महिलाहरूलाई सिडियोको आग्रह -हिंसा भए फोन गर्नुहोस् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिलाहरूलाई सिडियोको आग्रह -हिंसा भए फोन गर्नुहोस्


प्रशासन विशेष ब्युरो

२१ मंसिर २०७५, शुक्रबार


हिंसा

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले महिलाहरूले आफूमाथि हुने घरेलु हिंसा सहेर बस्न नहुने बरु सम्बन्धित स्थानीय निकाय, प्रहरी प्रशासनलाई फोन गरेर जानकारी दिन आग्रह गरेका छन् ।

आज शिखर नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले जिल्लाको अवस्था हेर्दा यदाकदा केही महिला दिदी बहीनीहरु लैङ्गिक तथा घरेलु हिंसामा पर्ने गरेका छन् तर खुलेर आउँदैनन् त्यसैले हिंसा लुकाउने होइन हिंसाको बारेमा सम्बन्धित निकाएलाई जानकारी गराए हिंसाका विरुद्धमा लड्न सकिने बताए ।

महिलाहरू पुरुषबाट पीडित त हुन्छन् नै तर डोटीमा केही घटनाहरूमा महिलाबाट महिला नै पीडित भएको देखिन्छ त्यसैले यस्ता घटनाहरू न्यूनिकरणमा सबै लाग्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए । उनले भने “हाम्रा केही पुराना उखान छन् छोरा भए खसी छोरी भए फर्सी, खुट्टा छ भने जुत्ताको के अभाव भन्नेजस्ता उखान छन् यस्ता कुरुती, कुसंस्काको विरुद्धमा हामी सबैले आवाज उठाउनु पर्छ तब मात्र हिंसाका घटनाहरूमा न्यूनिकरण आउँछ ।”

महिलाहरूको क्षमता विकास र लैङ्गिक हिंसाको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने “हाम्रो उद्देश्य भनेको समाजमा रहेका महिला पुरुषहरू बराबर हुन्, भेदभाव गर्नु हुन्न, घर परिवारमा झै झगडा गर्नु हुन्न, पुरानो कुरुती कुसंस्कारका विरुद्ध एक जुट हुनु पर्छ भन्ने हो, समाजलाई टुटाउने होइन जुटाउने हो त्यसैले सामाजिक हितका सवालमा सबैले सहयोग गर्नुपर्छ नगरपालिकाले पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने बताए । ”

शिखर नगरपालिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई ग्रामीण महिला विकास एकता केन्द्र रुडुक, सम विकास केन्द्र डोटी र युनाईटेड मिसन टु नेपाल डोटीले पनि सहयोग गरेको थियो । कार्यक्रममा स्थानीय बासी महिलाहरू र सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो ।

मङ्सिर ९ गते देखि २४ गते सम्म चल्ने लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा डोटी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भोलि जिल्ला सदरमुकाम सिलगढीमा लैङ्गिक हिंसाका सवालमा साझा बहस कार्यक्रमको आयोजना समेत गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस