गर्भवतीलाई सहज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गर्भवतीलाई सहज


२ चैत्र २०७४, शुक्रबार


कपिलवस्तु । कपिलवस्तु, सिमरीकी तारानन्द भानुले केही समयअघि स्थानीय सिसवा स्वास्थ्य चौकीमै बच्चा जन्माइन् । उनलाई परिवारका सदस्यले प्रसूति गराउन स्वास्थ्य चौकी पु¥याएका थिए । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउन सहज हुन्छ भन्ने थाहा पाएर नै आएकी हुँ,’ उनले भनिन्, ‘डाक्टरको निगरानीमा प्रसूति गरिने भएकाले बच्चा जन्माउन कुनै असहज नहुँदो रहेछ ।’

उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन्, पछिल्लो समय सिसवा स्वास्थ्य चौकीमा दिनहुँ प्रसूति गराउन आउनको संख्या बढ्दो छ । ‘सुरक्षित प्रसूति गराउन बुहारीलाई स्वास्थ्य चौंकी ल्याएका हौं,’ तारानन्दकी सासूले भनिन् ।

यसअघि पाँच बच्चा घरमै जन्माएकी उर्मिला हसदले छैठौं बच्चा स्वास्थ्य चौंकीमै जन्म दिएकी छिन् । ‘स्वास्थ्य चौंकीमा राम्रोसँग बच्चा जन्मियो,’ उनले खुसी प्रकट गरिन् । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य चौंकी आएको उनको भनाइ छ ।

फेयरमेड फाउण्डेसनको आर्थिक सहयोगमा आइएनएफद्वारा संचालित मानसी परियोजना लागू भएपछि कपिलवस्तुका सर्वसाधारणमा चेतना छाएको छ । परियोजना सन् २०१५ देखि लागू भएको हो । गरीब तथा सिमान्तकृत परिवार र पिछडिएको समुदायलाई लक्षित गर्दै परियोजना सञ्चालन गरिएको परियोजनाले जनाएको छ ।

बर्कुलपुरस्थित नवजीवन आमा समूहकी अध्यक्ष मिना थारू अहिले गाउँका दिदीबहिनीसँग स्वास्थ्यबारे छलफल हुने गरेको बताउँछन् । ‘छलफलका क्रममा दिदीबहिनीले स्वास्थ्यका कुरा सुनाउनुहुन्छ,’ उनी भन्छिन् । आमा समूहले छलफल चलाएपछि गाउँमा स्वास्थ्य सचेतना बढेको छ ।

स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेको संख्या बढाउन आमा समूहले आकस्मिक कोष सञ्चालन गरेको छ । सो कोषबाट गर्भवतीलाई एक महिनाका लागि बिना ब्याज ऋण दिँदै आएको आमा समूहकी सदस्य मिना थारू बताउँछिन् ।

पहिलेको तुलनामा गर्भवतीको स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने बढेसँगै मातृ तथा बाल मृत्युदर घटेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य संस्थामा प्रसूति गराउँदा सुत्केरी र नवजात शिशुको स्वास्थ्य राम्रो हुने गरेको उनीहरूको भनाइ छ । ‘घरमा प्रसूति गराउँदा कतिले अकालमै ज्यान गुमाएका छन्, अहिले त्यो अवस्था छैन,’ स्वयमसेविका आरती रायदास भन्छिन् । पछिल्लो समय सासू नै बुहारीलाई प्रसूति गराउन स्वास्थ्य संस्था ल्याउने गरेको उनी बताउँछिन् ।

लवनी स्वास्थ्यचौकी सिनियर अनमी माया पुन आमा समूहको सक्रियताले स्वास्थ्य संस्थामा प्रसूति गराउने बढेको बताउँछिन् । ‘प्रसूति गराउन आउने मात्र होइन, गर्भ जाँच गराउने आउने पनि बढेका छन्,’ उनी भन्छन् ।

स्वास्थ्य सेवामा आमा र बच्चाको पहुँच बढाई सुरक्षितरूपमा संस्थागत सुत्केरी गराउन परियोजना सञ्चालन गरिएको प्रोजेक्ट म्यानेजर शशीलाल कर्ण बताउँछन् । ‘स्वास्थ्य संस्थामा प्रसूति गराउन पैसाको कारणले कोही वञ्चित नहुन् भनेर हामीले आकस्मिक तथा नवजात शिशु कोष स्थापना गर्न मद्यत पुर्याएका छौं उनले भने ।

जिल्ला जनश्वास्थ्य कार्यालय लगायत सरोकारवाला निकायसंगको समन्वय नै कार्यक्रम सफलताको पहिलो र मजबुत सिँढी बनेको परियोजना प्रमुख शशीलाल कर्ण बताउँछन् । कर्ण भन्छन्–जिल्ला जनस्वास्थ्य कार्यालयसंग समन्वय गरेर वार्षिक कार्य योजना(अप्रेसन क्यालेण्डर) नै बनाएर काम गर्यो । जसमा जिल्लाका स्वास्थ्य संस्था र संघसंस्थाको कार्यक्रम एकीकृत गरी त्यसमा बजेट विनियोजन गर्ने गरेका छौं । त्यसले एक अर्काको कार्यक्रम बुझ्न, रिपिटेसन पनि हुन नदिन र प्राथमिकता अनुशार काम पनि अगाडि बढाउन सकियो ।

परियोजना सञ्चालन भएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या बढेको बरिष्ठ जनस्वास्थ्य प्रशासक तथा योगेन्द्रप्रसाद भगत बताउँछन् । उनका अनुसार गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या १८ प्रतिशत थियो । अहिले ३१ प्रतिशत पुगेको छ ।

भगतका अनुसार जिल्लाभर ५९ बर्थिङ सेन्टर खोल्न बाँकी छ । त्यसका लागि फेयरमेडको आवश्यकता अझ बढी रहने छ । उनले भने –आशा छ आगामी दिनमा पनि यस कार्यका लागि उहाँहरु सहयोग गर्नुहुनेछ ।

परियोजनाले यस जिल्लाको स्वास्थ्य क्षेत्रमा जागरण ल्याएको फेयरमेड फाउण्डेसनकी कन्ट्री कोर्डिनेटर निर्मला शर्माको भनाइ छ । कार्यक्रमको प्रभावकारिता अपेक्षाभन्दा बढी देखिएको शर्मा बताउँछिन् । ‘परियोजना सफल हुनुमा सबैको साथ छ,’ उनी भन्छिन् ।

 

र यो पनि,

स्वास्थ्य सचेतनाले अहिले आमा र शिशुको ज्यान जोगिएको छ

Tags :
प्रतिक्रिया दिनुहोस