा सुविधाको दुरुपयोग नगर्ने ।
  • कार्यालयमा तोकिए बमोजिम परिचयपत्र तथा पोशाक लगाउने ।
  • पेशागत कार्य गर्दा राजनीतिक तटस्थता कायम गर्ने ।

आर्थिक आचरण: 

  • नेपाल सरकारको स्वीकृति विना दान, उपहार, चन्दा, सापटी नलिने ।
  • नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै प्रकारको कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय नगर्ने ।
  • तोकिएको ढाँचामा निर्धारित समयमा सम्पत्ति विवरण पेस गर्ने ।
  • अचल सम्पत्ति खरिद गरेको जानकारी दिने ।
  • आफ्नो काम कारबाही आर्थिक रूपमा मितव्ययी तथा किफायतपूर्वक गर्ने ।
  • सार्वजनिक सम्पत्तिको संरक्षण र हिफाजत गर्न सदा तत्पर रहने ।

राजनीति सँग सम्बन्धित आचरण:

  • राजनैतिक वा अवाञ्छित प्रभाव नपार्ने ।
  • राजनीतिमा भाग नलिने ।
  • राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव नपार्ने । तर मतदाताको रूपमा मतदानमा भाग भने लिने ।
  • प्रदर्शन, हडताल, थुनछेक तथा घेराउ नगर्ने ।

सामाजिक आचरण:

  • बहुविवाह, बालविवाह र अनमेल विवाह नगर्ने ।
  • छुवा छुत तथा जातीय भेदभाव नगर्ने आदि ।

नेपालको निजामती सेवामा सदाचार र नैतिकताको सम्बन्धमा देखिएका कमीकमजोरीहरू 

नेपालको निजामती सेवामा सदाचार र आचरणको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:

  • सरोकारवालाको सहभागिता विना नै आचार संहिता निर्माण गरिन्छ र त्यसको आवश्यकता अनुसार सञ्चार पनि गरिँदैन । जस्तो राष्ट्र सेवक कर्मचारीको आचार संहिता, २०६८ ।
  • आचार संहिता सम्बन्धी अव्यवहारिक कुराहरू राख्ने गरिएको पाइन्छ । जस्तो: कर्मचारीले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था निजामती सेवा ऐनमा राखिएको भए तापनि त्यसको कार्यान्वयन गर्न कठिन हुने ।
  • आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गरिँदैन ।
  • बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको ।
  • कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको ।
  • राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको ।
  • कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर न्यून रहेको ।
  • विभिन्न ऐन कानुनहरूमा तादत्म्यता नहुनु, जस्तो सूचनाको हक सम्बन्धी ऐनमा गलत कुरा भएको थाहा पाउने बित्तिकै त्यसलाई सार्वजनिक गर्नुपर्ने प्रावधान छ तर निजामती सेवा ऐनमा सेवामा हुँदा मात्र होइन सेवा निवृत्त भएपछि पनि सरकारी सूचना गोप्य राख्नुपर्ने प्रावधान छ ।
  • दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ।
  • ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेको छ ।

सुधारको उपाय: 

  • सरोकारवालाको सहभागितामा आचार संहिता निर्माण गरी प्रभावकारी किसिमले कार्यान्वन गर्ने ।
  • आचार संहिता निर्माण गर्न धेरै आदर्शवादी कुरा राख्नुको सट्टा व्यवहारिक तथा कार्यान्वयन हुन सक्ने कुराहरू मात्र राख्ने ।
  • आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गर्ने र पालना नगर्ने कर्मचारीलाई कडा दण्डको व्यवस्था गर्ने ।
  • कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाको अन्त्य गर्ने । कर्मचारीलाई अवकाश दिने किसीमको बाहेक अन्य सानातिना सजायमा पनि लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थाको अन्त्य गर्ने ।
  • नेतृत्व आदर्शवान् तथा नैतिकवान हुनुपर्ने ।
  • विभिन्न मौद्रिक तथा गैर मौद्रिक उपायको अवलम्बन गरी कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर बढाउने ।
  • विभिन्न ऐन कानुनहरूमा तादात्म्यता कायम हुने गरी ऐन कानुनको निर्माण तथा परिमार्जन गर्ने र
  • ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेकोले निजामती सेवा भित्र एकल ट्रेड युनियनको व्यवस्था गर्ने ।

निष्कर्ष 

हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्गो शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता हो । यसो गर्न सके मात्र जनतामा परिवर्तनको प्रत्यक्ष अनुभूति हुनेछ र समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने दिशातर्फको हाम्रो यात्रा सही गन्तव्यतर्फ अघि बढ्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस