सार्वजनिक प्रशासन: नवीनतम् माग « प्रशासन
prasaLogo
२० चैत्र २०७४, मंगलवार

सार्वजनिक प्रशासन: नवीनतम् माग


प्रकाशित मिति : 3 April, 2018 8:10 am

 

अन्तरदेशीय सार्वजनिक प्रशासनको गतिशीलता एवं वित्तीय पहुँच स्थापना गर्न राजदूत, विदेश सचिव, कूटनीतिज्ञ, उच्च प्रशासक, अध्यापक, परराष्ट्रविद्हरू व्यवस्थापकीय कुशलताले भरिपूर्ण भइ विश्वव्यापी रूपमा नेतृत्व गर्न पुग्छन् । आज विज्ञताको कसी भन्नु नै नवीन प्रशासकीय कार्यविधि, उत्तम कार्य सम्पादन र विश्वासिलो नागरिक कूटनीति पनि हो ।

सरकारी खटनपटनमा रहेर अन्तरसांस्कृतिक, आर्थिक, भाषिक, राजनीतिक, कूटनैतिक र राज्यको मूल मार्गनिर्देशक सिद्धान्तप्रति बफादार हुँदै सञ्चालन गरिने शासकीय शौर्य एवं व्यवस्थापकीय ढाँचामा उच्च प्रशासक सफल भए भएनन् ? यो विचारणीय एवं नबीन प्रशासकीय दृष्टिकोण पनि हो ।

कूटनीतिज्ञहरूले राजनीतिक संकीर्ण दाउपेच वा विग्रहपूर्ण व्यबहार गर्दा परराष्ट्र मामिलामा पर्नसक्ने संकटको आंकलन समेत गर्नुपर्छ । राष्ट्रिय नीति तर्जुमामा राष्ट्रको सार्वभौमिकता र अस्मितालाई आँच पु¥याउने हर्कत कसैबाट हुनु हुँदैन । यसमा विल्ड्रो विल्सनले चरणवद्ध कानूनको प्रयोग गर्ने प्रशासनिक सन्दर्भ जोडेको पनि शासकीय शैलीमा आएको परिवर्तन, राजनीति र नागरिक चेतनासँग जोडिएको मूल मुद्दा हो । विश्वमा चुलिँदै गएको खुला अर्थतन्त्र, पुँजी निर्माण र श्रम बजारको सम्बन्धलाई दृष्टिगत गरी प्रशासन सञ्चालन गर्नुपर्दछ ।

नागरिक कूटनीति असफल भएको बारेमा अमेरिकी राजनीतिज्ञहरू एलेक्जेन्डर ह्यामिल्टन र थोमस जेफरसनले सार्वजनिक प्रशासनको संकटका बारेमा संवैधानिक एवं सैद्धान्तिक वहस सञ्चालन गरी प्रशासनको नौलो आयाम भनी मार्गनिर्देश गरेका छन् । अवैध लागू औषध, मानव बेचविखन, सार्वजनिक स्रोतहरूको क्षयीकरण, विद्युतीय अपराध र आतङ्कवाद जस्ता नागरिक सुरक्षासँग जोडिएका विश्वव्यापी समस्याहरूको निराकरण गर्न कूटनीतिक क्षमतामा गुणस्तरीय योजना ल्याउनु पर्ने भएको छ ।

कूटनीतिको मापन नागरिक परिक्षण पनि हो । समाज विकासका लागि प्रशासनको अपरिहार्यताको बारेमा प्लेटोले ‘दी रिपब्लिका’ मा समाज र प्रशासनका बारेमा व्याख्या गरेका छन् । शक्ति राष्ट्रहरूले सन् २०३० सम्ममा सार्वजनिक प्रशासनको रूपरेखा कोरिसकेका छन् । आधुनिक परिवेशबाट हेर्दा शिक्षामा सबैको पहुँच स्थापना, आर्थिक पहुँचमा वृद्धि, तलबमा आधारित बजेट प्रणाली, भन्सार, कर, राजस्व, सूचना प्रविधि र आम सञ्चार प्रणाली, आकस्मिक सेवाहरूमा स्वचालिक यन्त्र–उपकरणहरूको प्रयोग जस्ता आधारभूत पक्षमा प्रशासन सञ्चालित हुनुपर्दछ ।

संसारभर अमेरिकाको भन्सार प्रशासन अनुकरणीय छ । विकसित मुलुकहरूले रोबोटिक प्रणालीबाट बजेट निर्माण गर्दै सुशासन कायम गरेका छन् । रक्षा बजेटपछि प्रशासनमा बजेट विनियोजन गरेको ट्रम्प प्रशासनले स्लामिक उग्रवादी समूह रुस, उत्तर कोरिया, क्यूवा र चीनप्रति लिएको नागरिक कूटनीतिको माध्यम पनि सूचना प्रविधि र विज्ञ प्रशासकहरू नै हुन् । यसको पछिल्लो कडीको रूपमा अन्तरीक्षमा अमेरिकी सुरक्षा दस्ता निर्माण गरिनुले पनि प्रविधिको पुष्टि गर्दछ । सेवाग्राही मैत्री एक्काइसौं शताब्दीको यान्त्रिकीकरण र अन्तरदेशीय प्रशासन सञ्चालनको आधार संयुक्त राष्ट्रसंघको बडापत्र र घोषणा गरिएका कानूनी दस्तावेजहरू हुन् । अनुसन्धानमूलक र कार्यमूलक कर्मचारीतन्त्रको अभाव अविकसित मुलुकको साझा चुनौती हो ।

कर्मचारी प्रशासनलाई पुनर्जागरण ल्याउन बीसौं शताब्दीमा जर्मन शमाजशास्त्री म्याकवेबरले सार्वजनिक सेवा प्रवाहमा नागरिकको प्रतिनिधित्व, समान व्यावहारका बारेमा आफ्ना धारणा सार्वजनिक गरे । सन् १९३० ताकाको आर्थिक मन्दीमा सेवा प्रदायकहरूको बौद्धिक परिक्षण, वैयक्तिक आचरण, व्यक्तित्व, अन्तरकर्मचारीहरूको समन्वय तथा मिलनसारिताजस्ता सद्व्यवहारले अनुकरणीय भूमिका खेले । यसबाट सरकार र राज्यको भूमिका गौण होइन प्रधान देखियो ।

सन् १९४५ को लोककल्याणकारी राज्यको अवधारणा आयो तर सन् १९५०–६० को दशकमा गरीब विपन्न वर्गहरूप्रति प्रशासनिक अंगहरू आक्रमक बन्न पुगे । यसैको पृष्ठभूमिमा उच्च सचेतना, दीगो विकास, दीगो विकासमा महिला, अन्र्तराष्ट्रिय व्यापार, आधुनिक प्रजातन्त्र र जनउत्तरदायी प्रशासनजस्ता विषयले प्रवेश पाए । कर प्रशासनमा असफल भएका कोरिया, थाइल्यान्ड, अर्जेन्टिना र इन्डोनेसियाजस्ता मुलुकले नयाँ सार्वजनिक व्यवस्थापनका मूल्यहरूलाई अँगाले । अफ्रिकी मुुलुकहरू युद्धका डोवहरूबाट मुक्त हुन सकेनन् । राज्य असफल भएका छन् ।

नयाँ शासकीय प्रणालीबाट नयाँ नीतिको खोज मात्र गरिन्न । त्यहाँबाट समृद्ध बन्ने सपनाहरू बुनिन्छ । आज कला, विज्ञान र प्रविधिको विकासले चीनिया जनताले अफ्रिका, एसिया र अमेरिकामा समेत आफ्नो बजारको प्रभूत्व कायम गरिसकेको छ । अमेरिकीहरूले खुला सिर्जनशील, विकेन्द्रित सेवा प्रवाह, विश्वबजारीकरण, शासनमा वैयक्तिक स्वतन्त्रता, सामूहिक जिम्मेवारी र प्रशासनिक उत्तरदायित्वसहितको अनुपम उदाहरण प्रस्तुत गरिरहेका छन् । यसका पछाडि सार्वजनिक प्रशासनमा देखिएका संकट हटाई नागरिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बीसौं शताब्दीमा ३ सयको हाराहारीमा अमेरिकी विश्व विद्यालयहरूमा सार्वजनिक प्रशासनको नबीनतम् सम्भावनाका बारेमा गहन खोज तथा अनुसन्धान भएका हुन् । त्यसैले जनसंख्याको सारभूत तथ्याङ्कलाई विश्लेषण गरी नीति निर्माण गर्नु पर्दछ । त्यसैको आधारशीलाको रूपमा मानव संसाधनको विकास र प्रयोगलाई लिन सकिन्छ ।

भूभौतिक अवस्थालाई मध्यनजर गरी एकीकृत सेवा प्रणाली विस्तार गर्दै स्वास्थ्य हेरचाह केन्द्र, पर्यटन प्रवद्र्धन, शिक्षा, खेलकुद, कला, विज्ञान र प्रविधिको विकासमा राज्य केन्द्रित हुनु पर्दछ । प्राविधिक दुनियाँको महासागर स्टीभ जब्सको भनाइलाई सम्झँदा पनि प्रविधिको प्रयोगको महत्व बुझ्न सकिन्छ । जब्स भन्छन् – “यी प्रविधिले मानिसको जीवनलाई सहज बनाइदिन सक्छ, सम्पर्कमा नभएकालाई पनि नजिक ल्याउँछ । प्रविधिले नै जन्मँदै समस्या भएको बच्चालाई उसका बाउआमा र सहयोगी समूहबीच सहज बनाइदिन सक्छ, औषधीय सूचना दिन सक्छ, नयाँ प्रायोगिक औषधी उपयोग गर्ने सूचना दिन सक्छ । यी कुराले हाम्रो जीवनमा सशक्त भूमिका खेल्छन् । प्रविधिलाई मैले कम आँकेको छैन” । आज दुनियाँ एप्पल, माइक्रोसफ्ट, आइपर्डमा नै घुमिरहेको छ ।

यसैगरी अमत्र्यसेनले भनेझैं नीति निर्माताहरू सामाजिक आवश्यकताहरूमा परिपूर्ण गरी आर्थिक उपार्जन बढाउने जनशक्तिको विकासमा जोड दिन्छन् । सेवा प्रवाहलाई नतिजामुखी बनाउने, असल सुशासन प्रवद्र्धन गर्ने, नीजीकरणको निर्माण गर्ने, सह–उत्पादनमा जोड दिनेलगायतका नागरिक मैत्री प्रशासनतर्फ अमेरिकाले पाइला चालेको देखियो । यस श्रृङ्खलामा नेपाली सन्दर्भ जोड्दै नीति निर्माताहरूले नयाँ सार्वजनिक प्रशासनको मूल्यलाई अक्षरसः पालना गर्दै सेवा वितरण गर्नु, मानब अधिकारको प्रवद्र्धन गर्नु, सशक्तिकरण गर्नु, जनताको गुणस्तरीय जीवन निर्धारणको साझा सूचक तयार गर्नु, असल नागरिक निर्माण गर्नु, श्रम, पुँजी प्रविधि र भौतिक पूर्वाधारहरू एवं सामुदायिक समस्याहरूको निराकरण खोज्नु विश्वव्यापी प्रशासनको मान्यता हो । नाटकीय भूमिकाबाट उच्च प्रशासकहरू उदासीन हुने वातावरणको अन्त्य गरी अर्ध–औपानिवेशिक अवस्थाबाट राज्यलाई मुक्त गराउनु नेपाली प्रशासनको साझा दायित्व हो ।

Tags :
प्रतिक्रिया दिनुहोस