भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार


१७ बैशाख २०७५, सोमबार


रोल्पा । भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भने।

बालश्रम गरिरहेका बालकलाई बाल विकास समाज भक्तपुरले उद्धार गरेसँगै आफूहरूको रोहवरमा बालकका अभिभावकलाई जिम्मा लगाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । बालक दीपकलाई बुबा गोपाल डाँगी र सुवासलाई आमा दिलपुरा डाँगीको जिम्मा लगाइदियौँ प्रमुख केसीले भने ।

गत चैतमा भएको कक्षा ४ को अन्तिम परीक्षा दिएका उनीहरू लहलहैमा इँटाभट्टा पुगेको बताइएको छ । बालकका दिदीहरू सोही इँटाभट्टामा काम गर्ने भएकाले उनीहरू पनि भागेर त्यहाँ पुगेको नगर प्रमुख केसीले बताए । उद्धारसँगै उनीहरूलाई विद्यालय भर्ना गरिने बताइएको छ ।

विगतमा नगरपालिका भित्रबाट इँटाभट्टामा जाने बालबालिकाको संख्या धेरै रहे पनि पछिल्ला दिनमा यो संख्या कम हुँदै गएको नगर प्रमुख पूर्ण केसीले बताए । आर्थिक अभावका कारण इँटाभट्टामा जाने र साथीभाइको लहलहैमा भागेर इँटाभट्टामा जाने गरी दुईथरिका बालश्रमिक रहेका छन् ।

आर्थिक अभावका कारण इँटाभट्टामा बालश्रम गर्ने रोल्पाली बालबालिकाको संख्या ४०० बढी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस