स्वार्थी प्राणी « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

स्वार्थी प्राणी


२९ बैशाख २०७५, शनिबार


ट्राफिक प्रहरीको जागिर मैले भाग्यले पाएँ वा दुर्भाग्यले ! आफैले ठम्याउन सकेको छैन ।

के मात्रै खप्नु पर्दैन मैले ! धुवाँको मुस्लो । धुलोको लप्को । ड्राइभरको धम्की । बटुवाको हप्की । अरू त अरू कुकुरका छाउरा र गाईका बछेडाले समेत हैरानी थप्छन् ।

दिनहुँ बाच्छाका बथान आउँछन् । एक–अर्कालाई चाट्छन् । बाङ्गो परेर ढाड कन्याउँछन् । र, फिता लगाएर नापेझैं सडकको बीचमा गएर पसारिन्छन् ।

खै किन हो, आज मलाई ती जनावरलाई केही गर्ने मन लागेन । ड्युटी सकें । र, सिधै काइँलीको खाजाघर हानिएँ । घरका भाण्टाङ–भुण्टुङ आमासँगै मावली गएका थिए । घरमा कोही नभएपछि एक्लै बस्न पनि निरास लाग्दो रहेछ ।
००० ००० ०००

आफैंले दिउँसो खल्खली पसिना काढेर व्यवस्थापन गरेको सडक अहिले भने शान्त थियो । तिर्मिराएका आँखाले मुस्किलले ठम्यायो– मध्यरात पो भइसकेछ । तर, अचम्म दिउँसोदेखि बसेका बाच्छाहरू त त्यहीँ पो छन् ।

म बथान नजिकै गएँ । अलि अगुवाजस्तो लाग्नेलाई अँगालो हालें । मेरो मुख गनाएर हो कि ! उसले अलि टाउको बर्टायो । तैपनि सुम्सुम्याएँ र गफिँएँ ।

एकछिनपछि एक बाच्छाले मलाई प्रश्न गर्यो, ‘तपाईँले बुझ्नुभएको छ किन हामी सधै व्यस्त सडकको बीचमा गगधम्म बस्ने गर्छौं ?

म के बुझुँ ! ‘अहँ ।’ टाउको हल्लाएँ ।

बथानको एक लिखुरे बाच्छो जुरुक्क उठ्यो । र, टिठलाग्दो पाराले भन्यो, ‘हामी दुनियाँलाई देखाउन चाहछौं कि संसारमा सबैभन्दा स्वार्थी प्राणी कुन हो !’

Tags :
प्रतिक्रिया दिनुहोस