नेपाली हवाई रुटमा पनि भारतको नियन्त्रण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली हवाई रुटमा पनि भारतको नियन्त्रण


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७५, सोमबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन ।

त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ ।

पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो ।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग ९सिमरा० उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन ।

नेपालले थप चार प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको छ । सिमराबाहेक विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट पनि जहाज भित्रन सक्ने गरी प्रवेश बिन्दु मागेको छ ।

भैरहवा तथा नेपालगन्ज आसपासको भारतीय आकाशमा भारतीय एयरफोर्सका जहाज उड्ने भएकाले व्यावसायिक उडानका जहाजलाई प्रवेश मार्ग दिन नसकिने भारतले स्पष्ट पारेको छ । विराटनगर वा जनकपुरमध्ये एक र महेन्द्रनगरका विषयमा भने छलफल गर्न ऊ सहमत छ ।

नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । भारतीय आकाश प्रयोग गरी नेपाल आउने धेरैजसो मुलुकका जहाजलाई सिमराबाट प्रवेश गरी काठमाडौं आउँदा प्राविधिक रूपमा उपयुक्त देखिएपछि प्रारम्भबाटै यो मार्ग प्रयोगमा आएको प्राधिकरणका उच्च अधिकारीहरू बताउँछन् ।

त्यसपछि नेपाल र भारतबीचको हवाईसेवा सम्झौताबाटै यो रुट स्थापित गरियो । तर, नेपालले काठमाडौंबाहिर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ ।

यी विमानस्थलमा नेपालको महेन्द्रनगर या नेपालगन्ज क्षेत्रबाट आउने जहाज सिमरा पुगेर पुनः भैरहवा घुम्नुपर्दा कम्तीमा २० मिनेट बढी समय लाग्ने अनुमान प्राधिकरणको छ ।

यसबाहेक पोखरामा अझ बढी समय लाग्ने अनुमान छ । त्यसकारण यी विमानस्थल सञ्चालनमा आएपछि सेवा महँगो नपरोस् भनी थप प्रवेश बिन्दु मागिएको हो । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार पूर्वी क्षेत्रबाट आउने जहाजका लागि भने सिमरा नै उपयुक्त प्रवेश बिन्दु हो ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरे । बराबरीका आधारमा सम्बन्ध स्थापित गरिएको उनको तर्क छ । भारत भ्रमणका क्रममा आफूले नेपाललाई एउटा मात्रै हवाई रुट उपलब्ध गराएर नहुने कुरा राखेको ओलीले बताए ।

भैरहवा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भर्दा दिल्लीबाट सीधै भैरहवाको रुट भारतले दिनुपर्ने उनले बताए । ‘आकाशमा कन्जुस्याइँ गर्नुपर्ने कुरै आउँदैन, मैले भारत भ्रमणका क्रममा पनि भनेको छु, अरू रुट पनि दिनुपर्छ भनेर कुरा उठाएको छु,’ ओलीले प्रदेश संसद्मा भने । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस