बच्चा जन्माउनका लागि उमेर एकदमै महत्वपूर्ण पक्ष हो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बच्चा जन्माउनका लागि उमेर एकदमै महत्वपूर्ण पक्ष हो


प्रशासन विशेष ब्युरो

७ बैशाख २०७५, शुक्रबार


विवाह गरेको एक वर्षसम्म कुनैपनि साधनको प्रयोग नगरीकन बच्चा नबसेमा त्यसलाई बाँझोपन भएको मान्न सकिन्छ । प्राइमेरी र सेकेण्डरी गरेर बाँझोपन दुई खालको हुन्छ । जसको एक चोटी पनि बच्चा बसेको छैन, त्यसलाई प्राइमेरी भनिन्छ भने एक पटक बच्चा बसेर लामो अबधिसम्म बच्चा नबसेको अवस्थालाई सेकेन्डरी बाँझोपन भनिन्छ ।

बाँझोपन श्रीमान वा श्रीमती दुबैको कारणले हुन सक्छ । प्रायः त हामी बाँझोपनको समस्या पहिचान गर्ने बेलामा दुबैजनालाई सँगै राखेर गर्छौ । नेपाली समाजमा बाँझोपन समस्याको प्रमुख कारण श्रीमतीलाई मान्ने गलत सोच बिद्यमान भएको पाइन्छ । त्यसैले अधिकांसले बच्चा नबस्ने समस्या हुँदा पहिला श्रीमतीको नै जाँच गराउने र त्यसपछि मात्रै आफ्नो जाँच गराउने गरेको पाइन्छ । प्रायःजसो पुरुषहरुमा महिलाकै कारण बच्चा नभएको भन्ने बुझाइ रहेको पाइन्छ । तर बच्चा जन्मिनलाई दुबै जनाको बराबरी योगदान रहन्छ । त्यसकारण बाँझोपनको स्क्रिनिङ पनि बराबरी हिसावले गरिन्छ ।

पुरुषमा बाँझोपन हुनुमा वीर्य नहुने वा बिर्य कम हुनु मुख्य कारण मानिन्छ । चिकित्सकीय भाषामा पुरुषमा वीर्य नहुने समस्यालाई एजोस्पर्मिया र कम हुने समस्यालाई अलिगोस्पर्मिया भनिन्छ । सामान्यतयाः कुनै पुरुषमा बाँझोपनको समस्या छ कि छैन भनेर पहिचान गर्नलाई पहिले उसको वीर्र्यको टेष्ट गर्दछौ । यसबाट उसको वीर्य कति छ अथवा वीर्र्यमा खरावी र अन्य कुनै समस्या छ भन्ने थाहा हुन्छ ।

यदी पुरुषको वीर्यमा बच्चा नहुने समस्या देखिए हामीले श्रीमान श्रीमतीको सहमतिमा डोनर स्पर्म अथवा अन्य पुरुषको वीर्य लिएर पनि उपचार गर्न सकिन्छ । प्रायतहः धुम्रपान, मद्यपान, पोषण तत्वको कमी, उच्च तनाव तथा अधिकतम तापक्रममा काम गर्ने पुरुषहरुमा वीर्य कम हुने समस्या पाइएको विभिन्न अध्ययनले देखाएको छ । यसको जोखिमबाट बच्नका लागि स्वस्थकर जीवनशैली अपनाउनुका साथै चिकित्सकीय परामर्शमा उपचार गरेर बाँझोपनको समस्यालाई निराकरण गर्न सकिन्छ ।

प्रायःजसो बाँझोपन हुनुका चारवटा कारणहरु छन् । पाठेघर ट्युव, डिम्बासय, पाठेघर र पुरुषको वीर्य । यदी पाठेघरमा मासु पलाएको रहेछ भने अप्रेसन गरेर उपचार गराउन सकिन्छ । यदी डिम्बासयको क्षमता घटेको छ या अन्डा नै छैन अथवा पाठेघरसम्म जाने ट्युव बन्द छ भने त्यस्तो खालको बिरामीलाई बच्चा पाउन गारो हुन्छ । यस्तो अवस्थामा टेस्ट्युव बेबी अथवा आइभिएफ गरेर पनि बच्चा जन्माउन सकिन्छ ।

त्यसैगरी महिलामा बाँझोपनको समस्या कतिपयमा जन्मजात नै हुने गर्दछ । कतिपयमा पाठेघर नहुने, पाठेघरको डिम्बासय नहुने तथा पाठेघरको आकार एकदम सानो हुने हुन्छ । यस्तो अवस्थामा उपचार हुँदैन । अर्थात यस्ता महिलाले आफ्नो गर्भबाट सन्तान जन्माउन सक्दैनन् । धेरै हदसम्म बाँझोपन महिलाकै आफ्नै कारण हुने गरेको पाइन्छ । अहिलेको सन्दर्भमा बाँझोपन हुनुको मुख्य कारण महिलामा हुने इन्फेक्सन अथवा संक्रमण हो । महिला स्वास्थ्यबारे पर्याप्त ज्ञान नहुनु, परिवार नियोजनको अस्थायी साधनको प्रयोगवारे ज्ञान नहुनु, असुरक्षित गर्भपतन लगायत कारणबाट हुने संक्रमण नै बाँझोपनको मुख्य कारण हो । त्यसवाहेक थाइराइडका साथै अन्य हर्माेनको असन्तुलनका कारणले पनि बाँझोपनको समस्या हुने गर्दछ ।

पछिल्लो समस्या बाँझोपनको समस्या बिकराल बन्दै गएको पाइन्छ । खासगरी आफ्नो करियरलाई पहिलो प्राथमिकता दिएर महिलाले ढिलो बिबाह गर्दा गर्भाधानमा समस्या आएको पाइन्छ । महिलामा डिम्बाशयमा डिम्बहरुको क्षमता निश्चित हुन्छ । बढ्दो उमेरसँगै डिम्बाशयमा डिम्बहरुको मात्रा कम हुने कारणले बाँझोपनको समस्या बढ्दै गएको छ ।

अहिले महिलाको डिम्बाशयको डिम्बहरुको मात्रा थाहा पाउनलाई रगतको परीक्षण गर्न सकिन्छ । जसलाई एएमएच अर्थात एन्टी मुलेरियन हर्माेन भनिन्छ ।
बाँझोपनको उपचार गर्ने भन्दा पहिलोदेखी नै यसको रोकथाम गर्नेतर्फ हामीले ध्यान दिनु जरुरी हुन्छ । बाँझोपन रोकथामका लागि निम्न कुरामा ध्यान दिनु जरुरी छ:

१. समयमै बिहे गर्ने
२. समयमै सन्तान जन्माउने
३. गुप्ताङ्गको सरसफाईमा बिशेष ध्यान दिने
४.अस्थायी साधनको सही रुपमा प्रयोग
५. असुरक्षित गर्भपतन नगराउने
६. धुम्रपान तथा मद्यपान अधिक सेवन नगर्ने
७. शरीरको वजनलाई नियन्त्रणमा राख्ने
८. बिशेषज्ञ चिकित्सकसँग नियमित स्वास्थ्य जाँच गराउने

बाँझोपन उपचारका लागि एउटा तह हुन्छ । कुनै युवा दम्पति चाँडै उपचारका लागि आएको छ । सामान्य संक्रमणको उपचार गरेर, थाइराइडका साथै अन्य हर्माेनको परीक्षण सामान्य छ भने हामीले आवश्यक परामर्श गरेर आफै प्रयास गर्न भन्छौं । यदी सामान्य तरिकाले पनि बच्चा नबसेमा हामीले एउटा निश्चित समयलाई पछ्याएर गर्भाधारणका लागि अघि बढ्न परामर्श दिन्छौ । जसको डिम्बाशयमा सामान्य प्रक्रियाले अण्डाहरुको बिकास हुँदैन त्यस्तालाई हर्माेन इन्जेक्सन दिनुपर्छ । त्यसबाट पनि भएन टेष्ट ट्युब बेवीको प्रक्रियामा जान सुझाव दिन्छौ ।

त्यसैले टेष्ट ट्युब बेवी प्रक्रिया एकै पटक शुरु गर्ने होइन, बाँझोपनको उपचार गर्ने अन्य प्रक्रिया पनि छन् । यदी अन्य बिकल्पबाट बच्चा जन्माउन नसकिए मात्र टेष्ट ट्युब बेवी प्रक्रिया शुरु गर्नुपर्छ ।

शर्मा स्त्रीरोग तथा बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस