कठ्याग्रिदो जाडोमा जस्ता पातासँग रात काट्दै प्रहरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कठ्याग्रिदो जाडोमा जस्ता पातासँग रात काट्दै प्रहरी


प्रशासन विशेष ब्युरो

२५ पुस २०७५, बुधबार


कठ्याग्रिदो जाडोमा जस्ता पातासँग रात काट्दै प्रहरी

डोटी । जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका अधिकारीहरू आफै असुरक्षित र कठिनताका दिनहरू काटिरहेका छन् ।

सुत्ने भवन राम्रो नहुँदा चैत वैशाखको हुरी बतास र गर्मी होस् या पुस माघको ठन्डी नै किन नहोस्, जस्ता पाताले छाएको सामान्य भान्सा घरमा रात काट्न बाध्य छन् ।

आवश्यकता अनुसार आफ्नो भवन नहुँदा कर्मचारीहरूलाई राति सुत्नमा समस्या हुनका साथै प्रहरीले आफ्नो गर्नुपर्ने नियमित काम गर्नसमेत समस्या भइरहेको प्रस्टै देखिन्छ ।

कार्यालय र ब्यारेक भवन एउटै हुँदा कार्यालयले प्रवाह गर्ने सेवा सुविधामा असहजता हुनुका साथै यन्त्र नमुनाहरू सुरक्षित राख्न, तापक्रम मेन्टेन गर्न, अभियुक्त महिला पुरुष र बालबालिकाहरूलाई अलग अलग थुनुवा रूपमा राख्न समेत समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता लाल बहादुर धामी बताउँछन् ।

आफ्नो भवन नहुँदा नगर विकास समिति डोटीको भवनमा लामो समय देखी निवासका रूपमा प्रयोग गर्दै आएका उनले भने ‘प्रहरी प्रमुख बस्ने निवास पनि छैन ।’

‘प्रहरीको सुत्ने ब्यारेक भवन छैन,’ उनले भने, ‘म सहित, ईन्सपेक्टरहरु जिल्ला प्रशासन सुत्छौ ।’

कार्यालयका प्रहरी कर्मचारीहरू भान्सा कोठाको लागि निर्मित जस्ताले छाएको साधुरा कोठाहरूमा तीन/चारजना सँगै सुतिरहेका छन् ।

पानी पर्दा, बढी गर्मी हुँदा र चिसोमा अलि समस्या हुने गरेको एक प्रहरी अधिकारी बताउँछन् । आफ्नै सुत्ने ब्यारेक भवन नहुँदा कतिपय प्रहरीहरू दिनभरि डिउटी गरेर राति साथीभाइ तथा आफन्तको घर तथा बाहिर कोठामा गएर सुत्नु पर्ने बाध्यता रहेको उनीहरूको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी सुत्ने ब्यारेक भवन नभएको बारे सबै तहलाई जानकारी भए पनि भवन बनाउन पहल कसैले पनि नगरेको प्रहरी कर्मचारीहरूको गुनासो छ । उनीहरू भन्छन् ‘निरीक्षणमा आउँदा सबै हाकिमले हाम्रो अवस्था हेरेर जान्छन् तर पहल कसैले गरेनन् । दिनभरि काम गर्दा राति सुखले आराम गर्न नि मिल्दैन ।’

जिल्ला प्रहरी कार्यालयमा ५०/६० जना कर्मचारीहरू भान्सा कोठालाई सुत्ने ब्यारेक बनाएर कोचाकोच गरेर रात बिताउने गरेकाछन् । २०५१ सालमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवनसमेत जीर्ण अवस्थामा रहेको छ । उक्त भवनमा डिएसपी तथा इन्स्पेक्टर बस्ने कार्यालय कक्ष समेत नहुँदा दिनमा काम काज गर्न पनि समस्या हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

ग्रामीण क्षेत्रमा रहेका प्रहरीका भवनहरू सुधार भए पनि जिल्ला प्रहरी कार्यालय भवन तथा ब्यारेकको अवस्था भने कहिल्यै सुधार हुन सकेन ।

हाल डोटीमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका अपरपोष्ठ, प्रहरी चौकी, इलाका प्रहरी चौकी गरी १० वटा स्थानमा आफ्ना कार्यालय भवन भए पनि ४ स्थानमा आफ्ना भवन छैन, भएका कार्यालयहरूमा पनि इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिन ताली प्रहरी चौकी, दौड कार्यालय भवन जिर्ण र साधुरा छन् ।

भौतिक संरचना मात्र नभई कर्मचारीको अभाव पनि त्यस्तै छ । ३ सय ९६ जनाको दरबन्दी रहेको डोटीमा हाल विभिन्न दर्जाको गरी २७ जनाको दरबन्दी रिक्त रहेको छ भने डोटीको जनसंख्याअनुसार डोटीमा २ सय ५० जना भन्दा बढी जनशक्ति अभाव रहेको समेत प्रवक्ता धामीले बताए ।

जिल्लामा जिल्ला प्रहरी कार्यालयको आफ्नो आवश्यकता अनुसारको भवन नहुँदा सेवा प्रवाहमा पनि प्रभाव पर्न सक्ने जिल्ला सुरक्षा समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय प्रहरी प्रशासन हो, यी निकायहरूको गतिलो आफ्नो भवन र आवश्यकता अनुसार जनशक्ति नभए सेवा प्रवाहका साथै बापतका घटना, आपतकालिन घटनाहरूमा पनि छिटो छरितो रूपमा सेवा प्रवाहमा कठिनाइ हुन सक्ने उनले बताए । डोटी जिल्लाको शान्ति सुरक्षाको लागि सबै सुरक्षा निकाएका अङ्गहरू बिच समन्वय भई चनाखो अवस्थामा रहेको र डोटेली जनताले शान्ति सुरक्षाको मामिलामा पूर्ण रूपमा अनुभूत गरेको समेत प्रजिअ यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस