आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण


१४ श्रावण २०७५, सोमबार


बेरुत । सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले महिला र बालबालिका गरी ३६ जना अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार सो जानकारी दिएको छ ।

केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ । यी आक्रमणहरूमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताए । सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा प्रान्तका केही दिनदेखि लगातार आत्मघाती आक्रमण, गोलाबारी र अपहरण जस्ता घटना जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट तीन लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो ।

सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो । विश्वका महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो ।

गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौं सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस