‘सरखार, गरिपलाई पनि हेर्नू ’-बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

‘सरखार, गरिपलाई पनि हेर्नू ’-बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य


१२ बैशाख २०७५, बुधबार


काठमाडौं । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए।

पहिलो दृश्य– चुनावकोः १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो। त्यसपछि शून्य भयो बाटो। देखिएनन् भोट माग्नेहरू। उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए। उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन्।

बिकमानले झेलेको दोस्रो दृश्य हो– प्रभु येसुको लीलाः रोग र भोकले डेरा जमाएर बसेको बिकमानको घरमा प्रभु येसुको सन्देश लिएर लोकल पादरीहरू पुगे। बिकमान आशावादी भए। छातीको बीचमा लागेको गरिबीको घाउ प्रभुले निको पार्ने आशामा उनी चर्च पुगे। ध्यान दिएर कुरा सुने। कहिल्यै पुस्तक नछोएका बिकमानले बाइबल छोइ हेरे। रोग र दुःख मोचन हुने आशा गरे। तर, रोग २० को १९ पनि भएन। गरिबीको त झन के कुरा ! त्यसपछि बिकमान फर्किएर फेरि चर्च गएनन्।

तेस्रो दृश्य यस्तो छ– बिकमान टहरामा बस्दाबस्दै नगरवासी भए। गाउँवासीबाट नगरवासी भएको उनले पत्तै पाएनन्। ‘तपाईं नगरवासी हुनुभयो नि ? ’, हाम्रो प्रश्नपछि खैनीले खाएको दाँत देखाउँदै उनी फिस्स हाँसे। एकछिनपछि भने, ‘खै नगरपालिका आयो भन्छ। आयो कि आएन केही थाहा भएन।’ नगरपालिकाले बिकमानलाई कुनै उत्साह दिन सकेन। ‘

खेतको एकलास कुनामा बनेको छ एउटा टहरा। टिनको छाना, टिनकै भित्ता। टहरामा अडेस लागेर टुक्रुक्क बसिरहका छन् एकजना मान्छे, चलमलाउँदैनन्। टाढाबाट हेर्दा मान्छे नै हो भनी ठम्याउन गाह्रो पर्छ।

तिनी नजिक पुग्दा देखिन्छ– सेत्तै फुलेको कपाल। मैलो, खैरो रंगको कोट र कट्टु लगाएर टुक्रुक्क बसिरहेका एकजना वृद्ध। खुट्टामा प्लास्टिकको चप्पल, नङ अस्वाभाविक रूपमा बढेर चप्पलबाहिरै निस्किएको छ। खोकिरहेका छन् एकोहोरो। उनी भूकम्पपछि बनेका छिमेकीका अग्ला घरहरू हेरिरहेका थिए।

नाम के हो बा ? प्रश्न आएतिर हेर्छन्।

तुरुन्तै उत्तर दिन्छन्– ‘बिकमान थामी।’

उमेर ? ‘२०१८ सालको जन्म हो मेरो।’

सिन्धुपाल्चोक बाह्रबिसे बजारको पश्चिमपट्टि, बग्रेफाँटमा छ– उनको टहरा। भूकम्पले आफ्नो थातथलो भत्काएपछि बिकमान यो टहरामा बस्न थालेका हुन्। ठ्याक्कै तीन वर्ष पूरा भयो टहरामा बस्न थालेको। यो तीन वर्षमा कति हुरी, कति घाम, कति वर्षा उनले र टहराले सँगै थामे, बिकमानलाई उति भेउ छैन।

भूकम्पपछिका केही समय यहाँ बिकमानका जस्ता कैंयन् टहरा ठडिएका थिए। चार तलाको घरधनीदेखि ठूलाठूला साहुजीसम्मका टहरा सँगै थिए। दोकानदारदेखि ठेकेदारसम्मका टहरा थिए। भूकम्पले तर्साउन छाडेपछि टहरा विस्तारै पातलियो। घर बनाउन सक्नेहरू लाखापाखा लागे। तर, बिकमानको तीन वर्ष हिउँद(वर्षा यही टहरामै बित्यो। ‘

अतिसीमान्तकृत जातिमा सूचीकृत थामी जातिको बाक्लो बस्ती छ( सिन्धुपाल्चोकको पिस्कर, धुस्कुनमा। त्यतैबाट बिकमानको पुस्ता भारी बोक्दै बाह्रबिसे बजारतिर झरे। भोटेकोसी किनार फापेन बिकमानको पुर्खालाई। बजारभन्दा माथि पहराको टुप्पा र फेदीतिर बसे, उनीहरू।

बाल्यकालमै आमा गुमाएका बिकमानले स्कुल टेक्न पाएनन्। बाह्रबिसे बजारमा भारी बोक्नु, ज्यामी काम गर्नु उनको पुख्र्यौली पेसाजस्तै बन्यो। बिकमानले अंशमा पाए– भारी बोक्ने नाम्लोसँगै भीरमाथिको १ रोपनी पाखोबारी। पाखोबारीमै बनाए एकतले ढुंगे घर। उनका ५ छोरा र एक छोरीमध्ये केहीले तीनसम्म पढे, धेरैले स्कुलै देखेनन्। बच्चाबच्ची हुर्काउन बाह्रबिसे बजारमा भारी बोक्दाबोक्दै बित्यो बिकमानको जीवन।

बिकमान बाह्रबिसे बजारका पुराना साक्षी हुन्। उनले देखेका छन्- दक्षिण बग्ने भोटेकोसीको छालसँगै बाह्रबिसेले कसरी आफ्नो रंग फेर्दै गयो। बजारको साहुले कसरी तोक्छ पसिनाको भाउ रु हेर्दाहेर्दै भोटेकोशी किनारमा कस्ता घरहरू थपिए ? खासा बजार चम्किन थालेपछि बाह्रबिसे कस्तरी चम्कियो ? उनलाई सबै थाहा छ। उनले देख्दादेख्दै बाह्रबिसेको स्वरूप फेरियो। यहाँको माटो महँगियो। होटल र लजहरू थपिए। सबै सामानको भाउ बेस्सरी बढ्यो।

दोकानहरू फस्टाए। सँगै व्यापार पनि फस्टायो। तर, बिकमानको जीवन ? अहँ फस्टाएन। बिकमानको पसिनाको भाउ कहिल्यै बढेन। बाह्रबिसे बजारमा आजसम्म कुनै थामीको एउटा पनि गतिलो दोकान छैन। थामीहरू मात्र भारी बोक्न योग्य ठहरिए। बिकमानले जीवनभर भारी बोके। अन्न बोके, लुगाफाटो बोके। तर न उनले पेटभरि अन्न खान पाए। न एकसरो राम्रो लुगा लाउन पाए। यो समाचार आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस