उपसचिवको दुःख दिने नियत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसचिवको दुःख दिने नियत


प्रशासन विशेष ब्युरो

२८ असार २०७५, बिहिबार


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडिको सडकपेटीमा पार्किङ गरिएका गाडीको विवरण बुझ्न खोज्दा मंगलबार जानकारी लिन खोज्दा एक उपसचिवको दुःख दिने नियत देखियो । उनको व्यवहारबाट ‘खराब कर्मचारीले सेवाग्राहीलाई कसरी दुःख दिन्छ’ भन्ने कुरा बुझ्न पाइयो ।

मन्त्रालयका प्रवक्ता मिटिङमा भएकाले प्रशासनका सहसचिव रुद्रबहादुर तामाङकहाँ पुग्यौं । उनले आन्तरिक व्यवस्थापन शाखाका उपसचिव ईश्वरकुमार गिरीबाट जानकारी लिन सुझाए । हामीले उपसचिव गिरीलाई भेटेर मन्त्रालयका सवारी प्रयोग गर्ने कर्मचारीको लिस्ट माग्यौं । उनले सुरुमा मन्त्रालय तथा त्यसअन्तर्गतका निकायमा धेरै सवारी भएकाले एकिन गर्न महिना दिनसम्म लाग्ने बताए ।

त्यसपछि हामीले मन्त्रालयमा मात्रै भएका सवारी र प्रयोगकर्ताको नाम माग्यौं । उनले २०–२५ गाडी भएको र त्यो दिन सकिने बताए । त्यसका लागि उनले श्याम नाम गरेका स्टोरकिपरलाई भेट्न आग्रह गरे । हामी उनीकहाँ पुग्यौं । उनले शाखा अधिकृत आनन्ददेव सुवेदीलाई भेट्न आग्रह गरे । स्टोरकिपरको सुझाव अनुसार सुवेदीलाई पनि भेट्यौं । सुवेदीले फेरि उपसचिव गिरीकहाँ नै लगे । गाडीको लिस्ट निकाल्न के नाम गरेका अर्का कर्मचारीलाई के अराउँदै थिए, यतिकैमा उपसचिव गिरीले सूचना अधिकारीलाई निवेदन दिनुपर्ने बताए । यसले उनको नियत दुःख दिने नै हो भन्ने स्पष्ट बुझ्न सकिन्थ्यो ।

हो, कार्यालयका सूचना प्रवक्तामार्फत लिइन्छ र निवेदन नै दिएर लिनु पर्यो भने सूचना अधिकारीसमक्ष माग गरिन्छ । तर सामान्य जानकारीका लागि समेत निवेदन मागिनु र उनले दिनै नसक्ने भए शुरुमै सूचना अधिकारीबाटै माग्नुहोस् पनि भन्न सक्थे । यति समय लाग्छ, उति समय लाग्छ, यहाँ जानुहोस्, उहाँ जानुहोस्, अलानोलाई भेट्नुहोस्, पलानोसँग माग्नुहोस् भन्दै अन्तिममा आएर पन्छिनुमा नियत नै खराब भएको कुरा बुझ्न जो कोहीलाई गारो हुँदैन ।

साधारण जानकारीका लागि समेत निवेदन माग्ने गिरी प्रवृत्तिकै कारण आम कर्मचारीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक भएको छ ।

त्यसपछि हामी सूचना अधिकारी रमेश न्यौपानेकहाँ गयौं । तर, उनले यसका लागि निवेदन आवश्यक नरहेको र आन्तरिक व्यवस्थापन शाखाले नै दिनसक्ने बताए ।

पत्रकारले मागेको सामान्य जानकारीका लागि पनि निवेदन माग्न थालियो भने त कसरी सम्भव हुन्छ । तर, यो सम्बन्धित शाखाले दिन सक्थ्यो, अफ्ठेरै लाग्यो भने फोनमै सोधेर पनि भन्न सकिन्थ्यो ।

उनले यसअघि यस्तै केही विषयमा आफुकहाँ पठाउँदा फेरी तिनै शाखाबाट मागेर दिनुपरेको सुनाए । कि त कार्यालयका हरेक जानकारीहरु सूचना अधिकारीकहाँ पठाउनु पर्यो, होइन भने मन्त्रालयले नै निर्णय गरेर दिनुपर्ने अवस्थाका वाहेक अन्य सूचनाहरुका लागि समेत सूचना अधिकारी कहाँ पठाउँदा झन्झट हुनु स्वभाविकै हो उनले भने ।

छेउमै बसेका एक कर्मचारीले भन्दै थिए, ‘कर्मचारीले कसरी दुःख दिन्छ भन्ने कुराको एउटा सानो उदाहरण मात्र हो यो । सरले एउटा सामान्य सूचना माग्दा त पाँच ठाउँ कुद्नुपर्यो । तर, पाउनुभएन । अझ यहाँभित्रै पद ओगटेकाले अरु कर्मचारीलाई गर्ने व्यवहार सहिनसक्नुको छ । सेवाग्राहीको त के कुरा भइरह्यो र !’

यतिबेलासम्म प्रवक्ता अधिकारी कार्यकक्षमा फर्किसकेका थिए । हामीले उनलाई सूचना माग्दा उपसचिव गिरीले दुःखबारे बतायौं ।

‘यति सानो जानकारीका लागि पनि निवेदन दिन नै आवश्यक छैन । यो दुःख दिने नियत नै हो,’ उनले भने । सानो जानकारीका लागि पनि निवेदन माग्ने पत्रकारले त दिनमा दर्जनौं निवेदन दिनु पो पर्ने भयो त !’ उनले भने, ‘यो दुःख दिने नियत भएको स्पष्ट देखिन्छ ।’

सिंहदरवारभित्रै, त्यो पनि एउटा उपसचिवस्तरको कर्मचारीले संचारकर्मीलाई यसरी फनफनी घुमाउन खोज्छ भने सर्वसाधारण नागरिकलाई उपसचिव गिरी प्रवृत्तिका कर्मचारीले कति धेरै दुःख दिइरहेका होलान् ? यस्तै यस्तै प्रवृतिका कर्मचारीकै कारण निलो कोट भन्नेबित्तिकै नागरिकले नाक खुम्च्याउनुपर्ने अवस्था आएकोमा दुई मत छैन ।

सेवा प्रवाहमा सहजीकरणभन्दा पनि कसरी दुःख दिन सकिन्छ भन्ने प्रवृत्तिकै कर्मचारीलाई समयमै आँचरण सुधारतर्फ ध्यान दिने होइन भने प्रधानमन्त्री ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ एकादेशको कथा हुनेमा दुई मत छैन । उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन्, सेवा प्रवाहमा परिवर्तन ल्याउने हो भने कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मै व्यवहारको ‘क्लास’ दिन जरुरी छ ।

कुर्सीमा बस्नेबित्तिकै शासक सम्झिने र जे गरे पनि हुन्छ भन्ने तुच्छ मानसिकताले ग्रस्त खराब प्रवृत्तिलाई निर्मुल पार्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस