धादिङ । नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजनाका साथ एकीकृत नगर विकास योजना सार्वजनिक गरिएको छ ।
नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा आयोजित सार्वजनिक कार्यक्रममा नगरप्रमुख ढुङ्गाना, उपप्रमुख मनराज भण्डारी, प्रजिअ भागिरथ पाण्डे र जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले सामूहिकरुपले दशवर्षे कार्ययोजना पुस्तिकाको सार्वजनिकीकरण गरेका थिए ।
योजना तथा कार्यक्रममा दश वर्षभित्र नगरपालिकाका १४ वटै वडालाई सडक सञ्जालसँग जोड्न, सबै नगरवासीलाई खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने, स्वास्थ, शिक्षा र सिँचाइमा नगरवासीको सहजै पहुँच पु¥याउने, विद्युत् सेवा इन्टरनेटसहितको सञ्चार सुविधा उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ ।
त्यसैगरी बजार क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने, व्यवस्थित मसानघाट निमार्ण गर्ने, सुरक्षित बधशाला, पार्किङ निर्माण, स्थायी डम्पिङ साइड निर्माण, बसपार्क तथा प्रतिक्षालयको निर्माणजस्ता अति आवश्यक कार्य सम्पन्न गर्न करीब रु २६ अरब छ करोड ६९ लाख लाग्ने अनुमानसमेत गरिएको छ ।
नगरवासीको उपस्थिति रहेको कार्यक्रममा उपप्रमुख भण्डारी, प्रमुख ढुङ्गाना, प्रजिअ पाण्डे, जिससका प्रमुख नेपाललगायतका व्यक्ताले योजना पुस्तिकामा उल्लेख गरिएको योजना सम्पन्न गर्न आआफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । रासस







