भत्ता उपलब्ध गराउँदै सहकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भत्ता उपलब्ध गराउँदै सहकारी


२४ पुस २०७५, मंगलबार


पाल्पा । रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो ।

रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभैँसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो सहकारीले प्रतिपशु रु ५०० उपलब्ध गराउँदै आएको थियो । “चालू आवदेखि रु ६०० भत्ता उपलब्ध गराउँदै आएका छौँ,” सहकारीका व्यवस्थापक भवीनारायण मरासिनीले भने ।

सञ्चालक समिति सदस्य दुर्गादेवी आचार्य पशु ब्याउँदा पाएको रकम स्याहारसुसारमा खर्चिने गरेको बताउँछन् । रामपुर–८ का पदमराज खनाल पशुभत्ता बापतको रकमबाट पोसिलो आहाराको जोहो गरेको बताउँछन् । सो सहकारीले २०७२ साउनयता किसानलाई रु एक लाख १६ हजार पशुभत्ता बाँडेको छ । “पशुको स्याहारसुसार गर्न मद्दत पुगोस् भनेर भत्ता उपलब्ध गराएका हौँ,” सहकारीका पशुधन सुरक्षण कार्यक्रमका संयोजक नगीलाल पौडेलले बताए ।

पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत पशुको बीमा पनि गरिन्छ । बीमित पशु मरेको अवस्थामा किसानलाई ८० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने गरिएको छ । सो सहकारीमा ३३२ शेयर सदस्य आवद्ध छन् । आव २०७४÷७५ सम्म ३६४ गाई र १८५६ भैँसीको सहकारीमार्फत बीमा गरिएको छ । चालू आवको अहिलेसम्म १९८ गाईभैँसीको बीमा भइसकेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस