व्यवसायमा जमेका सैनिक सन्तति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

व्यवसायमा जमेका सैनिक सन्तति


४ चैत्र २०७४, आइतबार


दैनिक हजारौंको संख्यामा युवाहरु मुलुक छोडिरहेका छन् । देशमा रोजगारीको अवस्था नहुँदा बाध्यताबस मुलुक छोड्न पुगेको युवाहरु रहरले भने कदापी बाहिरिइ रहेका छैनन् । थोरै मात्र पनि अवसर हुने हो भने स्वदेशमै केही गर्न चाहन्छन् । यसैको उदाहरण हुन् प्रदेश नम्बर ७, कैलाली गेटाका अमृत बम । घरखर्च नै धान्न मुस्किल भएपछि पढाइलाई नै बिचैमा छोडेर बिदेश हानिएका उनी सानो मात्रै पनि अवसरले स्वदेश फर्किए । नागरिकमा सकरात्मक सोचको बिकास गराई आशाबादी भाव जगाउने अभियानमा रहेको प्रशासन डटकमको हरेक दिन विशेष दिन अन्तर्गत प्रत्येक आइतबार प्रकाशन हुने नेपाली सेना विशेषको यो अंकमा उद्यमी बमको कथा ।

मेरो बुवा नेपाली सेनामा हुनुहुन्थ्यो । २०४८ सालमा बुबा बित्नुभयो । त्यसपछिका दिनहरुमा धेरै दुःख पाइयो । परिवारको मुली मान्छे नै नभएपछि अगाडि बढ्न धेरै गारो हुँदो रहेछ । घरपरिवार चलाउन निकै नै कष्ट सहनुपर्यो । मैले इन्टर पढ्दापढ्दै बिचैमा छोडेर बिदेशतिर लाग्नुपर्यो ।

अर्काको देश न हो । भनेजस्तो काम पनि पाउने कुरा भएन । त्याहाँ पनि धेरै दुःख पाइयो । तैपनि सहेर काम गर्नुको अर्को बिकल्प थिएन । दुःख गरेर कमाइएको पैसाले बहिनीहरुलाई पढाइयो र उनीहरुको बिवाह पनि गरियो ।
कष्टका साथ काम गर्नु परिरहेको अवस्थामा नेपाली सेना कल्याणकारी बोर्डबाट सैनिक तथा तिनमा आश्र्रित परिवारकालागि कार्यक्रम आएको छ भन्ने सुन्नमा आयो । आमाले मलाई फोन गरेर सस्तो व्याजदरमा पैसा दिने भनेको छ, यतै आइजा, यतै केही गरौला भन्नुभयो ।

बुवा नहुँदा आमा र बहिनीहरु पनि एक्लो महसुस गरिरहेको आभाष भइरहँदा पनि घर फर्केर सँगै बस्नका लागि मसँग कुनै विकल्प थिएन । बाध्यताले घर फर्किन नसकिरहेको अवस्थामा परिवारसँगै बसेर कुनै ब्यवसाय गर्न सकिने भएपछि म निकै खुसी भएँ । म नेपाल फर्के ।

नेपाली सेनाको स्थानीय कार्यालयमा सम्पर्क गरेँ । नेपाली सेना कल्याणकारी बोर्डको सिफारिसमा नेपाल इन्भेष्टमेन्ट बैंकले लघुबित्त कार्यक्रम अन्तर्गत साढे चार प्रतिशतमा ऋण दिने रहेछ । सबै प्रक्रियाहरु पुरा गरेर पैशा लिए । शुरुमा मैले तीन लाख रुपैयाँ पाएँ । त्यसबाट बंगुर र कुखुरा फार्म शुरु गरेँ । अत्तरियाको गेटामा अमृत बंगुर फर्म संचालन गरेको छु । दुई बर्षमा मैले सबै ऋण चुक्ता गरीसकेपछि पुनः तीन लाख लिएको छु । यसबाट ब्यवसाय बढाउँदै लगेर सुदूर पश्चिममै ठूलो र नमुना बंगुर फार्म बनाउने मेरो सपना छ । आमालाई सुखले पाल्ने र राम्रै स्तरमा राख्ने धोको छ । हाम्रो छ जनाको परिवार पाल्न अहिले गारो छैन ।

केही गरौं भन्ने भावना हुँदाहुँदै पनि पुँजीको अभावमा अघि बढ्न नसकिरहेका अवकासप्राप्त सैनिक तथा तिनका परिवारहरुका लागि लघुवित्त कार्यक्रम राम्रो छ । अन्यत्रको तुलनामा त ठिकै हो तर अझै हामीलाई त जति कम ब्याजदर भयो त्यति सजिलो हुने थियो ।

पछाडी परेका नेपाली सेनाका परिवारहरुलाई, बीरगतिप्राप्त भएका सैनिकका परिवार तथा छोराछोरीका लागि यस्तै अरु पनि कार्यक्रमहरु ल्याउन सकेमा अझ राम्रो हुन्थ्यो जस्तो लागेको छ । पक्कै पनि त्यसले जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । दुइ छाक टार्नकै लागि खाडि मुलुक जानु पर्दैन । यदी इमान्दारीपूर्वक काम गर्ने हो भने खाडि मुलुकको जति कमाई नेपालमै गर्न सकिन्छ ।

बंगुर र कुखुरापालनबाट आम्दानी रामै्र हुन्छ । बंगुरबाट बार्षिक रुपमा आम्दानी गर्न सकिन्छ भने कुखुराबाट दुइतीन महिनामा नै । पैतालिस दिनमा दुई अढाइ किलोको कुखुरा उत्पादन हुन्छ । एक हजार कुखुरा पाल्यो भने महिनामा नेपालमै पचास साठी हजार रुपैयाँ कमाउन सकिन्छ ।

सुझाव

जुन कामको लागि भनेर पैसा लिइएको छ, त्यसैमा लगानी गर्नुपर्छ । सुनिन्छ, कतिपय ब्यक्तिहरुले व्यवसाय गर्छु भनेर झिकेको पैशा जुवातासमा सिध्याएका छन् । जाँड रक्सि खाएर सकेको पनि सुनिन्छ । यसबाट उ आफु त डुब्छ नै, राम्रो काम गर्न चाहने अन्य व्यक्तिहरु समेत ऋण पाउनबाट रोकिनसक्ने अवस्था आउन सक्छ । त्यसैले पहिला त के काम गर्ने भन्नेबारे योजना बनाउनु पर्यो । त्यसपछि त्यही अनुशार योजना बनाएर मात्र पैशा झिक्नु पर्छ र त्यो पैशा त्यसै काममा लगानी गर्नुपर्छ । मेहेनत गरेर काम गर्यो भने तोकेको समयमा किस्ता तिर्न र ऋण चुक्ता गर्न गारो छैन ।

कुराकानीमा आधारित

Tags :
प्रतिक्रिया दिनुहोस