सामुदायिक प्रहरी साझेदारी कार्यक्रम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम


२६ पुस २०७५, बिहिबार


सुर्खेत । ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयले लागुऔषध र अवैध मदिराको बिक्री वितरण तथा ओसारपसारमा नियन्त्रण गर्न मातहतका २९ प्रहरी एकाइलाई सक्रिय बनाएको छ ।

प्रहरीले ‘शहर तथा गाउँ, शान्त, सुन्दर र सभ्य बनाउँ’ भन्ने सन्देश जिल्लाका गाउँ, बस्ती, टोल, विद्यालयसम्म पुर्‍याउनाका साथै पुस मसान्तसम्ममा जिल्लामा सम्पूर्ण बस्तीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

उक्त कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतका नौवटै स्थानीय तहमा सञ्चालन गर्दै आएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीको खोजतलास र कडा जाँचले अहिले लागुऔषध कारोबारी पलायन हुनाका साथै र दैनिक सयौँ लिटर जाँड रक्सी बरामद गरी नष्ट पार्न थालिएको र यसका उत्पादक, वितरक र प्रयोगकर्ता निरुत्साहित भएको वीरेन्द्रनगर नगरपालिका–५का कर्णबहादुर शाहीले बताए ।

“यसले अवैध धन्दा गर्नेलाई सचेत बनाएको छ”, शाहीले भने, “कानूनको प्रभावकारी कार्यान्वयन हुन थालेजस्तो महसुस भइरहेको छ ।” प्रहरीले बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति, शिक्षक, विद्यार्थी, महिला समूह, युवा सबैसँग अन्तरक्रिया गरेपछि छ महीनाको अवधिमा राम्रै सुधार देखिएको स्थानीयवासी राममाया बाँठा मगरले बताए ।

सामाजिक अपराधविरुद्धका ‘जिङ्गल’ प्रसारण, सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी कार्यक्रमबाट एक लाख २७ हजारभन्दा बढी यहाँका नागरिकलाई सचेत गराइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

त्यसैगरी प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा सामुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस