प्रदेश ७ को अध्यक्षमा शाह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ७ को अध्यक्षमा शाह


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


डोटी । शनिवार सम्पन्न नेपाल पत्रकार महासंघ प्रदेश ७ समितिको अध्यक्ष पदको निर्वाचनमा पत्रकार अर्जुन शाह बिजयी भएका छन् ।

पत्रकारहरुका बैचारिक संगठनहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेण्टरबिच भएको भागवण्डा अनुसार ७ नं. प्रदेशमा प्रेस चौतारीको अध्यक्ष हुने सहमति भएपनि चौतारीभित्र उम्मेदवार चयनमा बिवाद भएपछि अर्जुन शाह र हरीप्रसाद जोशीले उम्मेदवारी दिएका थिए ।

नौ सय ९६ सदस्य रहेको ७ नम्बर प्रदेशमा ६ सय ६० मत खसेको थियो । जिल्ला जिल्लामा मतदान केन्द्र कायम गरी भएको मतदान अनुसार बैतडीमा शाहले ३२ र जोशीले १३ पाएका छन् । यस्तै कैलालीमा शाहले एक सय, जोशीले ४३, कञ्चनपुरमा शाहले ७९, जोशीले ८९, र बाजुरामा शाहले २७ र जोशीले १८ मत पाएका छन् । यस्तै डोटीमा शाहले १८, जोशीले २२, डडेल्धुरामा शाहले २४, जोशीले ३४, अछाममा शाहले ५३, जोशीले २७, मत प्राप्त गरेका छन् ।

अछाममा एक मत बदर भएको छ । बझाङ्गमा शाहले ३७, जोशीले चार, दार्चुलामा शाहले नौ र जोशीले ११ मत प्राप्त गरेका छन् । दार्चुलामा १९ मत बदर भएका छन् । अन्य पदहरुमा यस अघि नै निर्विरोध चयन भईसकेका छन् ।

उपाध्यक्षमा प्रेस सेण्टरका दुर्गाप्रसाद भण्डारी, महासचिवमा युनियनका योगेश रावल, महिला उपाध्यक्षमा चौतारीका चाँदनी आचार्य र खुला सचिवमा सेन्टरका करन ताम्राकार, समावेशी सचिवमा युनियनका प्रेम चुनारा र कोषाध्यक्ष नरेन्द्र भट्ट निर्विरोध भएका छन् । खुला तथा समावेशी सदस्यहरुमा समेत निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस