ड्राइभिङ लाइसेन्स दिने व्यवस्था परिमार्जन गर्नुपर्छ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ड्राइभिङ लाइसेन्स दिने व्यवस्था परिमार्जन गर्नुपर्छ


प्रशासन विशेष ब्युरो

४ असार २०७५, सोमबार


सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधन हो, मोटरसाइकल । साँघुरा सडक, अनियन्त्रित गति दुर्घटनाका मुख्य कारण हुन् । यसमध्ये पनि टिनएजर्सले चलाएका मोटरसाइकल बढी दुर्घटना पर्ने गरेको तथ्यांकले देखाउँछ । दुर्घटनाको कारण, यसको समाधानका उपायबारे पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

मोटरसाइकल बढी दुर्घटना पर्नुको कारण के हो ?
सवारी दुर्घटनामा मोटरसाइकल नै बढी हुने गरेको छ । जस्तै ः दुई खुट्टे वा चार खुट्टे कुर्सीमा बस्दा कुनमा जोखिम हुन्छ ? दुई खुट्टेमा नै हुन्छ नि । मोटरसाइकललाई संसारमा राम्रो चिजमा गनिँदैन । जुन सहरमा मोटरसाइकल बढी छन्, त्यो फोहोर सहरका रुपमा चिनिन्छ । दुई पाङ्ग्रे सवारी साधनको अवस्था पनि त्यही हो । यो राम्रोसँग अड्न सक्दैन । ब्यालेन्सले अडेको हुन्छ । सानो ढुंगा परेपनि यो उछिटिन्छ । तर, चार पाङ्ग्रेलाई दुई पाङ्ग्रेजस्तो ब्यालेन्स चाहिँदैन ।

त्यसकारण मोटरसाइकलको जोखिम बढी हुन्छ । अर्काे कुरा, मोटरसाइकल स–सानो बाटोमा पनि छिर्छ । सुरक्षाको दृष्टिले मात्रै होइन, सफाइको हिसावले गतिलो सवारी साधन होइन, यो ।

तर, काठमाडौंमा मोटरसाइकल नभई नहुने अवस्था सिर्जना छ । मोटरसाइकल धेरै भएकाले नै यसको आवश्यकता भएको हो । मोटरसाइकल धेरै भएपछि अरु सवारीसाधन हो । तर, हामीकहाँ मोटरसाइकल धेरै भएकाले नै यो चढ्नुपर्ने बाध्यता छ ।

नेपालमा मोटरसाइकल दुर्घटनाको तत्यांक हेर्दा आधाभन्दा बढी पल्सर मोटरसाइकल नै देखिन्छन्, किन ?
यसको दुर्घटनाको तथ्यांक त ठ्याक्कै भन्न सक्दैन । तर, यसको दुर्घटनाको दर बढी नै छ । पिकअप तथा स्पिड राम्रो र लागत पनि महँगो नभएकाले पल्सर मोटरसाइकल टिनएजर्सको रोजाइमा परेको छ । स्पिडको कारणले मोटरसाइकल दुर्घटना भएको होला भन्ने मलाई लाग्छ ।

दुर्घटना हुने मोटरसाइकलका चालक १८–२५ वर्ष उमेरका बढी छन्, अब अभिभावकले पनि सोच्नुपर्ने बेला आएन र ?
सही कुरा भन्नुभयो । अब अभिभावकले यसबारे सोच्नुपर्ने बेला भएको छ । तर, व्यावसायीले आफ्नो मात्रै फाइदा हेर्दा केही हदसम्म यो अवस्था आएको हो । जस्तै ः केही समयअघि मोटरसाइकलको एक अधिकृत बिक्रेताले एसएलसी पास भएको सर्टिफिकेट ल्याए १० प्रतिशत छुट दिने योजना ल्यायो । यो योजनाले एसएलसी पास भएकाहरूलाई मोटरसाइकल चढाउन प्रेरित गर्याे । र, मोटरसाइकल किन्नेहरू पनि बढे । त्यसपछि अरु कम्पनीका अधिकृत बिक्रेताले पनि यस्तै खालका योजना सार्वजनिक गरे ।

तर, त्यसको साटो ट्राफिक शिक्षा लिएको प्रमाणपत्र ल्याउनेलाई केही प्रतिशत छुट दिने योजना ल्याएको भए त दुर्घटना केही हदसम्म घट्थ्यो नि । त्यसकारण दुर्घटना बढाउनुमा केही हदसम्म व्यावसायीको पनि गल्ती छ ।

धेरैजसो मोटरसाइकल चढ्नेहरू १८–२५ वर्षकै छन् । दुर्घटनाको तथ्यांक हेर्दा यही उमेर समूहको मृत्युदर बढी छ, वर्ल्डवाइज ।

दुर्घटनाको भिक्टिम हुनेमा पनि युवा नै बढी छन् । १८–४० वर्षको उमेर समूह यसमा पर्छन् । त्यसमा पनि १८–२५ वर्षको उमेर समूहको दर उच्च छ । किनभने मोटरसाइकल चढ्ने पनि सोही उमेर समूहका बढी छन् । उमेर बढ्दै गएपछि स्पिड रेसियो पनि घट्दै जान्छ । सवारी साधनको किसिम पनि फेरिँदै जान्छ । मोटरसाइकल छाडेर कार चढ्न खोज्छन् ।

किन व्यावसायीहरू नागरिकको जिउज्यानप्रति संवेदनशील नभएका होलान्, यो अवस्थामा राज्यले के गर्न जरुरी छ ?
ड्राइभिङ लाइसेन्स दिने व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता छ । अहिले दुई पांग्रेको लाइसेन्स लिन १६ वर्ष पुग्नुपर्छ । यस्तै, चार पांग्रेको लाइसेन्स लिन १८ र हेभी गाडीको लाइसेन्स लिन २१ वर्ष पुग्नुपर्ने व्यवस्था छ । यो व्यवस्था परिमार्जन गर्नु आवश्यक छ ।

किनकि यो उमेर सवारीसाधन चलाउनका लागि उपयुक्त छैन । यसले नागरिक तथा मानवअधिकार हनन् हुन्छ भन्ने कतिपयको तर्क आउन सक्ला । तर, नागरिक तथा मानवअधिकारका नाममा सुरक्षासँग त्यसको तुलना गर्न मिल्दैन ।

व्यावसायीले पनि सडकसँग सम्बन्धित विषय सुरक्षाको हिसाबले हेरेनन् । खाली व्यवसायको हिसावले मात्रै हेरे त्यो कारणले यो अवस्था सिर्जना भएको हो । त्यसमा अभिभावकले सचेत हुनुपर्ने आवश्यकता छ ।

अभिभावकले छोराछोरीसँग गरेको बार्गेनिङले पनि यसमा असर गरेको छ । प्रायः अभिभावले आफ्ना छोराछोरीको पढाइ राम्रो बनाउन एसइईमा राम्रो ग्रेड ल्याए मोटरसाइकल किनिदिन्छु भन्ने गरेका छन् । यो गलत हो । छोराछोरीले राम्रो गर्र्दैमा मोटरसाइकलै किनिदिनुपर्छ भन्ने आवश्यकता देख्दिनँ म ।

अहिले त एसइई पास गर्नेबित्तिकै मोटरसाइकल किनिदिनुपर्छ । त्यो ट्रेन चेन्ज गर्नुपर्छ । पाँच लाखको मोटरसाइकल किनिदिन्छु भन्नुको साटो चार वर्षपछि गाडी किनिदिन्छु भन्न सक्नुपर्छ । त्यो क्यापासिटी नहोला आफ्नो ठाउँमा छ । तर, त्यसलाई डाइभर्ड गर्नुपर्छ । दुई पांग्रे सवारी साधन कहिले पनि सुरक्षित हुँदैन ।

टिनएजर्सले अनियन्त्रितरूपमा गाडी चलाउँदा हुने गरेको जोखिम घटाउन राज्यले के पहल गर्नुपर्ला ?
यसमा राज्यले नै पहल गर्नुपर्ने देखिन्छ । राज्यले टिनएजर्सलाई दायित्वबोध गराउने एउटा संयन्त्र तयार गर्नुपर्छ वा त्यसलाई नियन्त्रण गर्ने कन्ट्रोल मेकानिजम बनाउनुपर्छ । यसका लागि राज्य नै जवाफदेही हुनुपर्छ । मैले ड्राइभिङ लाइसेन्स दिँदा उमेर बढाउने कुरासँग अरु पनि हुन सक्छन् ।

मोटरसाइकल चढेपछि दुई खुट्टाले टेक्न भ्याउनुपर्छ भन्ने एउटा नम्स छ । तर, त्यो पालना गरेको हामीले देख्दैनौं । यसको होचा मान्छेहरूले विरोध गर्लान् । तर, उहाँहरूले विरोध गर्नुहुन्छ भन्दैमा सुरक्षालाई कम्परमाइज गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

सडकमा मनपरी रूपमा गाडी चलाउने, अनावश्यक हर्न बजाउने प्रवृत्ति छ, यसको नियन्त्रण गर्न ट्राफिक चुक्यो नि ?
यसमा ट्राफिक प्रहरी चुकेकै हो । कार्यान्वयन पक्षचाहिँ कमजोर भएकै हो । त्यसमा होइन भन्दिनँ । यसलाई सुधार गर्नैपर्छ । यसको सुधार गर्न नीति नियम बनाएर अगाडि बढ्नुपर्छ । एकछिन रोक्नु समस्या समाधान होइन । व्यवस्थापन गर्नु समाधान हो । ठूलो मोटरसाइकल चढ्न नपाइने भन्ने हुँदैन । तर, त्यसलाई नियमन गर्ने निकाय दह्रो हुनुपर्छ ।

मोटरसाइकल आयात गर्दा पनि ध्यान दिनुपर्छ होला नि ?
हो, आयातमा पनि ध्यान दिनुपर्छ । त्यो त मैले अघि भनिसके नि दुई पांग्रा भएर आए मोटरसाइकल दर्ता भइहाल्छ । चार पांग्रा भएर आए गाडीमा दर्ता भइहाल्छ । त्यसको सेक्युरिटी प्याइन्टबारे ध्यान दिएको खोइ ? सवारी साधनको मेकानिकल इन्जिनियरिङबारे ध्यान दिएको पाइँदैन ।

मोटरसाइकल बिक्रेताले विज्ञापनमा तँछाडमछाड गर्छन् । तर, सचेतना दिनमा ध्यान दिएको पाइँदैन, के सचेत गराउनु तिनको दायित्व होइन ?
एकदम उहाँहरूको दायित्व हो । उहाँहरूले त्यो दायित्व बोध गर्नुभयो भने उहाँहरूको व्यवसाय बढ्छ । तर, व्यावसायीले दायित्व बोधै गरेको अवस्था छैन । किन गरेन ? त्यो आफ्नो ठाउँमा छ । क्षणिक लाभका लागि दायित्व बोध नगरेका होलान् । हेल्मेट नलगाई मोटरसाइकल चलाइराखेको विज्ञापन गर्छन् । त्यसको विरोध पनि गरिएको थियो । सिट बेल्ट नबाँधी गाडीको विज्ञापन गर्छन् । त्यो त गलत हो नि । यो कानुनले पनि दिँदैन । त्यसकारण विज्ञापनमा पनि हेल्मेट नलगाएको देखाउनु हुँदैन । यस्ता धेरै कुराहरू छन् । आफ्नो व्यवसायको लागि गैर कानुनी विज्ञापन गर्ने ? हेल्मेट सिसामा राखेर मोटरसाइकल चलाएको देखाएर विज्ञापन गर्नु गैरकानुनी हो । यसमा पनि व्यावसायीहरू सचेत हुनु जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस