लोक सेवा तयारी : कसरी पढ्ने, के पढ्ने ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा तयारी : कसरी पढ्ने, के पढ्ने ?


रोसन कुशवाहा

३० कार्तिक २०७५, शुक्रबार


लोक सेवा तयारी

लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो । लोक सेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ । यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् ।

असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, अन्य असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । त्यसो भए लोक सेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यसको लागि पाठ्य सामग्री चयनमा ख्याल गर्नुपर्छ ।

के पढ्ने ?
हामी जुन पदको लागि जाँच दिँदैछौं । सो पदको सबै पाठ्यक्रम समावेश भएको साधारण भाषामा लेखिएको पुस्तकलाई आफ्नो प्रारम्भिक पाठ्य सामग्री बनाउने । यदि यस्ता सामाग्री एउटै पुस्तकमा उपलब्ध हुँदैन भने एकभन्दा बढी पुस्तक प्रयोग गर्ने । यसले पाठ्यक्रमका सबै विषयको सामान्य जानकारी गराउँछ ।

आफूसँग उपलब्ध हुने दैनिक पत्रिकाका सबै हेडलाइनमा हेर्ने । पाठ्यक्रमसँग सम्बन्धित विषयलाई राम्रोसँग पढ्ने । आवश्यक भए नोट बुकमा टिपोट समेत गर्ने ।

कुनै लेख पढ्दा ती लेखको पाठ्यक्रमसँगको सम्बन्ध खोज्ने, टिपोट गर्ने र सम्झने ।

यी कामले हामीलाई पाठ्यक्रमसँग अभ्यस्त गराउँछ । हर विषय कुनै न कुनै रूपमा सम्झिरहन सकिन्छ ।

अब विश्लेषणत्मक किताव पढ्नु आवश्यक हुन्छ । यस्ता कितावहरू दुई किसिमका हुन्छन् । पहिलो, जसमा सैद्धान्तिक पक्ष समेत हुन्छ । यस्ता पुस्तकहरू विदेशी लेखकका भए झनै राम्रो । यदि विदेशी पुस्तक पढ्न गाह्रो छ वा अंग्रेजी भाषामा पढेर नेपाली भाषामा उत्तर दिन असजिलो हुन्छ भने लोक सेवा प्रणाली बुझेका, लोक सेवाको परीक्षामा अब्बल सावित भएका लेखन कार्यलाई नियमितता दिइरहेका नेपाली लेखकको विश्लेषणत्मक पुस्तक पढ्नुपर्छ । यस्ता पुस्तक पढ्दा सामान्य पुस्तक पढ्दा प्राप्त भएको ज्ञानलाई विस्तार गर्ने, अन्तरसम्बन्ध पत्ता लगाउने र परीक्षामा अरुभन्दा राम्रो लेखनसीप विकास हुन्छ । यस्ता नेपाली पुस्तकहरूमा बाबुराम अर्यालको ‘प्रशासनका परिवेश विगतदेखि संघीयतासम्म’, दामोदर रेग्मीको ‘संघीय शासन प्रणाली, सुशासन र विकास’, गोविन्द राम अग्रवालको ‘व्यवस्थापन’ चर्चित र अति सहयोगी छन् । साथै प्रशासन डट कम अनलाइन, गोरखापत्र दैनिक तथा अन्य पत्रिका तथा अनलाइनमा प्रकाशित लेखहरू पढ्नुपर्छ ।

पाठ्यक्रममा भएका ऐन, नियम र नीतिहरू पढ्ने । सुरुमा ऐन, नियम नीति पढ्न र बुझ्न कठिन हुन्छ पछि बानी बस्दै जान्छ ।

यसको साथै महत्वपूर्ण निकायका वेवसाइटमा रहेका महत्वपूर्ण सामाग्री, जर्नल आदि पढ्नुपर्छ ।

अरु तयारी
पढेर मात्रै लोक सेवाको तयारी पुग्दैन । पढेका कुराको टिपोट गर्ने, लेख्ने बानी बसाल्ने, अक्षर सकभर राम्रो बनाउने, सोधिएका प्रश्न संख्या र अंकभार बमोजिम समय व्यवस्थापन गर्ने, उत्तरको आकारलाई प्रश्न अनुसार व्यवस्थित गर्ने, जानेको प्रश्न आयो भने लम्बेतान उत्तर लेख्ने र नजानेको आए छोड्ने वा अति छोटो लेख्ने नगर्ने ।

प्रत्येक विषयलाई राम्रोसँग बुझेर लेख्ने, प्रश्न सकभर दुई पटक पढ्ने र राम्ररी बुझ्ने, लेख्दा नआत्तिने, यी सवै काम गर्दा पनि कुनै कारणवस असफल भएमा अर्को पटक प्रतिस्पर्धा गर्न नडराउने आदि गरेमा सफलता हासिल हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस