नीति तथा कार्यक्रम १ जेठभित्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नीति तथा कार्यक्रम १ जेठभित्र


प्रशासन विशेष ब्युरो

१२ बैशाख २०७५, बुधबार


काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ ।

१५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो ।

सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथि छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ । सोही कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले २३ वैशाखबाट संघीय संसद्को दोस्रो अधिवेशन सुरु गर्ने तयारी पूरा गरेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

२४ देखि २६ वैशाखसम्म तीन दिन प्रि–बजेटमाथि छलफल गर्ने क्यालेन्डर सचिवालयले बनाएको छ । त्यस्तै, १ जेठभित्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्ने गरी सचिवालयले क्यालेन्डर तयार पारेको महासचिव भट्टराईले बताए ।

‘सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथिको छलफल, नीति तथा कार्यक्रमम प्रस्तुत तथा संसद्कै नियमावली पारित गर्नुछ । मन्त्रिपरिषद् सचिवालयलाई हामीले २३ वैशाखबाट संसद्को अधिवेशन आह्वान गर्नेबारे जानकारी गराएका छौँ,’ उनले भने । सरकारले संसद्को प्रस्तावअनुसार नै २३ गतेबाट संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्न लागेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन सुरु गर्नेबारे निर्णय लिएपछि राष्ट्रपतिलाई सिफारिस गर्ने स्रोतले जनाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस