शान्ति सङ्ग्रहालय निर्माण गर्ने नगरपालिकाको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शान्ति सङ्ग्रहालय निर्माण गर्ने नगरपालिकाको निर्णय


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


गलेश्वर । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका २ घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ ।

बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई सुरक्षित गर्न बाढीको निकासका लागि व्यवधान बनेका स्थानीय मीन सापकोटा र विष्णु शर्माको घरलाई किनेर बाढीको सहज निकास गराउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले गण्डकी प्रदेश सरकारसँग लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टिलका पोल राख्ने योजना कार्यान्वयन गर्ने, बेनपा– ४ तातोपानी र ९ गलेश्वरमा प्रहरी चौकीको भवन निर्माणमा लागत सहभागिता जनाउने निर्णय भएको छ ।

सम्पत्ति तथा भूमिकरसम्बन्धी विवाद समाधानका लागि नयाँ सीमा र मापदण्ड निर्धारण गरिएको छ । बेनपा–२ पिपलडाँडामा शान्ति सङ्ग्रहालय बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने र विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थाका लागि आवश्यक वडामा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलिप्याड बनाउने निर्णय गरिएको छ ।

यसैगरी बेनपा–७ मङ्गलाघाटका रेशम बानियाँ र सम्झना पन्थ तथा बेनपा– ४ का केदार आचार्य र सुनिता सुवेदीले जन्माएका तिम्ल्याह बच्चाको उपचारका लागि रु ३०/३० हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको छ ।

बैठकले दुई कार्यविधि, एक निर्देशिका र एक मार्गदर्शन पनि पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका र पशुसेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित गर्ने निर्णय गरेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस