सय वर्षभन्दा लामो इतिहासको साक्षी कालिका मन्दिर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सय वर्षभन्दा लामो इतिहासको साक्षी कालिका मन्दिर


३१ आश्विन २०७५, बुधबार


पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराको सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो, यहाँको कालिका मन्दिर ।

पछिल्लो समय बजारीकरणको विकास र विस्तार भए पनि यहाँ बस्ती बस्नुअघिदेखि नै अस्तित्वमा रहेको यो मन्दिर स्थापनाको वास्तविक तिथि मिति भने अझै अनुसन्धानको पर्खाइमा छ ।

पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको यो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँका उत्पादित कृषिजन्य दूध, तरकारीआदि पोखरा बजारमा निकै माग हुन्छ । व्यावसायिक कृषिको विकाससँगै यो क्षेत्र दूधको शहरका रुपमा परिचित बनेको छ ।

बजारीकरणको विकास विस्तार भए पनि कालिकास्थान र यहाँ वरपरको सय वर्षभन्दा पुरानो इतिहासको ज्वलन्त उदाहरण कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बाघमारामा बस्ती बस्नुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको मन्दिर यहाँको महत्वपूर्ण सम्पदा रहेको स्थानीयवासी एवम् कालिका मन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताए ।

“कालिका मन्दिरको इतिहास खोतल्दा यो सय वर्षभन्दा पनि पुरानो भएको धेरै प्रमाण छन्,” उनले भने, “स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आइएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित दुईवटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।”

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् । अर्का स्थानीयवासी एवम् सरस्वती टीका माध्यमिक विद्यालयका शिक्षक सूर्यमोहन आचार्य प्राचीन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउँछन्। उनका अनुसार कालिका देवीको मन्दिरकै कारण यस स्थानको नाम कालिकास्थान रहन गएको हो ।

समुदायको उन्नति र प्रगतिको कामना गर्दै यहाँका भक्तजनले पाँच पाँच वर्षमा पञ्चबलि दिने गरेका छन् । हरेक चैते दशैँको पाँच वर्ष पुगेपछि पञ्चबलि दिने गरिन्छ भने प्रत्येक चैते दशैँमा पाठाको बलि दिने प्रचलन छ । आश्विन शुक्ल पक्षका अवसरमा नवदुर्गामा नियमित दुर्गा पाठ गर्ने गरिएको आचार्यले जानकारी दिए।

उनका अनुसार हालको मन्दिरको पाटी सरस्वती भुषालले, मूर्ति मणिराज आचार्य (ठूलो)ले बाघको मूर्ति पदमराज पौडेलले र विभिन्न शङ्ख घण्टा भक्तजनबाट प्राप्त भएका छन् । मन्दिर नजीकै रहेको सरस्वती टीका मावि र सरस्वती टीका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ । गुणस्तरीय शिक्षाका लागि क्रियाशील बन्दै गएका यी शैक्षिक संस्थाले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

समुदायको रक्षा र सुख–शान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र गति लिएको पाइन्छ । शुरु शुरुमा औलोंको प्रकोप हुने लगायतका कारणबाट मानिस पाखामा बस्ने गरेकामा यसको नियन्त्रणमा सरकारी प्रयास शुरु भए पनि बेशीँतिर झर्ने प्रचलन बढेको हो ।

प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने पोखरा–३३ भरतपोखरी वर माझथरका गुरुप्रसाद पौडेलले बताए । प्रत्येक शक्तिपीठमा भक्तिको मात्राअनुसार नै शक्तिको वृद्धि हुने बताउँदै उनले इतिहासको जगेर्ना गर्दै युवा पुस्तामा भक्तिभाव एवम् श्रद्धाभाव बढाउनु अपरिहार्य भएकोमा जोड दिए ।

बाघमाराको विकाससँगै यसको इतिहासको साक्षी कालिका मन्दिरको गरिमा र महत्वलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस