व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ ।

नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिए । वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो ।

बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि सङ्घको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो । अध्यक्ष ढुङ्गानाले भने, “व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन् ।” यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।

यस्तै बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ । यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस