प्रदेन नं. ७ : मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेन नं. ७ : मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक


१५ जेष्ठ २०७५, मंगलबार


धनगढी । प्रदेश नं ७ को मन्त्रिमण्डल गठन भएको १०० दिनपछि प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री त्रिलोचन भट्टकी धर्मपत्नी दुर्कादेवी भट्ट र दाजु शालिग्राम भट्टको नाममा डोटीमा घर तथा बीस रोपनी दश आना जग्गा छ । उनीसँग एक तोला सुन, १५ तोला चाँदी, एउटा गाई, एउटा मोबाइल र एउटा हाते घडी छ । यस्तै ७० हजार बैंक मौज्दात रहेको देखिएको मुख्यमन्त्रीको वित्तीय संस्थाको ऋण एक लाख ४० हजार र व्यक्तिगत ऋण दुई लाख रहेको छ ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा धनी मन्त्रीका रूपमा देखिएका छन् ।

मन्त्री शाहकी धर्मपत्नीका नाममा काठमाडौं गोठाटारमा घर, धनगढीमा छ कठ्ठा आठ धुर जग्गा, कञ्चनपुरको दैजिमा १६९३ बर्गमिटर जग्गा, दाजुको नाममा बाजुरामा १० हजार ९८५ बर्गमिटर जग्गा र त्यसमा बनेको घर रहेको छ । यसैगरी उनीसँग बैंक मौज्दात ७३ हजार, सुन ५२ तोला, एक स्कुटर, चार लाख ६५ हजार १०० को १७१० कित्ता शेयर तथा वित्तीय संस्थाको ऋण सात लाख २० हजार रहेको देखाइएको छ ।

आर्थिक मामिला मन्त्री बोहरा, उनीकी धर्मपत्नी र छोराको नाममा काठमाडौं, कैलालीको गोदावरी, धनगढी, लम्कीचुहा तथा टीकापुरमा गरी तीन बिगाहा सात कट्ठा सात धुर, छ रोपनी १३ आना, तीन हजार २०७ बर्गमिटर जग्गा रहेको छ । उनीसँग बैंक मौज्दात छ लाख ४५ हजार, तीन वटा जिप कार, ४० तोला सुन, बैंक ऋण १९ करोड ७५ लाख तथा रु सात करोड ५१ लाख ३६ हजारको शेयर कित्ता रहेको छ ।

सामाजिक विकास मन्त्री दीर्घ सोडारीको धर्मपत्नी, बुवा, दाजु, भाईको नाममा कैलालीको धनगढी, गौरीगंगा र लम्कीचुहाका साथै अछामको मंगलसेनमा गरी ३० कठ्ठा १३ धुर ,आठ रोपनी जग्गा रहेको र बिभिन्न ठाउँमा गरी छ वटा घर रहेका छन् ।

उहाँसँग बैंक मौज्दात पाँच लाख ६० हजार दुई मोटरसाइकल, सुन छ तोला, चाँदी २० तोला, २० कित्ता शेयर र ऋण एक लाख रहेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराका बुवा, बाजे र धर्मपत्नीको नाममा डडेलधुरामा दुई घर, ३० रोपनी १६ आना जग्गा, सुन चार तोला, चाँदी आधा किलो, पाँच हजार पाँच सयको एउटा कित्ता शेयर तथा ऋण रु एक लाख र बैंक ऋण मौज्दात रु दुई लाख ६४ हजार रहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टसँग बैतडीमा एक रोपनी जग्गा र घर, बैंक मौज्दात पाँच लाख, एक मोटरसाइकल, १५ तोला सुन, २० लाख ६५ हजारको शेयर कित्ता, मौरी घारहरू, अपसेट प्रेस र २५ लाख बैंक ऋण रहेको छ ।

भूमि व्यवस्था कृषिमन्त्री बिनिता चौधरीको पतिको नाममा कैलालीमा एक बिगाहा चार कट्ठा जग्गा र घर, ५० हजार बैंक मौज्दात, एउटा मोटरसाईकल, सुन सात तोला, चाँदी ३५ तोला, ६२ हजार ५०० को शेयर कित्ता, पावरटिलर एउटा र बैंक ऋण एक लाख रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस