सार्वजनिक प्रशासनमा चारित्रिक विकासको प्रबर्द्धन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक प्रशासनमा चारित्रिक विकासको प्रबर्द्धन


डा. दामोदर रेग्मी

६ असार २०७५, बुधबार


चरित्र भिन्न परिवेशमा व्यक्तिको स्थायी पहिचानको विषय
चारित्रिक विकासको विषय मानव सभ्यताको थालनी देखि नै सुरु भएको अति प्राचीन तर हर कालमा सान्दर्भिक, सामयिक र अपरिहार्य बन्दै गएको विषय हो । सरलता, इमान्दिारिता, अहिंसा, विनम्रता, स्वच्छता, सकारात्मक विशेषता र मूल्यहरूको अवलम्बन चारित्रिक विकासका अति आवश्यकिय पक्षहरू हुन्। आत्मसम्मानको व्यवस्थापन ,आवेगहरुको उचित व्यवस्थापन र विज्ञताको विवेकपूर्ण प्रयोग, विश्वसनीयता, नैतिक पक्षहरूमा बलियो धरातलयुक्त, सुसंस्कार प्रतिको आन्तरिक र व्यवहारिक प्रतिबद्धता असल चरित्रका सबल तथा आवश्यकीय पक्षहरू हुन् ।

चरित्र वा चारित्रिक विकास सम्बन्धी विषयहरूलाई विभिन्न विव्दान तथा पुस्तकहरूले भिन्न भिन्न किसिमले व्याख्या गर्ने गरेको पाइन्छ । वसन्तकुमार शम्र्मा नेपालको नेपाली शव्दसागरका अनुसार चरित्र भन्नाले चालचलन, व्यवहार, जिन्दगीमा गरिने कामकाज, आचरण, करनी, कर्मजात र चारित्रिक भन्नाले चरित्र सम्बन्धी, स्वभावगत भन्ने बुझिन्छ । त्यस्तै मनोवैज्ञानिक लरेन्स परवीनका अनुसार नैतिक चरित्र भिन्न परिस्थितिमा समान प्रकृतिको व्यवहार प्रदर्शनको प्रक्रिया हो । चरित्र भन्ने शब्द नैतिक विषय सँग सम्बन्धित छ । यसर्थ मूल्य, सहानुभूति, साहस, इमान्दारिता, लचकता जस्ता विषयहरू चरित्र मापनका केही कसीहरू हुन्। चरित्रलाई जनाउने अङ्ग्रेजी शब्द ‘क्यारेक्टर’ भन्ने प्राचीन ग्रीक वाट आएको हो यसलाई सुरुमा पैसाको गुण जनाउने पर्यायको रूपमा लिने गरिन्थ्यो । पछि गएर एक वस्तु वा व्यक्तिको अर्को वस्तु वा व्यक्ति सँगको भिन्नता देखाउने शब्दको रूपमा प्रयोगमा आउन थाल्यो । ग्रीक शव्दावली को अनुसार नैतिक चरित्र मूलतः नरम्याटिभ इथिक्स , एप्लाइड इथिक्स र कन्टेभसियल इथिक्स को अवधारणा वाट अभिप्रेरित देखिन्छ । नरम्याटिभ इथिक्स व्यवहारको सही वा गलत स्तरको मापन गर्ने अवधारणा हो भने एप्लाइड इथिक्स प्रयोगमा आएको व्यवहारको परीक्षण गर्ने अवधारणा र कन्टेभसियल इथिक्स भिन्न परिवेशमा प्रयोगमा आउन सक्ने व्यवहार प्रदर्शनको छनौटको अवधारणा हो। सन् १९८२ मा भी क्याम्पबेल र आर बाउन्डले चारित्रिक र नैतिकता विकास वंशानुगत गुण, बाल्यकाल देखिको अनुभव, आदर्श व्यक्तित्वको रूपमा लिइएका प्रौढ हरूको प्रभाव, सञ्चार, शिक्षा, सामाजिक वातावरण आदिबाट प्रभावित हुने विषय हो भनी थप व्याख्या गरेको पाइन्छ । अव्राहम लिंकनका अनुसार प्रतिष्ठा छाया हो भने चरित्र रुख हो । परिभाषा सम्बन्धी अङ्ग्रेजी शब्दकोशका अनुसार चरित्र मानिसको मानसिक तथा नैतिक जटिल तथा भिन्न परिवेशमा व्यक्तिको स्थायी पहिचानको विषय हो ।

