श्रावण ८ गते, २०७६

चित्रकारको आँखामा खोकनाका दृष्य

खोकना । ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ ।

विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आएपनि यहाँको विशेषता अझै हटिसकेको छैन । सुन्दर फाँट र उर्वरभूमि क्रमशः खुम्चिदै छ । यहाँ क्रङ्क्रिट भवनले ढाक्दैछ ।

यही कारण चित्रकारलाई यसपाली खोकनाले आकर्षित गरायो । “पाँच वर्षअघिको हराभरा अहिले धेरै हराइसके, अब २/४ वर्षमा खोकनाको प्राकृतिक सुन्दरता मेटिन्छ, दृष्यमा भने पनि कैद गर्नुपर्‍यो”, खोकनाको सुन्दरता चित्रमा उतार्दै कलाकार केशवराज खनालले भने।

यहाँको सुन्दरताको मोहले २० जना चित्रकार शनिबार खोकना पुगे । ‘स्थलगत चित्रकला कार्यशाला’मा सहभागी उनीहरु चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्दैनन् । कलाकारका गुरु प्रकृति हो । त्यही प्रकृति चित्रमा उतार्न उनीहरुले आठौँ शृङ्खला खोकनालाई छाने ।

अहिले खोकनाको फाँट सुनौलो संसारझै छ । पहेंलपुर धानले भरिएको फाँटको सुन्दरता शब्दमा उतार्न सकिँदैन । फाँटका बीचबीचमा किसान धान भित्र्याउने चटारो यत्रतत्र देखिन्थे । कतै बस्तु चराउनेको भीड थियो । आन्तरिक र बाह्य पर्यटक विभिन्न मठमन्दिरको दर्शन र दृष्यावलोकनमा मग्न थिए । नवजोडीहरु प्रेमरसमा डुबेका थिए । पल्लो पाखाको हात्तीवन र चम्पादेवी डाँडो, क्षितिजमा देखिने फुलचोकी, नजिकै रहेको सिकाली र रुद्रायणी मन्दिर, माथिल्लो पाखामा बस्ती र बीचमा खोकनाको खासी फाँट आफैँमा सुन्दर छ । दृश्य उतार्न कलाकार विभिन्न समूहमा बाँडिएका थिए ।

प्रकृतिमा यति धेरै कला हुन्छ, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर दृश्य दृश्य उतार्न चुनौती हुन्छ । छिनछिनमा प्रकृति फेरिन्छ । “हरेक रुख हरियो नै हुन्छ तर त्यसका हरियोका रङ्गहरु फरक–फरक हुन्छन्, चित्रमा उतार्नुु नौलो सिकाइ हो”, सुन्दर फाँट र सिकाली मन्दिर चित्रमा कैद गर्दै कलाकार रामकृष्ण थापाले भ।

वि.सं. २०५३ देखि ललितकलाको शिक्षासँग चित्र कोर्न थालेका थापालाई प्रकृतिमा बसेर चित्र उतार्न औधी मन पर्छ । शनिबारे खोकना अभियान पनि उनले छुटाएन । कलाकारलाई लाग्छ, सबै विधाको गुरु नै प्रकृति हो । आँखाले देख्ने रङ्गहरु यहाँबाट सिक्ने हो । कलाको निखारता प्रकृतिले दिन्छ ।

स्थानीय अनुभवी भरत गिरी र ज्ञानरत्न महर्जनले खोकनाको विशेषताबारे बताइसकेपछि कलाकारले यहाँका सुन्दर दृश्यलाई दिनभर लगाएर चित्रमा उतारे । यहाँका रहनसहन, जीवनशैली, इतिहास पनि चित्रमा कैद भएका छन् ।

“अहिलेका सुन्दर फाँट नै भोलिका इतिहास हुन्, यहाँ घर भरिएपछि यो फाँट हराउँछ, बाँकी रहन्छ त हाम्रा चित्र”, विगतका उदाहरण प्रस्तुत गर्दै अर्का कलाकार राकेशचन्द्र श्रेष्ठले भने। कलाकारको अनुभवमा सरकारको नीति भूमि संरक्षण गर्ने खालको छैन । जसले जहाँ पायो त्यही घर बनाइदिन्छन् । त्यसैले महत्वका चिज विस्तारै हराउँदै चित्रमा सीमित हुन्छन् । त्यही चित्र कलाकारले कोरिरहेका छन् ।

शनिबारीय अभियान राकेशमान र दिवेशमानसिंह प्रधानको कल्पना हो । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएकाहरू यो समूहमा छन् । कलाकारको स्वतफूर्त समूह हो । करीब ४०० सदस्य रहेको फेसबुक समूह छ । हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ ।

जुन ठाउँका लागि बढी मत जान्छ उनीहरु त्यही ठाउँमा चित्र कोर्न पुग्छन् । त्यही बनाएका चित्रको बिक्री र आफ्नो व्यवसायबाट केही रकम कटौती गरेर अभियानलाई अगाडि बढाइएको छ ।

यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु पुगेर उनीहरूले यसैगरी चित्र कोरिसके । अभियानलाई दिगो रूप दिने प्रयासमा कलाकार लागेका छन् ।

कार्तिक ११ गते, २०७५ - १२ः०८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg