‘बरु यतै मागेर खान्छु’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘बरु यतै मागेर खान्छु’


२५ पुस २०७५, बुधबार


काठमाडौं । “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भनिन् ।

नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उनी भेटिइन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जाउँ हाम्रो घर भन्दा उनले मानिन् । “म जान्नँ, मेरो आफ्नै घर छ, भोलि बिहान जान्छु,” ती महिलाले भनिन् । उनले नटेरेपछि महिला प्रहरीले उनलाई जबर्जस्ती उठाएर लगे।

काठमाडौंको सङ्कटामा भेटिएकी अर्की महिलाले पनि सडकमै राम्रो भएको र यही मागेर खाने बताइन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले ‘मन नलागे भोलि आउनुहोला, आजचाहिँ जाउँ है’ भनेपछि अर्को दिन फर्कने शर्तमा उनी गाडीमा बसिन् ।

म्याग्दी बेनीका सुवास सापकोटा मङ्गलबार राति सडकमा भेटिए । प्रहरीले फेला पारेर उद्धार गरिएका सापकोटा फाटेको लुगामा थिए । काम खोज्दा कसैले नदिएपछि सडकमा बस्न बाध्य भएको उनले दुखेसो पोखे । यी विभिन्न उदाहरण हुन् । यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको सङ्ख्या काठमाडौंमा अत्यधिक छ । सडकमा यसरी रात बिताउँदै आएकाहरु सहजरूपमा सडक छाडेर जानै मान्दैनन् ।

चिसोका कारण काठमाडौंमा दुई जनाको अकालमा ज्यान गइसकेको छ । महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई असक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ । सडकमा बस्नेहरु सहजै जान नमान्ने भएकाले उनीहरुलाई जबर्जस्ती उठाउनुपर्ने अवस्था रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौला बताउँछन् ।

कतिपय अवस्थामा आश्रममा स्वयंसेवीले उठाउनै नसक्दा सडकमै छाड्नुपर्ने अवस्था रहेको अनुभव उनीसँग छ । सडकमा जीवन गुजार्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिले काठमाडौंमा सञ्चालन गरिएको अभियान मङ्गलबार राति पनि जारी रह्यो । मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ ।

यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ । पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ । सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ । सडकमा कतिपय वास्तविक पीडित भेटिएका छन् । धेरैजसो माग्ने पेशा बनाउनेहरु रहेकाले उनीहरुलाई सडकमै आउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ ।

महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले लामो समयदेखि अभियान नै चलाएको छ । सडकमा असहाय असक्त निकै कम भए पनि पेशा बनाएर बस्ने धेरै रहेको कोषका सदस्यसचिव डा ढकाल बताउँछन्। घरायसी झगडा, हिंसालगायत आफैँ बिरक्तिएरसमेत वृद्धवृद्धा सडकमा आइपुगेका छन् । मानसिक सन्तुलन गुमाएका पनि सडकमै पुग्ने गरेका छन् । कतिपयचाहिँ माग्ने पेशा बनाएर सडकमा आएका छन् भने कतिपयलाई माग्न लगाएर पेशा गर्ने पनि छन् ।

आश्रमले मागेरसमेत खान नसक्ने र मानसिक सन्तुलन गुमाएकालाई उद्धार गरी संरक्षण दिँदै आएको छ । “अन्य व्यक्तिलाई राख्न सक्ने अवस्था छैन,” बर्तौला बताउँछन् । माग्ने पेशा बनाएकालाई भने सडकबाट निरुत्साहित गर्नुपर्नेमा उनको जोड छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामा विभिन्न आश्रममा समन्वय गरेर सडकमा रात बिताउन बाध्य भएकाको उद्धार गरिने बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस