कोरिया छाडेर खोरियामा रमाउँदै बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरिया छाडेर खोरियामा रमाउँदै बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्य


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


बलेवा ।  ५ वर्ष पहिला कोरिया पुगेका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए। काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरिया पुगेका थिए । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य २ वर्षपछि घर फर्केका थिए ।

कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्के । उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उनले १० बाख्रबाट बाख्रापालन थालेका हुन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु ३ लाख खर्चिएका थिए । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उनले कुखुरापालनसँगै तरकारीखेती गर्दै आएका छन् ।

‘बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,’ उनले भने । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आएका छन्’महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,’ उनले भने । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उनीलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उनको काममा श्रीमती हेमाले सहयोग गर्दै आएका छन् ।

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्छन् । ५ मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । ‘झण्डै २ सय केराको बिरुवा लगाएको छु,’ उनले भने, ‘ २ वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।’ लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उनी बताउछन् । समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस