जिल्लाका सिडियो र प्रहरी प्रमुखको भूमिका गृहको ऐनाको रुपमा – गृहमन्त्री बादल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जिल्लाका सिडियो र प्रहरी प्रमुखको भूमिका गृहको ऐनाको रुपमा – गृहमन्त्री बादल


२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृहमन्त्रालयको मुल्यांकन हुने भएकोले सोही अनुरुप इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार ‘नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानुन र न्याय सम्बन्धी तीन महिने सेवाकालिन तालिम’को समापन गर्दै गृहमन्त्री बादलले जिल्लामा सिडियो र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्ने बताए । बिभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारीहरु सम्मिलित तालिमका सहभागीहरुलाई गृहमन्त्रीले केन्द्रबाट आफुले सुशासनका लागि भूमिका खेल्ने भन्दै जिल्लामा रहेर उहाँहरुले पनि सोही अनुरुप काम गर्नुपर्ने बताए ।

उनले भने, ‘जिल्लाको सिडियो र प्रहरी प्रमुखले अपराधीहरुलाई नियन्त्रण गरेनन् बरु उनिहरुसँग मिलेर काम गरे भने गृहप्रशासनको पनि त्यही रुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यस तर्फ तपाईहरु सचेत हुनुहोस् ।’ गृहमन्त्री बादलले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीको निगरानी भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कडा कारवाही गरीने बताए ।
‘तपाइहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिनेगरी काम गर्ने यसको जवाफ स्थानिय प्रशासक र स्थानिय सुरक्षाकर्मीहरुले दिनुपर्ने हुन्छ ।’ उनले भने, ‘हामीले ठिक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।’

लोकतन्त्रलाई स्थापित गर्ने हो भने विधिको शासन र सुशाशन लागु हुन जरुरी रहेकोमा उनले जोड दिए । अपराधी, भ्रष्ट, तस्करहरुलाई नियन्त्रण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘अपराधी, भ्रष्ट र तस्करहरुले शासन गर्ने अवस्था भए जनता र राष्ट्रको समृद्धि सम्भव छैन ।’ राजनीतिक परिवर्तन अनुरप प्रहरी ऐन, सार्वजनिक सुरक्षा ऐन लगायत परिमार्जनको अन्तिम चरणमा रहेको थापाले जानकारी दिए ।
जनतालाई सहज र सरलरुपमा न्याय दिने विषयमा तालिममा सहभागीहरुले महत्वपुर्ण ज्ञान हासिल गरेको विश्वाँस आफुले लिएको उनले बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालिमले व्यवसायीक, स्वतन्त्रतापूवर्क , तटस्थरुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस