डोटी । “म न्यायिक समितिको संयोजक हुँ तर मलाई न्यायिक समितिको कार्य प्रक्रियावारे अहिले पनि थाह छैन । उजुरी आउँछन्, अलमलमा पर्छु । एउटै उजुरी किनारा लगाउन धेरै समय लाग्छ ।” डोटी शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलले कानुनी ज्ञानको अभाव र कार्य प्रक्रिया राम्रोसंग नवुझ्दा काम गर्न निकै समस्या भएको बताईन । उनले थपिन् ‘जनताले प्रतिनिधि भनेर त पठाए तर प्रतिनिधिले गर्नु पर्ने कामबारे कसैले जानकारी गराएन ।’ उनी बर्तमान राजनीतिक व्यवस्था र कानुनी प्रक्रियाबारे जनप्रतिनिधिहरुका साथसाथै स्थानीय समाजसेवी बुद्धिजीवीहरुलाई पनि तालिम दिनु पर्ने बताउँछिन् ।
दिपायल सिलगढी नगरकार्यपालिका सदस्य हिरा मलासी भन्छिन् ‘निर्वाचित भएको डेढ बर्ष भईसक्यो तर हामीले के के काम गर्नु पर्छ भन्नेबारे अझै अन्यौल छ ।’ उनी स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई राखेर महिला जनप्रतिनिधिहरुको काम, कर्तव्य र जिम्मेवारीका बिषयमा ज्ञान दिनु पर्ने बताउँछिन् ।
हिराको जस्तै विचार छ दिपायल सिलगढी नगर कार्यपालिका सदस्य दिपा श्रेष्ठको पनि । उनी भन्छिन् ‘हामीले वडा तहमा पनि आफ्नो उपस्थिति देखाउन सकेका छैनौं ।’ महिला जनप्रतिनिधिहरुले पुरुष जस्तै खुलेर काम गर्न नसकेको उनको भनाई छ । उनी भन्छिन् ‘कतै जान थाल्यो घरबाट रोक्ने, साँझ अलि ढिलो भयो काँ के भनेर खोजी गर्ने हाम्रो समाजमा महिलाहरु जनप्रतिनिधि भएर मात्रै केही हुँदो रहेनछ ।’
महिला जनप्रतिनिधिहरु अहिले पनि पुरुषको ईसारामा हिड्नु पर्ने बाध्यता रहेको दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासी बताउँछिन् । ‘अहिले जनप्रतिनिधि महिलाहरुनै हिंसामा पर्नु पर्ने अवस्था आएको छ’ नगर प्रमुख मलासीले भनिन् ‘चेतनाको कमीका कारण महिला जनप्रतिनिधिको परिवारबाट उनीहरुमाथी अनेक हिंसा हुने गरेको छ ।’ उनले परिवारका अन्य महिलाहरुबाट नै महिला जनप्रतिनिधिहरुमाथी दवाव आईरहेको बताईन् ।
आफु नगर प्रमुख भएको डेढ बर्षसम्म कुनै वडाबाट पनि महिला नेतृत्व विकासका लागि कार्यक्रम नआएको भन्दै उनले भनिन् ‘महिलाहरु आफ्नो उपस्थिति देखाउन सकिरहेका छैनन् । ‘युएन वुमेन, सर्च फर कमन ग्राउण्ड र फाया नेपाल’द्वारा महिला जनप्रतिनिधिहरुको नेतृत्व प्रवर्द्धनका लागि दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र बडीकेदार गाउँपालिकामा सञ्चालन हुन लागेको “हाम्रो नेतृत्व” कार्यक्रमको सुरुवाती बैठकमा उपस्थित अधिकांश महिला जनप्रतिनिधिहरुले आफुहरुका धेरै समस्याहरु रहेको बताए । जिल्ला समन्वय समिति उपप्रमुख सशी सोवले राजनीतिक दलहरुले टिकट दिँदा सक्रिय राजनीतिमा लागेका महिलाहरु भन्दा बाहिरबाट छोपेर उम्मेदवार बनाएका कारण पनि यस्तो समस्या आएको बताईन । ‘राजनीति गरेका महिलाहरुले केही प्रक्रिया बुझेका थिए’ उपप्रमुख सोवले भनिन् ‘तर दलहरुले चुनाव जित्नु पर्ने सोचका साथ भुगोल, जात, समुदाय हेरेर उम्मेद्वार बनाउनु पर्ने अवस्था आयो ।’ उनले ‘हाम्रो नेतृत्व’ कार्यक्रमले महिला जनप्रतिनिधिका साथसाथै महिलाहरुको भावी नेतृत्व पनि तयार गर्नु पर्ने बताईन ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले कार्यक्रमको सफलताको कामना गर्दै महिलाहरुले तालिमका भत्ताका लागि मात्रै सहभागी नभई आफ्नो क्षमता बढाउनका लागि सक्रिय सहभागी हुनु पर्ने बताए । ‘धेरै जनप्रतिनिधि दिदीबहिनीहरुले धेरै प्रकारका तालिम लिनु भएको छ’ प्रमुख ऐरले भने ‘तर ति तालिमहरुमा भत्ता बुझ्नका लागि मात्रै सहभागी भएको जस्तो भयो ।’
कार्यक्रम अन्तरगत महिलाहरुले भोगिरहनु परेको अप्ठेराहरुको अध्ययन गर्ने, उनीहरुको आवश्यकता पहिचान गरी बिभिन्न तालिमहरु सञ्चालन गर्ने र महिला जनप्रतिनिधिहरुको साझा मञ्च निर्माण गर्ने फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले जानकारी दिए । कार्यक्रम अन्तरगत जिल्लाको लैङ्गिक पाश्वचित्र निर्माण गरिने र महिला जनप्रतिनिधिहरुलाई प्रोत्साहन हुने खालका समाचार सामग्रीहरु सम्प्रेषणका लागि मिडियालाई समेत परिचालन गरिने हाम्रो नेतृत्व कार्यक्रमका संयोजक सच्चिदानन्द जोशीले बताए ।