चारित्रिक विकासका सैद्धान्तिक अवधारणाहरू
चारित्रिक विकास सम्बन्धमा विभिन्न सैद्धान्तिक अवधारणाहरू प्रयोगमा आएका छन् जसमा जिन पिगेट को चरित्र विकास सम्बन्धी सिद्धान्त पनि एक हो उनी नैतिक विकास सम्बन्धमा सुझाव दिने पहिलो मनोवैज्ञानिक हुन उनका अनुसार नैतिक विकास र चरित्र विकास व्यक्तिको कार्य, ज्ञान र वातावरण सँगको अन्तरक्रिया वाट संरचित हुने विषय हो र यो ३ अवस्थाबाट प्रयोगमा आउँछ । पहिलो अवस्थामा व्यक्तिले सही र गलत के हो भन्ने पहिचान गर्न थाल्दछ र यसमा आफू भन्दा ठुला व्यक्तिहरूको क्रियाकलापहरू नै यसको आधार बन्न पुग्दछ । यस अवस्थालाई पिगेट ले मोरल रियालिज्म भनेका छन् भने दोस्रो अवस्था मोरालिटी अफ रेसिप्रोसिटी हो यसमा व्यक्तिले अरूले गरेका काम र प्रदर्शित व्यवहारबाट सही र गलत छुट्याउने, भिन्नता पहिचान गर्ने, गलत व्यवहार दण्डित हुनुपर्ने जस्ता स्वविचारको विकास गर्न थाल्दछ । तेस्रो अवस्था प्रौढ परिपक्व सोचाइ हो यस अवस्थामा भिन्न नैतिक विषयहरू प्रयोगमा ल्याइने र जटिल विषयहरू लाई व्यवहारिक निर्णय वाट समाधान गर्ने गरिन्छ ।

अर्का विद्वान लरेन्स कोहलवर्गले प्रतिपादन गरेका चारित्रिक विकास सम्बन्धी सिद्धान्तले चरित्र वा नैतिकता सम्बन्धी विषय समय को विकास क्रम सँगै व्यक्तिले अपनाउँदै जानु पर्ने विषय हो जसलाई व्यक्ति छोड्न मिल्दैन भन्ने कुरामा जोड दिएको छ । उनका अनुसार दयालुपना, इमान्दारिता, नागरिकता, प्रतिबद्धता उत्तरदायित्वबोध र सम्मान चारित्रिक विकासका ६ प्रमुख आधार स्तम्भहरू हुन् । उनले उपरोक्त ६ प्रमुख आधार स्तम्भहरूलाई प्रिकन्भेनसनल (दयालुपना र इमान्दारिता) , कन्भेनसनल (नागरिकता र प्रतिबद्धता) , पोस्टकन्भेनसनल (उत्तरदायित्वबोध र सम्मान) मा वर्गीकरण समेत गरेका छन् । नैतिकतापूर्ण व्यवहार चारित्रिक विकासको एउटा महत्त्वपूर्ण पक्ष हो । यसका विभिन्न चारवटा पक्षहरू रहेका छन् । पहिलो नैतिक संवेदनशीलता, दोस्रो नैतिक जाँच र तेस्रो नैतिकता तर्फको उत्प्रेरणा र चौथो अन्तर सम्बन्धित पक्षहरू सँगको अन्तरक्रिया हुन्।

चरित्र निर्माणका तहहरू
उपरोक्त परिभाषा र सैद्धान्तिक पृष्ठभूमिले चरित्र निर्माणको पक्ष मूलतः ३ तहबाट विकास हुने गरेको कुरालाई पुष्टि गर्दछ । पहिलो व्यक्तिको जन्म कुन परिवेश र पृष्ठभूमिमा भएको हो उसको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेशको आधारमा व्यक्तिको चालचलन निर्धारित हुने गर्दछ र यो चालचलन पछि गएर संस्कारमा परिवर्तन हुने र व्यक्तिको चारित्रिक पहिचानको रूपमा प्रतिविम्बित हुने गर्दछ । दोस्रो पक्ष शिक्षा सङ्गतको पक्ष हो । असल, व्यवहारोपयोगी र नैतिक शिक्षाको अवलम्बनले व्यक्तिका सकारात्मकताको प्रवर्द्धन गर्ने गर्दछ । शिक्षाको मूलभूत पक्ष भनेको ज्ञानको अभिबृद्धिद्वारा आफूलाई व्यवहार र जीवनपयोगी बनाउने हो । शिक्षाको मूल लक्ष्य चरित्र विकास नै हो। तर व्यक्तिको शिक्षा आर्जन गर्ने क्षमता, त्यसप्रतिको जागरुकता, प्राप्त ज्ञानको प्रयोग गर्ने तत्परता आदिमा सामन्जस्यता स्थापित हुन नसकेमा शिक्षाले आफ्नो अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । शिक्षाको अपरिहार्यता बढ्दै गएर पनि व्यक्तिहरूको मूल्य मान्यता र नैतिकतामा ह्रास आउनु यसको ज्वलन्त उदाहरण हो । यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रूपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुँदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तरबस्तु अन्तरगत पर्दछन् । सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको सुरुवात बिन्दु हो । सकारात्मकताको प्रवेशताक प्रवर्द्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व बोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सवलीकरणबाट पनि सकिन्छ । तेस्रो पक्ष भनेको व्यक्तिले आफूलाई चिन्ने क्रममा आफ्नो रहन सहन संस्कृति पारिवारिक, सामाजिक र शैक्षिक परिवेश को परिधि भित्र रहेर वा यस परिवेशको सम्भावित नकारात्मक घेराबाट टाढिएर स्व लाई र जीवन र जगत्लाई चिन्ने र सो अनुरूप चल्ने प्रयास गर्दछ।

चरित्र व्यक्तिमा अन्तरनिहित व्यवहारिक प्रतिबद्धता
चरित्र व्यक्तिमा अन्तरनिहित प्रतिबद्धता हो जसले आफुभित्र विद्यमान सहगुण सदविचार र असल शैलीको महशुसद्धारा सबै प्रति सहयोग सहानुभूति, अरूको भावना र विचारको सम्मान, मैत्रीपूर्ण व्यवहारको माध्यमद्धारा सबैप्रति सहयोग सहानुभूति, अरूको भावना र विचारको सम्मान, मैत्रीपूर्ण व्यवहारको माध्यमद्धारा आफ्नो लक्ष्य प्रति अभिमुख गराउने एउटा संयन्त्र हो। व्यक्तिमा सदगुण सदविचार र अन्य आवश्यकीय गुणहरू विद्यमान हुन सक्दछन् । यसको सार्थकता त्यति बेला मात्र रहन्छ जब व्यक्ति अप्रत्याशित अवरोध र अरुचिपूर्ण स्थितिको अवस्थामा आफूमा विद्यमान उपरोक्त गुणहरूको प्रयोगले अरुचिपूर्ण स्थितिलाई सामान्य सहज र स्वीकार्य बनाउन सक्दछ । यसर्थ चरित्र भनेको असहज स्थिति सँग लड्न सक्ने क्षमता पनि हो । यदि व्यक्तिमा असल र व्यवहारोपयोगी चरित्रको अभाव हुन्छ भने अवरोधहरूलाई सामना गर्न नसक्ने र यसबाट टाढिने स्थितिको सिर्जना हुन्छ ।

चरित्रको व्यवहारमा प्रयोग ल्याउन सक्नु असल चरित्रको उदाहरण हो ।चरित्रको विकास समय र परिस्थितिको क्रमिक परिवर्तन सँगसँगै नैतिकताको नियमित अवलम्बन र गलत व्यवहारहरू माथिको विजयबाट हुँदै जान्छ । वास्तवमा हाम्रा दैनन्दिनीका परिवेशहरू अनुमानयोग्य हुँदैनन् । जसले धेरै अनिश्चितताहरू निम्त्याउने गर्दछन् ।यसै अनिश्चितताका बिच र विविधताका बिच सकारात्मक रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु नै असल चरित्रको विशेषता को रूपमा लिन सकिन्छ । मानिस सामाजिक प्राण भएकोले समाजका धेरै अन्तर सम्बन्धित पक्षहरूसँग मानिसको नियमित सम्पर्क, सम्बन्ध र अन्तरक्रिया एउटा आवश्यकीय सर्त हो । सम्बन्धहरूको असल व्यवस्थापन चारित्रिक विकासको अर्को मापनयोग्य कसी हो । एउटा व्यक्तिको रूपमा हाम्रो अवश्यकता घर, परिवार, समाज, कार्यालय, विभिन्न सङ्घ संस्थामा रहेको हुन्छ र ती सबै ठाउँमा हाम्रो हैसियत, भूमिका र उत्तरदायित्व फरक फरक रहेको हुन्छ । तसर्थ यी सबै क्षेत्रहरूमा भिन्न भूमिका र उत्तरदायित्वका बिचमा पनि प्रेम, सम्मान विवेकता जस्ता गुणहरूको प्रदर्शन गर्न सक्ने क्षमतायुक्त व्यक्ति नै चरित्रयुक्त हो । कर्मचारी सामाजिक प्राण मात्र होइन हैसियत, भूमिका र उत्तरदायित्वले सुसज्जित अधिकारी पनि हो यसैले उत्तरदायित्वको हैसियत सहितको जनमैत्रीय भूमिका निर्वाह गर्न कर्मचारी चरित्रवान हुनु आवश्यक हुन्छ ।

आत्म संयमता
आत्म संयम चरित्रको अर्को एउटा महत्त्वपूर्ण पाटो हो । यो एउटा यस्तो अहिंसक वृत्ति हो, जसले अर्को व्यक्ति प्रति क्रोधपूर्ण र रूखो व्यवहार, उग्रता, झगडा, घृणा, अपमान, मिथ्या अहम् जस्ता पक्षहरूलाई आफ्नो परिभाषा भित्र समेटेको हुँदैन ।आत्मसंयमित व्यक्तिले शान्ति, बुद्धिमता र गरिमायुक्त तवरबाट स्थितिलाई विश्लेषण गरेको हुन्छ र आउन सक्ने सम्भावित नकारात्मक व्यवस्थालाई सहन सक्ने शक्ति विकास गरेको हुन्छ । यसै गुणको कारणले असल चरित्रयुक्त व्यक्ति शान्तचित्त, मैत्रीपूर्ण व्यवहारयुक्त र निष्कपट हुने गर्दछ । चरित्रयुक्त व्यक्ति भौतिकवादी परिवेश भित्र रहेर पनि आफूभित्र आध्यात्मिक शक्तिको प्रवर्द्धन गर्दै सरलता, सौम्यता परोपरकारिता, सहयोगीपन जस्ता गुणहरू विकास गर्न सफल भएका हुन्छ नजानिँदो रूपमा आध्यात्मिक सिद्धान्तयुक्त व्यक्तिको जीवनशैलीको आधार बनेको हुन्छ । आफ्नो कमी कमजोरीको जिम्मेवार दोस्रो व्यक्ति वा नकारात्मक स्थितिलाई नदिएर त्यसलाई समाधान गर्ने तर्फ प्रयत्नशील रहन्छ। आफूभित्र रहेको ज्ञानलाई बौद्धिक अंहकारको रूपमा नलिने, नाम मान र शानको क्षणिक आनन्दमा रमाउने प्रवृत्ति विद्यमान रहँदैन । पवित्रता असल चरित्रयुक्त व्यक्तिको अर्को महत्त्वपूर्ण गुण हो । यस्ता व्यक्तिहरूमा शारीरिक र मानसिक शुद्धता र पवित्रता कायम रहेको हुन्छ । सादा जीवन उच्च विचार, वैचारिक शुद्धता र स्पष्टता, पूर्वाग्रह रहित विचार, आफ्नो अधिकारको प्रयोग गर्दा दोस्रो व्यक्तिको अधिकारको हनन नहुने गरी प्रयोग गर्ने जस्ता गुणहरू विद्यमान रहेका हुन्छन्। आत्म संयमयुक्त प्रशासकवाट नै प्रतिबद्ध र तटस्थ प्रशासनयन्त्रको अपेक्षा गर्न सकिन्छ ।

मन, बुद्धि र संस्कारको समीकरण
आत्मिक, व्यक्तिगत र सामाजिक सम्बन्धको व्यवस्थापन असर चारित्रिक पक्षको उदाहरणको रूपमा लिने गरिन्छ । असल चारित्रिक विकासको लागि जति सामाजिक र व्यक्तिगत सम्बन्धको व्यवस्थापनले महत्त्व राख्दछ त्यो भन्दा बढी आत्मिक व्यवस्थापन र आत्मिक स्वच्छता को अपरिहार्यता रहन्छ । मानव शरीरमा २ वटा तत्वहरु रहेका हुन्छन् एउटा स्थूल शरीर र आत्मिक शक्ति यी दुईको संयोगबाट नै एउटा सम्पूर्ण मानिसको स्वरूप निर्धारण भएको हुन्छ । हरेक व्यक्तिमा रहेको आत्मा परमात्मिक शक्तिको सम्पर्कमा रहेको हुन्छ र त्यही शक्तिको माध्यमद्धारा शरीरमा रहेका हरेक अंगहरु आत्माको निर्देशनबाट सञ्चालित हुने गर्दछन् । नाम, पद, यश, ऐश्वर्य, शक्ति आदि शरीरसँग सम्बन्धित विषयहरू हुन सही गुण सदविचार, नम्रता, परोपकारिता, सहयोगीपना आदि आत्मिक विशेषताहरू हुन् । चरित्रयुक्त व्यक्तिले शारीरिक स्वाभिमानमा ध्यान नदिई आत्मिक स्वाभिमानमा जोड दिएको हुन्छ ।

आत्माले तीन सूक्ष्म शक्तिको आधारमा काम गर्ने गर्दछ: मन, बुद्धि र संस्कार । मन विचार उत्पन्न गर्ने शक्ति हो, बुद्धि विचारलाई परख गर्ने शक्ति हो । मन ले भावना, अनुमान, अनुभूति, चाहना, प्रतिक्रिया, सपना आकाङ्क्षा सृजनशीलता, आशा आन्तरिक दृष्टि जस्ता विचारहरू आउँछन् । यस्ता विचारहरू सकारात्मक, नकारात्मक, आवश्यक वा सामान्य हुने गर्दछन् । सकारात्मक विचारले मूल्य, मान्यता, दायित्व बोध, समर्पण भाव, मधुरता, धैर्यता परोपकारिता, सहिष्णुता, निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता जस्ता पक्षको विकास गरी आफ्नो पेशागत दक्षता र प्रभावकारिता अभिवृध्दि गर्नमा सहयोग पुग्न जान्छ । यसबाट सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ । मनमा आएका विचारहरूको स्तर बुद्धिले निर्धारण गर्ने गर्दछ । मनमा आएका विचारहरू उपयोगी छ छैन , उपयुक्त छ छैन, सही छ छैन । सामान्यतया सकारात्मक विचारलाई बुद्धिले समर्थन गर्दछ । यदि मन अशुद्ध छ र बुद्धि कमजोर छ भने गलत संस्कारको निर्माण हुन जान्छ । आत्माले अनेक अनुत्पादक एवं नकारात्मक विचार र संस्कारको निर्माण हुन पुग्दछ जुन संस्कार बाह्य जीवनमा प्रयोगमा आउँदा जनमानसले अपेक्षा गरेको चरित्रको भिन्न हुन जान्छ ।

यसरी बुद्धि मानव चेतनाको सर्वाधिक महत्त्वपूर्ण अङ्ग हो व्यक्तित्व व्यक्तित्व बुद्धिको शक्ति र यसको सूक्ष्मतामा निर्भर रहन्छ । यसैले व्यक्तिको चरित्र निर्माण आत्माको महत्त्वपूर्ण स्थान रहन्छ । मनले विचार उत्पन्न गर्ने बुद्धिले त्यसको जाँच गर्ने र तत्पश्चात् सुरुका उत्पन्न भएको विचार संस्कारमा परिणत हनुे गर्दछ । व्यक्तिमा अन्तरनिहीत संस्कार व्यक्तिको परिचयको द्योतक हो असल संस्कार युक्त व्यक्ति नै चरित्रयुक्त हुने गर्दछ । यदि मनले सकारात्मक विचार ग्रहण गर्न सकेन भने या बुद्धिले नकारात्मक विचारलाई स्वीकार गरिदियो भने व्यक्ति गलत संस्कारयुक्त हुन पुग्दछ । यसर्थ मन र बुद्धिको स्वच्छता नै असल संस्कार र असल चरित्र निर्माणको प्रारम्भिक विन्दु हो । मन र बुद्धिको स्वच्छता प्रबर्द्धन सार्वजनिक प्रशासनमा लागि अपरिहार्य हुन जान्छ ।

सार्वजनिक प्रशासकः व्यक्तिगत चरित्र र सार्वजनिक चरित्रबिचको सीमारेखा
सार्वजनिक प्रशासक परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हो यसभन्दा अघि उ एउटा व्यक्ति पनि हो । एउटा व्यक्तिको हैसियतले उ भित्र सकारात्मकता र नकारात्मकताका कैयन गुण र दुर्गुणहरु हुन सक्दछन् । तर जब उ व्यक्तिबाट कर्मचारी र सार्वजनिक प्रशासनको एउटा संयन्त्र बन्न पुग्दछ तब उ व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्र को कठोर सीमारेखा भित्र बाँधिन पुग्नु पर्दछ । यसपछि उसमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वाभाविक रूपमा रहन सक्ने नकारात्मकताको उपस्थितिलाई ग्राह्य मानिँदैन ,जबकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भए पनि नकारात्मकताको अवशेष कुनै न कुनै रूपमा रहन्छ । यस्ता नकारात्मकताका अवशेषहरुलाई सकारात्मकताका गुणहरूले छोपिदिनु वा दृष्यरुपमा प्रकट हुन नदिनु नै सकारात्मकता र नकारात्मकताको बिचको सन्तुलन हो । यसर्थ सार्वजनिक प्रशासकहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवर्द्धन अनिवार्य सर्त बन्न पुगेको हो । चारित्रिक विकास वाट मात्र सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रत्याभूति हुन सक्दछ । कर्मचारी एउटा सेवाप्रदायक, एउटा रणनीतिकर्ता, नीति निर्माता, सहमतिकर्ता, द्वन्द निवारक, सम्झौताकर्ता, मध्यस्थकर्ता, समाज परिवर्तनको एउटा सम्बाहकको बहुपहिचान र बहुभूमिकामा उभिनु पर्दछ । यसको लागि उ आफैप्रति परिवार प्रति समाज प्रति उतिनै अनुशासित, जिम्मेवार, निष्ठावान र चरित्रवान हुनु आवश्यक हुन्छ ।स्वीकार्य मूल्य मान्यता तथा नैतिकताको प्रवर्द्धन गर्ने गराउने परिपाटीको अभावले आजको सार्वजनिक प्रशासन एकाध अपवाद बाहेक ‘सार्वजनिक’ बन्न नसकि सदाचारमा कमजोर, बोझयुक्त, अविवेकी, मर्यादाहीन, अनुशासनहीन, नातावाद जस्ता नकारात्मक विशेषणहरूबाट आभुषित हुन पुग्दछ । यसैले पनि मूल्य मान्यता र नैतिकता सार्वजनिक प्रशासकको चरित्रमा प्रतिविम्वित हुनु पर्ने अपरिहार्य तत्त्व हो ।

कर्मचारीहरू समाजका आदर्श चरित्र पनि हुन्
कर्मचारीहरू सरकारको अङ्ग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रूपमा समेत स्थापित हुनुपर्ने कारणले उनीहरू वाट नैतिकता र मूल्य मान्यताको अपेक्षा बढी हुनु स्वाभाविकै हो । यसैले पनि मूल्य मान्यता र नैतिकताको प्रवर्द्धन सार्वजनिक प्रशासनको लागि अपरिहार्य देखिएको हो । यसर्थ अबको सार्वजनिक प्रशासन यसमा अन्तरनिहित सवलपक्षलाई कायम राख्दै यसलाई थप पुरस्कृत र समाजपयोगी बन्न सक्नु पर्दछ । यसको लागि यसका पाठ्यक्रमहरू, छनौट प्रणाली, तालिमका विषयवस्तुहरू, कार्य सञ्चालनका आधारहरू यसलाई सहयोग गर्ने खालको हुनु आवश्यक छ । यसर्थ यसको लागि शैक्षिक संस्था, तालीम प्रदायक संस्थाहरू र मूल्य मान्यता, नैतिकता प्रवर्द्धन गर्ने संस्थाहरूको बिचमा सहकार्यको आवश्यकता देखिन्छ जसबाट चरित्र निर्माणका सैद्धान्तिक विषयहरू, व्यक्तिमा चारित्रिक गुणहरूका प्रवेशका चरणहरू र यसको व्यवहारिक प्रयोगको बिचमा सामन्जस्यता ल्याउन सहयोग पुग्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस