बोक्सीको आरोपमा कुटपिट घटना, जाहेरी नलिने प्रहरी निलम्बित, दुईविरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोक्सीको आरोपमा कुटपिट घटना, जाहेरी नलिने प्रहरी निलम्बित, दुईविरुद्ध मुद्दा


२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट गर्ने तीनजनालाई पक्राउ गरिएको छ । दुईजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५ देउकलियाका भोलेबाबा भनिने रामबहादुर चौधरी, किस्मती भनिने किस्मत चौधरी र स्मारिका चौधरीलाई पक्राउ गरेको हो ।

रामबहादुरलाई शुक्रबार, किस्मत र स्मारिकालाई आइतबार पक्राउ गरिएको हो । रामबहादुर र किस्मतमाथि बोक्सी आरोप कसुर सजाय ऐनअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले बताए ।

थप अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको छ ।

स्मारिकाको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘अनुसन्धान भइरहेको छ, उनको पनि संलग्नता देखिए मुद्दा चलाइनेछ,’ डिएसपी बोहराले भने ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । ‘अन्य व्यक्तिको संलग्नताका विषयमा बुझ्ने र प्रमाण जुटाउने काममा भइरहेको छ,’ उनले भने ।

बिहीबार बोक्सीको आरोपमा घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधालाई ६ घन्टासम्म कुटपिट गरिएको थियो । भोले बाबा भनिने रामबहादुरको निर्देशनमा कुटपिट हुँदा स्थानीय बासिन्दा रमिते बनेका थिए ।

पीडित किशोरी अस्पतालबाट डिस्चार्ज

आइतबार पीडित किशोरीलाई सेती अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ । उनलाई ओरेक नेपालको सेफ हाउसमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

स्थानीय घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार सेती अञ्चल अस्पताल ल्याइएको थियो । उनलाई केही दिन सेफ हाउसमै राखिने जनाएको छ ।

जाहेर दर्ता नगर्ने प्रहरी निलम्बित

बोक्सीको आरोपमा कुटपिट गरेपछि राधा र उनका आफन्त जाहेरी बोकेर इलाका प्रहरी कार्यालय सुख्खड पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गरेको थिएन । जाहेरी दर्ता नगर्ने प्रहरी नायब निरीक्षक दिनेश विष्टमाथि पनि कारबाही प्रक्रिया थालिएको छ ।

प्रदेश ७ का प्रहरी प्रमुख माधव नेपालले सइ विष्टलाई निलम्बन गरिएको बताए । ‘घटना भएकै दिन प्रहरी कार्यालयमा आइसकेको पीडितको जाहेरी दर्ता गर्न नमानेको देखिएकाले निलम्बन गरेका हौँ,’ एआइजी नेपालले भने ।

जनप्रतिनिधिको रोहबरमा प्रहरीले घटनाको मिलापत्र गराएको देखिएकाले निलम्बित गरी छानबिन अगाडि बढाइएको उनले बताए ।

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी र वडा नं। ५ का अध्यक्ष प्रेम रोकायाको रोहबरमा पीडक रामबहादुरलाई रिहा गरिएको थियो । राधाको उपचार गर्ने सर्तमा घटनाको मिलापत्रसमेत गरिएको थियो ।

मेयरमाथि एमालेको छानबिन सुरु

यस घटनामा मिलापत्र गराउने घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि एमाले कैलालीले छानबिन सुरु गरेको छ ।

जिल्ला सचिवालय सदस्य विमल जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

समितिमा एमाले जिल्ला सचिवालय सदस्य सन्तोष शर्मा र जिल्ला कमिटी सदस्य केवालाल चौधरी सदस्य छन् ।

मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य र बुद्धिजीवी परिषद्का जिल्ला उपाध्यक्ष हुन् । घटना मिलाउने कार्यमा मेयरको नाम जोडिएकाले छानबिन थालिएको एमाले कैलालीका कार्यबाहक अध्यक्ष रतन थापाले बताए ।

‘संलग्नता देखिए पार्टीले कारबाही गर्छ,’ उनले भने । वडाध्यक्ष रोकायामाथि पनि छानबिन हुने जनाएको छ । उनी एमालेबाटै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

सोमबारदेखि छानबिन समितिले काम गर्ने जनाएको छ । पाँच दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको एमाले सचिव रणबहादुर चन्दले बताए ।

मुख्यमन्त्रीले पीडितलाई भेटे

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राधालाई भेटेका छन् । आइतबार सेती अञ्चल अस्पताल पुगेका मुख्यमन्त्री भट्टले दोषीलाई कारबाही गरिने र उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए ।

‘यो जघन्य अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याएर कारबाही हुन्छ र यस्ता घटना पुनः हुन नदिन सरकारले काम गर्छ,’ उनले भने ।

मिलापत्र गर्ने परिपाटीले यस्ता घटना बढ्ने उनको भनाइ थियो । ‘विगतमा पनि मिलापत्र हुने गरेका कारण यस्ता घटना बढेका छन् । कुनै पनि हालतमा मिलापत्र हुनुहुँदैन,’ उनले भने ।

अस्पताल पुगेर राधालाई भेटेका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताए ।

जनप्रतिनिधिको पहलमा घटनाको मिलापत्र भएको विषयमा छानबिन भइरहेको बताउँदै उनले भने, ‘मिलापत्र गराउनेलाई पनि कारबाही हुन्छ ।’

भोलेबाबासँग नक्कली सर्प

बोक्सीको आरोपमा कुटपिट गर्ने २३ वर्षीय रामबहादुरले दुई महिनादेखि ‘भोलेबाबा’ भनेर चिनाउँदै आएका थिए । उनले दैवी शक्ति प्राप्त भएको हल्ला चलाएर झारफुक गर्न थालेका थिए । उनको घरमा स्थानीय बासिन्दाको घुइँचो लाग्ने गरेको थियो ।

उनले घरनजिकै कुटी बनाएका छन् । त्यहाँ भगवान्का मूर्ति राखेका छन् । उनले नक्कली सर्प पनि त्यहीँ राखेका छन् । अरूलाई कुटीमा प्रवेश गर्न निषेध गरिएको छ ।

यसअघि उनले भारतबाट साइकलमा सामान ल्याएर बिक्री गर्थे । त्यो काम गाह्रो लागेपछि चटपट र बदाम बेच्ने गरेका थिए । त्यो पनि गाह्रो लागेको भन्दै बेच्न छाडेको स्थानीय बासिन्दाले बताए ।

अधिकारकर्मीद्वारा कारबाहीको माग

बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट भएको घटनामा ध्यानाकर्षण भएको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले जनाएका छन् ।

आइतबार यहाँका १४ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गरी कुटपिटको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उनीहरूले माग गरेका छन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल, दलित महिला अधिकार मञ्च, नारी उत्थान केन्द्र, कमैया प्रथा उन्मूलन समाज, ओरेक, थर्ड एलाइन्स, राष्ट्रिय दलित नेटवर्क, एड्जस नेपाललगायतले विज्ञप्ति जारी गरेका हुन् ।

यसैबीच एमाले, माओवादी, विवेकशील साझा र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले पीडित किशोरीको उपचारको व्यवस्था गर्न पनि आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस