बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र निर्माण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र निर्माण


प्रशासन संवाददाता

२६ पुस २०७५, बिहिबार


दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ ।

गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताए । गाउँपालिकामा फोहरमैला सङ्कलन केन्द्र नहुँदा समस्या उत्पन्न भएपछि ५ रोपनी सार्वजनिक जग्गामा केन्द्र निर्माण गरिएको हो ।

‘फोहरमैला सङ्कलन केन्द्र नहुँदा चुँदी खोला नजिक जथाभावी फोहरमैला बिसर्जन गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘अब भने फोहरमैला व्यवस्थापनका लागि सहज हुने विश्वास गरिएको छ ।’

गाउँपालिकाको शहरी क्षेत्रबाट दैनिक दुई ट्र्याक्टर फोहर सङ्कलन हुने गर्छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले फोहरमैला केन्द्र निर्माण गर्न केही समय अघिदेखि नै प्रयास गरिएको भए पनि जग्गाको पहिचान हुन नसक्दा ढिलाइ भएको बताए । उनले भने,’सङ्कलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौँ, जसकारण केही समय ढिला हुन गयो ।’

उनका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्तिका लागि गाउँपालिकाभित्रका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन गाउँपालिकाले सहयोग गर्ने थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस